काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको हालको रणनीति र काम गर्ने शैलीप्रति असहमति जनाउँदै फरक मत राखेका छन् ।
उनले फरक मत बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता गराएका थिए । पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले संगठनात्मक गतिविधि, वैचारिक अभ्यास र नीति–निर्णयका विषयमा गम्भीर आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।
उनले पार्टीको हालसम्मको कार्यशैलीले जनताबीच सन्देश दिन नसकेको र संगठनभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप पनि फरक मतमार्फत् लगाएका छन् ।थापाले एमालेले सैद्धान्तिक, राजनीतिक र संगठनात्मक तहमा आत्मालोचना नगर्ने हो भने दीर्घकालीन असर पर्ने चेतावनी पनि दिएका छन्।
उनले राजनीतिक निर्णय प्रक्रिया केही व्यक्तिमा मात्रै सीमित हुनु, भिन्न विचारलाई स्थान नदिनु र संगठनका विभिन्न तहमा असन्तुष्टि बढ्नुलाई एमालेभित्रको गम्भीर समस्या भनेका छन् । थापाले पार्टीलाई जनताको वास्तविक समस्या समाधानतर्फ ध्यान दिन, वैचारिक स्पष्टता पुनःस्थापित गर्न र संगठनात्मक अभ्यासलाई लोकतान्त्रिक बनाउन आग्रह गरेका छन्।

