ananta gurung

बेइमान राजनीतिक नेतृत्व बदलौं

राजनीति लेख

‘होलाकीले बुलाकी लायो बुलाकीले नाकै खाया’ भन्ने जनआहान नेपालको गाउँघरमा पहिले देखि नै प्रचलित छ । नेपाली जनताले पनि राजतंत्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायतको राजनीतिक नेतृत्वले गर्दा नै नेपाल राष्ट्र र नेपाली जनता विकासमा पछौटे भएको मानी दलहरुले फैलाएको भ्रमजाललाई नै सत्य सम्झेर त्यसैको पछाडि लागे ।

त्यसरी विकासको बाटो बिराएको पनि आज चार दशक पुग्नै लाग्यो तर पनि नेपाली जनताले आफ्नो मुलुक नेपालको विकासे पछौटेपनको कुनै ठोश जबाफ पाउन सकीरहेको छैन । नेपालको राजनीतिक नेतृत्व गर्ने दलहरु नै विकासको सन्दर्भमा कंगाल छन त्यसैले पञ्चायत कालमा राखेको विकासको जगलाई नै भत्काएर नयाँ विकासको जग बनाउने चक्करमा पुरानो विकासको जगलाई पनि क्रमसः भत्काउँदै लगेका छन । दलहरुको विकासे सोच भनेको बाँदरे सोच नै हो किनकि बाँदरले आफु पनि घर बनाउँदैन र अरुले बनाएको घरलाई पनि भत्काउँदै जान्छन । अहिले नेपालमा दलतंत्र हाबी भएको छ भने प्रत्येक दलहरु भित्र नेतातंत्र हाबी भएको देखिन्छ ।

उक्त दलका शीर्ष नेताहरुलाई पनि चलाउने व्यापारीहरु र व्यवसायीहरुको स्वार्थ समूह छन । तिनै स्वार्थ समूहहरुको नियन्त्रण र निर्देशनमा अहिले ओली–देउवा सरकार पनि चल्दै आएकोछ । अग्ला कंक्रिटको टावरहरु बन्नुलाई विकास सम्झिने प्रधानमंत्री ओलीले हालै चपर चढेर मधेस प्रदेशको सुखाग्रस्त क्षेत्रको आकासे अवलोकन भ्रमण गर्दागर्दै नेपाल राष्ट्रले संसारमा नै नभएको चौतर्फी विकास गरेको दाबी पेश गरेकाछन । अकासमा उड्दा उड्दै उहाँले तराई प्रदेशको सुखाग्रस्त क्षेत्रमा ५०० डीप ट्यूव वैलहरु गाड्ने घोषणा पनि गरेकाछन ।

भौतिक रुपमा जमिनी काम कहिले सुरु होला त्यो प्रधानमंत्री ओलीको जानकारीमा होला अथवा ओली–देउवा सरकारलाई परिचालन गर्ने स्वार्थ समूहले त्यसको लागि तयारी पहिले नै गरीसकेको हुनु पर्छ । तराई मधेस प्रदेशको सन्दर्भमा कुरा गर्दाखेरी तराईमा पीउने पानीको पनि ठुलो समस्या रहेकोछ । सुखाले गर्दा जमिन मुनीको पानीको सतह पहिले नै धेरै तल झरीसकेको हुनाले त्यसलाई रिचार्ज गर्नको लागि बर्षात यसपालि कम भएकोछ । सुखाग्रस्त तराईमा अहिले पनि हुने खानेहरुले निजी ट्यूव वैलहरु गाडेका छन भने आम नेपाली जनताले हैंडपम्पहरु गाडेर खानेपानी पीउँने गरेकाछन ।

पहिले पहिले खानेपानीको लागि ईनारहरु बनाउने गरेका थिए भने लुगाधुने र नुहाउनको लागि वस्तीको छेउछाउमा ठुला ठुला पोखरीहरुको निर्माण गर्ने गरेका थिए । बर्षातको पानी त्यहि पोखरीहरुमा जम्मा भएर जमिन मुनीको पानीको भण्डारमा पनि रिचार्ज हुँदै आएको थियो । दलहरुको शासनकाल आएपछि पहिलेका ठुला ठुला पोखरीहरुलाई घरजग्गाका दलालहरुले कव्जागरी भटाभट प्लटिङ गरी बेचेको हुँदा तराई मधेसमा खानेपानी र सिंचाई गर्ने पानीको समस्या चर्किएको छ । पञ्चायात कालमा नेपालको सिंचाई विकासको निमिक्त तत्कालिन सरकारले योजना बनाएर नै धेरै कामहरु गरेकाछन । बागमती सिंचाई योजना र कमला सिंचाई योजना हाल सुखाग्रस्त क्षेत्रमा नै सिंचाईको लागि जल आपूर्ति गर्ने उद्देश्यले बनाईएका थिए । यस्तो योजना सहितको आधारभूत विकास कार्य दलहरुले गर्न सकीरहेका छैनन् ।

