काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर चिन्ता बढेको छ ।
एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी पहिलो चरण मै फेल भएका हुन् । विशेषगरी डेन्टल (बीडीएस) तर्फको नतिजा पूर्ण रूपमै निरासाजन रहेको छ । यस्तो परिणामले चिकित्सा शास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा ६१ प्रतिशत फेल भएका छन् ।
काउन्सिलले गत बुधबार र बिहीबार चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गरेको थियो । यसपटकको लाइसेन्स परीक्षाको नतिजा भने निरासाजनक देखिएको छ । जसमा एमबीबीएस र बीडीएसमा गरी एक हजार ७७ जना परीक्षा दिएका मध्ये ६ सय ५६ जना फेल नै भएका छन् । एमबीबीएसमा भने ४२ प्रतिशत र बीडीएसमा १८ प्रतिशत मात्रै पास भएका छन् ।
काउन्सिलका अनुसार एमबीबीएस र बीडीएसमा गरी ३९ दशमलव ०९ प्रतिशत मात्रै पास भएका छन् । काउन्सिल रजिष्ट्रारका अनुसार परीक्षाका लागि एक हजार एक सय तीन जनाले फारम भरेकामा २६ जना अनुपस्थित थिए । एमबीबीएस तर्फ नौ सय १५ जनाले फारम भरेपनि २१ जना अनुपस्थित थिए । आठ सय ९४ जनाले परीक्षा दिएकोमा तीन सय ८६ जना मात्रै पास भए । यस्तै बीडीएसतर्फ एक सय ८८ जनाले फारम भरेका थिए । तर पाँच जना अनुपस्थित रहेका थिए । एक सय ८३ सहभागीमध्ये ८१ प्रतिशत फेल भए ।
यसबीच चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा भर्ना सिट संख्या बढाउने निर्णय गरेको बेला यस्तो कमजोर नतिजा सार्वजनिक भएको हो । चिकित्सा शिक्षा आयोगले ३० साउनमा २१औं बैठकले एमबीबीएसमा एक हजार तीन सय ५९ सिट थपेर दुई हजार ६ सय ३५ पुर्याएको छ । बीडीएसको सिट ६ सय २५ बनाइएको छ । सिट बढाउँदा गुणस्तर खस्किन्छ भन्ने सरोकारवालाहरूको चेतावनीलाई झनै पुष्टि गरेको छ ।
