ananta gurung

उचित विकास नै उत्तम निकास

राजनीति लेख

दलहरुले नेपाल राष्ट्रलाई चुर्लुम्मै ऋणमा डुबाएका छन् । ऋण कसरी के को कमाईले तिर्ने भन्ने गम्भिर समस्या मुलुकमा उत्पन्न भएको छ । एक पैसा आम्दानी नहुने फाल्तु परियोजनाहरुमा दलका शीर्ष नेताहरुले ऋणमा लिएको पैसा लगानी गरेको हुँदा राष्ट्रको आम्दानी होइन खर्चलाई बढाएको छ । अहिले राष्ट्रको पुँजीगत खर्च भन्दा पनि बढी राष्ट्रिय ऋण व्यवस्थापन खर्च भईसकेको छ । नेपाल राष्ट्रलाई दलहरुले नियोजित तवरले नै ऋणको पाँसोमा पार्दै लगेको हुँदा नेपालको प्रबुद्ध वर्गहरुले गहिरो चिन्ता देखाउन थालीसेका छन् । यसरी राष्ट्रिय ऋण बढाउनेमा ठुलो हात ओली सरकारको नै रहेको छ । अघिल्लो पाली ४३ महिना नेपालको प्रधानमंत्री हुँदा ओली सरकारले राष्ट्रिय ऋण १० खर्बले बढाएक थिए । यो पालि उहाँले राष्ट्रिय ऋणलाई ३० खर्ब नघाउने छन भनी सबैले अनुमान गरेका छन् । उहाँको यस्तो चालाले गर्दा नै धेरैले उहाँलाई भष्मासुर पनि भन्ने गरेका छन् ।

उहाँले नेपाल भरी अनकण्टार हिमाल र पाहाडको टाकुराहरु र मधेसको ठिस्कोहरुमा बनेबनाएका कंक्रिटका टावरहरु फाल्तु विकासको नमुना बनेर नेपाली जनतालाई तर्साईरहेका छन् । यस्ता गैरमितव्ययी प्रधानमंत्रीले गर्दा नेपाल राष्ट्रले ऋणमा प्राप्त गरेको बहुमूल्य लगानी खेर गईरहेका छन् । नेपाल राष्ट्र सित भरमार लगानी गर्ने पैसा भएको भए यसरी जे जे गर्दा पनि जे जे बनाउँदा पनि कुनै फरक पार्ने थिएन । तर अनुचित पूर्वाधारहरु बनाएर त्यसमा ऋणबाट प्राप्त बहुमूल्य लगानी लगाउँदा ऋण गरी गरी घीउ खाएको जस्तो भएको छ । दलका शीर्ष नेताहरु मितव्ययी नबनेर खर्चालु बनेको हुँदा एकातिर नेपाल राष्ट्र ऋणमा डुव्दै गएको छ भने अर्को तिर दलहरुले बनाएका परियोजनाहरु फाल्तु निस्केकाले नेपाल राष्ट्रको आम्दानी होइन खर्चलाई मात्रै बढाइरहेको छ । यसरी नेपाल राष्ट्रलाई दलका शीर्ष नेताहरुले दोहोरो ऋण र खर्चको मारमा पारी नेपाल राष्ट्रको अस्तित्वलाई नै खतरामा पार्दै लगेका छन् ।

दलहरुले बनाएकापरियोजनाहरुबाट राष्ट्रिय आम्दानी नबढेपछि ऋणको भार बोक्न र तिर्नको लागि पनि धौधौ पर्दै गएको देखिन्छ । नेपालको राष्ट्रिय आम्दानी बिदेशी आयात माथि निर्भर भएको हुँदा राष्ट्रिय आम्दानीलाई बढाउने चक्करमा आयात बढाएका बढाएकै छन । त्यहि भएको हुँदा नेपाल राष्ट्रको व्यापार घाटा अहिले बढेर १४ खर्ब पुगीसकेको छ । वैदेशिक रोजगारीमा गएकाहरुले रेमिट्यान्स नियमित नपठाउने हो भने आयात गर्नको लागि बिदेशी मुद्रा पनि ऋणमा लिनु पर्ने बाध्यता आईलाग्ने निश्चित नै थियो । राष्ट्रिय ऋणले गर्दा अहिले नेपाल राष्ट्रको अस्तित्वलाई संकट बढेको छ । त्यसै गरी नेपाली जनता सबैले बिदेशबाट आयात गरिएको खाद्य सामग्रीहरु किनेरै खानु पर्ने भएकाले महंगाईको मारमा निरन्तर परी नै राखेको छ । आर्थिक संकटलाई नेपाली जनताले जेनतेन अहिले सम्म टारी नै राखेका छन् । यदि थप बढ्दै गएमा भने नेपाली जनताले आर्थिक संकटलाई टार्न सक्ने छैन ।

