रामचन्द्र बस्नेत
कांग्रेस र एमाले गठबन्धन सरकार बनेको १४ महिना पार भइसक्दा पनि देशमा आर्थिक समृद्धि र सुशासन कायम हुन सकेको छैन । ठूलो दलको आडमा झन् सबैतिर संस्थागत भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचार मात्रै मौलाएको छैन राजनीतिक पार्टीहरु पनि नेतैपिच्छेको घमण्डका कारण पार्टीभित्र गुट झांगिएर फुटको स्थितिमा पुग्न थालिसकेका छन् ।
नेताहरुको आन्तरिक कलहले गर्दा विदेशीहरुले फाइदा उठाइरहेका छन् । विभिन्न देशका सुराकीहरु नेपाल भित्रिइरहेका छन् । खासगरी ‘रअ’ र सीआईएहरु नेपालमा सलबलाउँदै आएको लामो समय भइसकेको छ । यिनै सुराकीहरुले नेपालका नेताहरुलाई उचाल्ने र पछार्ने काम गर्दै आएका छन् । दलहरु पनि ‘रअ’ र सिआईएको इसारामा नाचिरहेका छन् । पछिल्लो समय नेपालमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने भन्दै कांग्रेस र एमाले दुई ठूला दल मिलेर स्थिर सरकार बनाएका थिए । त्यसलाई कमजोर बनाउन दक्षिणी र उत्तरी दुई छिमेकी मुलुकसँगै अन्य मुलुकहरुले खेलेर कमजोर बनाउने प्रपञ्च रचिरहेका छन् ।
यतिबेला नेपालका वामपन्थीहरु चीनले खेलाइरहेको छ भने कांग्रेसलाई भारत र अमेरिकाले खेलाइरहेका छन् । अन्य दलहरुलाई युरोपियन युनियनहरुले उक्साएर नेपालमा अस्थिरता निम्त्याउन खोजिरहेका छन् । तर, नेपालका नेता र सुरक्षा निकायले यस्ता विषयमा ध्यान दिएका छैनन् । त्यसले गर्दा विदेशीहरु नेपालमा हरेक वर्ष एउटा न एउटा फन्डा ल्याएर नेता र कर्मचारीलाई पोष्ने र सर्वसाधारण जनतालाई ठगेर नेपाली पैसा विदेश लाने काम गरिरहेका छन् । विदेशीहरुले नेपालमा आर्थिक र व्यापारिक चलखेल मात्रै गरेका छैनन् राजनीतिक सिस्टममाथि नै खेल्दै आएका छन् । त्यसको उदाहरण बनेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।
रविलाई २०८४ को निर्वाचनमा एमाले र कांग्रेसलाई कमजोर बनाउनको लागि रविलाई जेलमै राखेर जनतामाझ हाइहाइ बनाउने र रास्वपालाई विजयी गराउने खेल भारत र अमेरिकाले गरिराखेका छन् । अर्कोतिर नेपालमा वामएकताको नाममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रयोग गरेर एमाले पार्टी कमजोर बनाउने खेल भइरहेको छ । एकातिर कांग्रेस र एमालेलाई सर्वसाधारण जनताले पत्याउन छाडिसकेका छन् । अर्कोतिर नेकपा माओवादीलाई ती जनताले भोट दिने अवस्था छैन ।
त्यसकारण २०८४ निर्वाचनमा सर्वसाधारणले भोट दिने वैकल्पिक पार्टी रास्वपा हुने खतरा पनि त्यत्तिकै छ । जसरी २०६४ को निर्वाचनमा एमाले र कांग्रेसलाई भोट नदिइकन सर्वसाधारण जनताले वैकल्पिक पार्टी माओवादी बनेको थियो । त्यसले गर्दा माओवादी सबैभन्दा ठूलो पार्टी बन्न पुगेको थियो । त्यतिबेला माओवादीले एकलौटी सरकार बनाउन सफल भएको थियो । माओवादीको त्यो सरकार ८ महिना नपुग्दै चकनाचुर भई देशमा अस्थिरता छाएको थियो ।
जसले गर्दा नेपालमा संविधान पनि बन्न सकेको थिएन । २०६४ मा माओवादीले जितेकै कारण नेपाली जनताले संविधान पाउन २०७२ पर्खिनुपरेको थियो । त्यसैले गर्दा आगामी ८४ निर्वाचनमा रास्वपाको पार्टी कथम कदाचित ठूलो भएको खण्डमा नेपालको लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने सम्भावना बढेर गएको छ ।