सुनकोशी मरिन डाईभर्सन योजनाको अवधारणा पनि कमला र बागमती नदीहरुले सिंचाई गरिने कमाण्ड एरियामा जलापूर्ति बढाउनको लागि नै थियो । अहिले सुनकोशी मरिनको सुरूङ बनेपनि बाँधको निर्णण हुन अझै केहि बर्ष कुर्नु पर्नेछ । त्यस्तै हालत भेरी बबई डाईभर्सनको पनि छ । सुरुङ बनेको दशक बित्दा पनि बाँध बनाएर बबई सिंचाई योजनाको कमाण्ड क्षेत्रमा जलापूर्ति गर्न दलहरुको सरकार अहिले सम्म सफल भएको छैन । त्यस्तै गरी मध्यपश्चिम नेपालको बहुचर्चित सिक्टा सिंचाई आयोजनाको हालत पनि अझ पनि उस्तै रहेकोछ । अहिले नेपालमा खानको लागि धान चामलको अभाव छैन ।

नेपालमा सुखा लागेर धान चामलको उत्पादन कम भएपनि भारतबाट नेपालमा धान चामलको आपूर्ति सहजै हुन्छ । तर खानेपानीको आपूर्ति भने त्यसरी हुँदैन अथवा गर्न सकिन्न । सरसरी हेर्दा पञ्चायत कालको नेपाल सरकार र अहिले दलहरुबाट बनेको नेपाल सरकारले पनि तराई मधेसको सिंचाई विकास गर्नको लागि प्रशस्तै लगानी गरीसकेको छ ।

यत्रो लगानी गरिसक्दा र हुँदा पनि तराई मधेसको सिंचाईको पानीको समस्या भने जीउँका तीउँ नै रहेको वा भएको देखिन्छ । अझ पनि तराई मधेसको धान खेती अकासे पानीमा नै पुरै निर्भर भएको देखिन्छ । नेपाल राष्ट्रले लामो समय देखि सिंचाईमा गरेको लगानीबाट तराई मधेस प्रदेशमा बसोबास गर्ने नेपाली जनताको जीवनीमा केही फरक ल्याउन सकीरहेको छैन । अहिले आएर सिंचाई गरिने भनीएको सिंचाईको कमाण्ड एरियालाई जोगाउनको निमिक्त पनि दलहरुको सरकारलाई धउधउ परीरहेको छ ।

कारण घरजग्गाको दलालहरुले गर्दा नै हो किनकि घरजग्गाका दलालहरुले सिंचाईको लागि छुट्याईएको कमाण्ड एरिया भटाभट प्लटिङ गरी वस्ती बसाएकाछन । उहाँ घर जग्गाको दलालहरु पनि कमजोर छैन किनकि केन्द्र देखि स्थानिय तह सम्मकै सबै सरकारहरुलाई हाँक्ने भनेको उहाँहरु ले नै हो । एकातिर सिंचाई परियोजनाहरुको प्लानीङ, डिजाईन र निर्माणनमा ढिलो हुने हुँदा त्यहि अवधिमा नै घरजग्गाका दलालहरुले नाफा निकाल्ने मेलो गरी हाल्छन । त्यसकारण नेपालमा सिंचाई गरिने भनीएको कमाण्ड एरियालाई जोगाई राख्न पनि ठुलै समस्या भएकोछ ।

समस्या बढेर यति सम्म पुग्यो कि तराई मधेसलाई सुखाबाट जोगाउनको लागि संघिय सरकारको प्रधानमंत्री ओलीलाई हचुवाको भरमा ५०० डीप टयूव वैल बनाउने धोषणा सम्म गर्नु पर्यो । अहिले छलफल गरिएका समस्याहरु झन जटिल बन्दै जाने देखिन्छ किनकि संघिया राजधानी काठमाण्डौ र तराई मधेस प्रदेशको कनेक्टीभिटी काठमाण्डौ तराई द्रुतमार्गले गर्दा ह्वात्तै बढ्नेवालाछ ।

भविष्यामा काठमाण्डौ, ललितपुर र भक्तपुर जोडिएको झै तराई मधेस पनि राजधानी काठमण्डौ सित जोडिने धेरै संभावना छ । मधेस प्रदेशको समस्या भनेको जहिले पनि जलापूर्ति नै हुनेवाला छ किनकि घणावस्ती भएपछि खानेपानीको माग बढ्ने छ । सरसफाईको लागि चाहिने पानीको लागि पनि पहिले को जमानामा जस्तो पोखरीको पानी माथि निर्भर भएर पुग्दैन । मधेस प्रदेशलाई रक्षा गरी बसेको चारकोशे झाडी मासिएका छन । त्यसै गरी चुरे पाहाड पनि मासिने क्रममा रहेकोछ ।