यस्तो जटिल मोडबाट नेपाल राष्ट्र गुज्रीरहेको हुँदा त्यसबाट आफु पनि जोगिन र मुलुकलाई पनि जोगाउनको निमित्त नेपाली जनताले कडा आर्थिक मितव्ययीता नीति अपनाई हाल्नु पर्ने हुन्छ । दलका शीर्ष नेताहरुले पनि ऋण गरी गरी घीउ खाने नीति छाड्नु पर्दछ । नेपालमा बनाईने परियोजनाहरु पनि मितव्ययी हुन र बनाउन जरुरी हुन्छ । अरुले घोडा चढे भनेर नेपाली जनताले खास गरी डाडु पुनेउ हातमा लिएर बसेका दलका नेताहरुले घर धुरीमा चढ्न जरुरी छैन । आफ्नो हैषियत अनुसारको व्यवहारिक विकास पूर्वधारहरु बनाउनमा जोड लगाउनु पर्छ । संसार प्रशिद्ध जुम्ले टावरहरुलाई हेरी नेपालमा पनि त्यस्तै टावर बनाईराख्न जरुरी छैन । दलका नेताहरुले मात्र होइन नेपालका इन्जिनियरहरुले पनि त्यसै गरी मितव्ययी हुन जरुरी छ ।

राम्ररी अध्ययन अनुसन्धान र डिजाईन गरी परियोजनाहरुको लागत घटाउन सक्ने मात्र होईन विकास पूर्वाधारलाई पनि उपभोक्ताको अवश्याकता अनुसार तुल्याएर बहुउपयोगी र जनमैत्री बनाउन सकिन्छ । हालै झापाका साँसद तथा राष्ट्रिय प्रजातंत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एउटा पूर्वाधार विकासको महत्वपूर्ण अनुभव सार्वजनिक गर्नु भएको थियो । उहाँको अनुसार इन्जिनियरिङ कन्सल्टैन्टले २७ करोड लागत लाग्ने निकालेकोमा स्थानिय जनताले स्यानिय ज्ञान र शिपलाई प्रयोग गरी लगभग ४ करोडमा नै ४ वटा मोटरयवल पुलहरु निर्माण गर्न गराउन सफल भएका थिए । आफुसित भएको बजेट अनुसार नै स्थानिय जनप्रतिनिधिहरुले स्थानिय आवश्यकता अनुसारको मोटरयवल पुल बनाएर गर्जो टारेका थिए । यसरी नै उचित प्रविधि र स्थानिय ज्ञान र शिपको प्रयोग गरी लागत घटाएर पनि बलियो र मितव्ययी पुलहरु निर्माण गरी देखाउन सक्ने ज्वलन्त उदाहरण झापाको जनप्रतिनिधिहरुले प्रस्तुत गरेका छन् ।

झापामा नै एउटा काम नलाग्ने व्यापारिक टावर बनाएर एमालेका शीर्ष नेता प्रधानमंत्री ओलीले ४ अर्ब लगानी बालुवामा पानी खन्याएको झै पारेका छन भने झापा कै अर्का साँसद राजेन्द्र लिङ्देनले राष्ट्रको २४ करोड महत्वपूर्ण लगानी जोगाईदिएका छन् । उचित विकास भनेको झापाका साँसद लिङ्देनले गरेको विकास हो भने अनुचित विकास भनेको नेपाल राष्ट्र कै प्रधानमंत्री एमाले शीर्ष नेता ओलीले त्यहि झापामा नै निर्माण गरेको ४ अर्बमा बनेको व्यापारिक टावर हो । जनतालाई काम आएको र उपयोगको हिसाबले साँसद राजेन्द्र लिङ्देनले उचित लागतमा निर्माण गरेको ४ करोड कै ४ वटा कंक्रिट पुलहरु धेरै गुणाले उत्तम मानिन्छ । ४ अरबको लागतमा बनेको दमक भ्युटावरबाट अहिले सम्म नेपाल राष्ट्रलाई सुको आम्दानी भएको छैन । यसरी राष्ट्रलाई लगातार चुना लगाई रहेका भ्रष्ट दलहरुका महाभ्रष्ट नेताहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमान स्थलहरुको निर्माण गर्दा ऋणमा प्राप्त लगानीको धेरै दुरुपयोग गरेको भेद् हालै सार्वजनिक भएका छन् ।

यस्ता चोर चकार नेताहरुले नेपालमा राज गरी बसेसम्म नेपालको उन्नती हुने कुरै भएन झनझन दुर्गती हुँदै जाने कुरा निश्चित प्राय नै छ । नेपालको वर्तमान सन्दर्भमा आवश्यक नै नभएका पूर्वधारहरु बनाएर ऋणबाट प्राप्त महत्वपूर्ण लगानीलाई खेर फाल्नु भन्दा परियोजनाहरुको अध्ययन अनुसन्धानमा उचित समय लगाएर मितव्यायीता अपनाउन धेरै नै उत्तम हुन्छ । इन्जिनियरहरुले पनि हाईफाई कुरा गरी दलका नेताहरुलाई दिग्भ्रमित पार्ने काम गर्नु हुँदैन । महंगा र तुरन्तै आवश्यक नभएका विकास पूर्वधारहरु बनाउन जरुरी छैन । चली रहेका सडकहरुलाई चौडा पार्दा नेपाल भरी धेरै नराम्रो प्रभाव पारेको छ भने धेरै नेपाली यात्रुहरुको ज्यान समेत लिएको छ । यात्रामा दुःख पाउनुको त कुनै साधी नै छैन र अझ सम्म पनि त्यो क्रम जारी नै रहेको छ ।

