काठमाडौं । नेपालमा हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ अनुसार अब युवाको उमेर १८–३५ कायम हुने भएको छ।
यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति –२०७२ अनुसार युवाको उमेर १६–४० रहेको थियो। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका नयाँ माग, चाहाना र आवश्यकतालाई सम्बोधन गर्न नयाँ नीति ल्याइएको बताएका थिए । बस्नेतले राष्ट्रिय रूपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको उल्लेख गरेका छन् ।
यसैगरी युवा नीतिमा भनिएको छ, ‘अनुसन्धान, अन्वेषण र प्रविधिमा युवाको समावेशी सहभागिता, सहज पहुँच, उच्चतम उपयोग र साइबर सुरक्षा सुनिश्चित गरी प्रविधिमैत्री राष्ट्र निर्माण गरिनेछ ।’‘राष्ट्रको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा दीगो विकासमा युवा परिचालनको सुनिश्चितता गर्न एवम् राष्ट्रियताको भावना जागृत गराउँदै समाज रूपान्तरण र राष्ट्र निर्माणमा युवाहरूको नेतृत्वदायी भूमिका बढाउन’ युवा नीतिमा जोड दिइएको छ ।
युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन नयाँ युवा नीतिमा स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र, करिअर काउन्सिलिङ जस्ता कार्यक्रममा जोड दिइएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले जानकारी दिएका थिए। यस्तै युवामा रहेको ज्ञान, सीप र पुँजीलाई उपयोग गर्ने प्रोत्साहनमूलक कार्यक्रम, प्राविधिक ज्ञान एवम् सीपमूलक तालिम, विभिन्न व्यवसाय तथा व्यापारका क्षेत्रमा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

