पदाधिकारीमा दुवै पक्षभित्र आकांक्षीहरुको ताँती
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब दुई दिन बाँकी छ । एमालेले मंसिर २७–२९ गतेसम्ममा महाधिवेशन सम्पन्न गर्ने मिति तय गरेको छ । सो महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भव्यताका साथ सम्म गर्ने भनिएको छ । एमालेको अधिवेशनमा स्वदेशीदेखि विदेशी कूटनीतिज्ञसम्मको उपस्थिति रहने बताइएको छ । त्यसैगरी महाधिवेशन सफलताको शुभकामना दिनको लागि अन्यदलका नेताहरुको पनि उपस्थिति रहने छ । भक्तपुरमा उद्घाटन समारोह सम्पन्न गरी काठमाडौंको भृकुटी मण्डपमा अधिवेशन सम्पन्न गर्ने बताइएको छ ।
एघारौं महाधिवेशनको लागि २२ सय हाराहारी केन्द्रीय प्रतिनिधिहरु छनोट भएका छन् । सो प्रतिनिधि छनोटमा केही जिल्लाबाहेक अधिकांश ठाउँमा सर्वसम्म भएका छन् । निर्वाचन भएको ठाउँमा संस्थापन पक्षको बाहुल्यता रहेको पाइन्छ । एमालेको एघारौं महाधिवेशनमा अध्यक्षको लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भनिए तापनि दुवै पक्षले हिजोसम्म प्यान घोषणा गरेका छैनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले प्यानल घोषणा गरेपछि मात्रै आफूले प्यानल बनाउने भनिरहेका छन् ।
हुन तीन दिन बाँकी हुँदा पनि दुवै पक्षले खुलेर प्यानल घोषणा गरेका छैनन् । बाहिर खुलेर घोषणा नगरे तापनि दुवै पक्षले भित्रभित्रै आ–आफ्नो प्यानलका उम्मेदवार तयारी अवस्थामा राखेको पाइन्छ ।
नेकपा एमाले पुरानो वामपन्थी पार्टी भएकाले दुवैपक्षमा पदाधिकारीहरुमा आकांक्षा राख्ने नेताहरु धेरै छन् । पदाधिकारी आकांक्षीहरु धेरै भएकै कारण दुवै पक्षले प्यानल बनाउन सकेका छैनन् । यदि प्यानल बनाएको खण्डमा भाग नपाएका नेताहरु अर्को पक्षतिर जाने डरले पनि दुवै पक्षले प्यानल घोषणा गर्न सकेका छैनन् । ओली र पोखरेल दुवै पक्षमा कसले अगाडि प्यानल घोषणा र असन्तुष्ट नेतालाई आफ्नो पक्षमा ल्याउन ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि महासचिवमा आकांक्षा राख्नेहरुको दुवैतिर ताँती छ । ओली पक्षबाट महासचिवको आकांक्षा राख्नेमा प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङबीच लडाईँ छ भने हालका महासचिव शंकर पोखरेल मौन छन् । ओली पक्षको प्यान नआएकाले ईश्वर पोखरेललाई प्यानल बनाउन धौ–धौ परेको छ । अध्यक्ष ओली प्यान बनाएर निर्वाचन गर्ने भन्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा देखिएका छन् ।
प्यनल बनाएको खण्डमा कार्यकर्ता र नेताहरुबीच फाटो आउने कारणले गर्दा सर्वसम्मत नेतृत्व चयन गर्न ओली सक्रिय रहेको देखिन्छ । अध्यक्ष ओलीले सम्मत नेतृत्व चयन गर्ने तयारी पनि गरिराखेका छन् । तर, ईश्वर पोखरेलले नछाड्ने भएपछि निर्वाचन हुने देखिन्छ । यदि ओली र पोखरेलबीच अध्यक्षमा प्रतिस्पर्धा भएको खण्डमा उपाध्यक्ष, महासचिव र सचिवमा प्रतिस्पर्धा गर्नेहरुको संख्या पनि त्यत्तिकै छ । त्यसले गर्दा एमालेको ११ औं महाधिवेशन पेचिलो बन्ने देखिन्छ । यता कार्यकर्ता र केही नेताहरु समय परिस्थितिलाई हेरेर नेतृत्व चयन गर्नुपर्ने सुझाव केन्द्रीय प्रतिनिधिहरुलाई दिन थालेका छन् ।