पूर्व पश्चिम राजमार्गको नरायाणघाट बुटवल खण्डमा पर्ने दाउन्ने र दुम्कीवासको दुःखदायी अनुभवहरु जनमानमा ताजा नै छन । विकास भनेको नेपाली जनताको जीवनलाई गुणस्तरिय बनाउनु हो तर उल्टै विकासले नेपाली जनताको दैनिकी र जीवनीलाई दुःखदायी बनाउँदै लगेपछि नेपाली जनतालाई धेरै पीडित र चिन्तित तुल्याएको छ । राजाका पालामा बनेका सडकहरु जताभाती भत्काएर चौडा गर्ने नाममा दलका शीर्ष नेताहरुले बारम्बार शिलान्याश र उद्घाटन गरी नेपाली जनतालाई आजित तुल्याईसकेका छन । सडक बन्ने कहिले होइन भएकालाई पनि स्तरउन्नती गर्ने नामामा भत्काएपछि नेपाली जनतालाई दलका शीर्ष नेताहरुले नरुनु नहास्नु तुल्याएका छन् । यत्रा नगरी सुःख छैन, प्लेनबाट जाउँ भने पैसा पुग्दैन, अनि मर्दा पर्दा यात्रा नगरी पनि भाको छैन । नेपाली जनतालाई दलहरुले विकासको नाममा यसरी कुकुरले नपाउने दुःख दिंदै आएका छन् ।

नखाउँ भने दिन भरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार भनेको जस्तो हालत नेपाली जनताको अहिले भईसकेको छ । बाँदर मारे पछि जसरी सिकारीहरुलाई पछुतो भयो त्यस्तै पछुतो अहिले नेपाली जनतालाई पनि राजालाई हटाएर दलहरुलाई सत्ता सुम्पेकोमा भईरहेको छ । हिजो संगै खोपी खेलेका उखाने नेपाल राष्ट्र कै प्रधानमंत्री भएपछि संगै भैंसी चराउने सथीभाईहरुलाई ठुलो चोट परेको छ । उहाँ सित जेलमा संगै बसेका सथीभाईहरु पनि एमाले शीर्ष नेता प्रधानमंत्री को भाग्य देखेर अचम्मित भएका छन् । संघियता र गणतंत्रको पक्षमा राजावादीहरु र राष्ट्रवादीहरुको प्रतिकार गर्दै प्रधानमंत्री ओली खरो रुपमा प्रस्तुत भएका छन् । उहाँले एक प्रकारको दलिय अधिनायकवाद नेपालमा निर्वाद रुपमा चलाऐरहेका छन ।

लोकतंत्रको मारो गोली भन्दै नेपालमा दलतंत्र र नेतातंत्रको बलियो सित जग बसाल्ने काम उहाँले फूर्तिको साथ गरीरहेका छन् । नेपाली जनतालाई भेडो मात्रै सम्झिने एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले नेपालमा सुरुचीको शासन चलाई बसेका छन् । सुनीति अनुसार चल्ने कानुनी राजको जगै देखि उखलेर फाली लोकतंत्रलाई खतम पारी दिएका छन् । यस्ता सकुनी नीति भएको एमालेका शीर्ष नेता प्रधानमंत्री ओलीले युवा पुस्तालाई खाली गुण्डागर्दी गर्नमा मात्रै लगाएर आफैले भने राजनीतिक तर मजाले मारी बसेका छन् । उहाँलाई ठाडो चुनौती दिनसक्ने नेताहरु एमालेमा दुरदुर पनि कोही देखिएको छैन । हालै पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले भने राजनीतिमा फर्कने संकेत गर्दै उहाँको एकलौटी पार्टी नेतृत्व गर्ने मनासायलाई चुनौती दिएका छन् ।

यसको परिणाम आउन नै बाँकी भएकाले अहिले नै यसै हुन्छ भनी आकलन गर्न सकिन्न किनकि एमाले शीर्ष नेता प्रधानमंत्री ओली त्यसै हार मान्ने नेतामा पर्दैन । उहाँले पूर्व राष्ट्रपति विद्याभण्डारीलाई कसरी रिङ्ग्याउने छन त्यो हेर्न नै बाँकी छ । यस्ता अचुक राजनीतिका महानखेलडी एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले नेपालको अविकासलाई मागी खाने भाँडो तुल्याएका छन् । अनुचित विकासमा राष्ट्रिय ऋणको रुपमा प्राप्त बहुमूल्य लगानीलाई पानी झै बगाएर भ्रष्टाचारलाई बढवा दिंदै आएका छन् । यसरी नेपालका भ्रष्ट राजनीतिक दलहरुले उचित विकास गर्नबाट चुक्दा नेपाल राष्ट्रले उत्तम निकास गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *