काठमाडौं । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी गरिएको छ ।
रामपुर नगरपालिका– ५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको हो ।
रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन हुने ज्येष्ठ नागरिक विद्यालयमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावतका लागि यातायात सेवा, स्कुलमा रहँदा खाने–बस्नेलगायतका आवश्यक सेवासुविधा नगरपालिकाले बेहोर्ने भएको छ ।
‘बिहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घरघरमा पु¥याइनेछ, यसको सबै प्रबन्ध नगरले गर्नेछ, ज्येष्ठ नागरिकलाई अबका दिन खुसीसँग बिताउन नगरले विद्यालय नै चलाउने तयारी गरिरहेको छ, विद्यालय सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार, सामग्री तयारी अवस्थामा रहेकाले चाँडै सुरुवात गर्ने जनाएको छ ।
लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा स्कुल चलाइने छ । आगामी आर्थिक वर्षदेखि स्कुल चलाउने योजनाअनुसार सबै सामानको बन्दोबस्त भइरहेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिले जानकारी दिएको छ ।