चुरे बचाउ अभियान चलेको भएता पनि त्यसमा भएगरिएको लगानी र प्रयासहरु अपुगछन । पहिले पहिले तराई मधेसको ठाउँ ठाउँमा आफै जल निस्किने आर्टेजियन वैल हुने गरेको थियो । अब चुरेलाई मास्ने क्रम बढेकाले त्यस्ता आर्टेजियन वैलहरु पनि मासिदै लोप भईरहेकाछन । अहिलेको नेपालको अवस्था भनेको हगी पनि सक्यो दैला पनि देख्यो भनेको जस्तै हो । दलका नेताहरुले सबै बिनास गरीसके पछि त्यसको भर्पाईको रुपमा ५०० डीप ट्यूव वैल बनाउने हचुवाको योजना ल्याएका छन ।

यसवाट तराई माधेसको समस्याको समाधान निस्केला भन्दा पनि झन जटिल बन्दैजाने निश्चित नै छ । अहिले नेपाली जनता ईमान्दार राजनीतिक नेतृत्वको पर्खाईमा बसेकाछन । अब दलहरु ईमान्दार बन्लान र नेपाली जनताको भाग्य बदल्ने काम गर्लान भन्ने आश नेपाली जनताले मारीसकेकाछन । तैपनि नयाँ ईमान्दार राजनीतिक नेतृत्वको निरन्तर खोजी भईरहेको नै छ । ईमान जमानमा पहिलेको राजतंत्र र पञ्चहरुलाई नै नेपाली जनताले अव्वल मानेका छन । नयाँ ईमान्दार राजनीतिक नेतृत्व नपाएको खण्डमा पुरानै राजनीतिक व्यवस्था तिर फर्किदा पनि अहिलेको दलिय राजनीतिक व्यवस्था भन्दा राम्रो हुने बिश्वास नेपाली जनताको मनमा पलाएकोछ ।

बाह्र बर्ष रामायण पढ्यो सीता कसको जोई भनेको जस्तो अवस्थामा दलहरु पुगेकाछन । ३६ बर्ष लामो समय सम्म विना अवरोध शासन सत्ता चलाउन पाउँदा पनि दलहरुले नेपाली जनताको मनमा खास स्थान बनाउन सकेका छैनन् । दलहरुले नेपाली जनताको समस्याहरुको समाधान गर्ने भन्दा पनि भ्रष्टाचारजन्य आर्थिक अपराधमा लागेर झन समस्या बढाउने काम गर्दै आएकाछन । नेपाली जनताको सामाजिक जीवनलाई दलहरुको वैदेशिक रोजगार नीतिले तहसनहस पारी सकेकोछ । अहिलेको नेपाल पुरा नेपाल होइन किन पुरा नेपाल हुनको लागि पुरा नेपाली जनताले नेपालमा बसोबास गरेको हुनु पर्छ ।

आधा नेपाली बाहिर छन भने नेपाल राष्ट्र पनि अहिले आधा नै छ । पुरा नेपाल बनाउनको लागि नेपाली जनतालाई त्यस्तो राजनीतिक नेतृत्व चाहिन्छ जसले नेपालमा नै रोजगारीको व्यवस्था गरी नेपाल राष्ट्रलाई पहिलेको जस्तै पुरै हराभरा र भरीभराउ बनाउन सक्छन । अहंकार, अज्ञानी र लालची भ्रष्ट र अपराधिक पृष्ठभूमिबाट आएका दलका नेताहरुले नेपाली जनताको त्यस्तो लक्ष र उद्देश्य कहिले पनि पुरा गर्न सक्ने छैनन् ।

नेपाली जनतालाई जेजस्तो भए पनि आफ्नै गौरवमय इतिहासको माया छ । नेपाली जनतालाई युगौ देखि जोडेर राखेको वैदिक सनातनी हिन्दूधर्म प्रति आघात प्रेम छ । नेपाली जनताको त्यस्तो गौरवमय इतिहासलाई मेटाउने र वैदिक सनातनी हिन्दूधर्मलाई अन्य बिदेशी धर्महरु सरह मान्ने दलहरु कदापि नेपाल राष्ट्र र नेपाली जनताको राजनीतिक नेतृत्व गर्न लागि योग्य छैनन् । त्यसकारण दलहरुको वेईमान राजनीतिक नेतृत्वलाई बदलेर एक इमान्दार, धर्मपरायण र कर्तव्यपरायण राजनीतिक नेतृत्वको निर्माण गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *