२०८३ साल श्रावण२० गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
यसो त बालेन सरकारले निरन्तर तिब्रगतिमा काम गरी नै रहेको हुँदा अझ छिटो काम गर भनी दबाब हाल्नु पर्ने अवस्था कायम छैन । यदि त्यसो गरेमा हिड्ने गोरुको पुच्छर निमोट्ने काम मात्रै हुन जान्छ । अहिले बालेन सरकारले नेपालमा थालेको सुशासनको प्रभावहरु नेपालको अर्थतंत्रमा फाटफुट देखिन थालीसकेको छ । ३७ बर्ष सम्म घाटामा चलेको नेपाल औषधी लिमिटेट पहिलो पटक नाफामा गएकोछ । त्यसैगरी पुराना दलहरुको पालामा अकुत घाटामा गएर बन्द नै हुन लागेको डेरी डेभलोपमेन्ट कर्पोरेसनको व्यापार ह्वातै बढेर नाफा कमाउने तर्खरमा छ । बालेन सरकारले केही पनि गरेन भन्नेहरुको लागि अर्थतंत्रमा देखिएको यो सूचाङ्कहरुले झस्काई सकेको हुनु पर्छ । बालेन सरकारलाई ठाउँको ठाउँमा नै ढाल्न कसम खाएका ओली, देउवा र प्रचण्डको लागि यो पक्कै पनि शुभसमचार भने होईन । १५ बर्ष अगाडि लगभग ७ सय ट्राभल डकुमेन्ट गायव पारेका परराष्ट्रमंत्रालयका एक सहसचिवलाई पनि बालेन सरकारले जर्मन राजदुतावासले १५ बर्ष अगाडि हालेको उजुरी कै आधारमा पक्राउ गरी कानुनी कार्यबाही अगाडि बढाएकाछन । नेपालबाट युरोप तर्फ मानव तस्करी गर्नेहरुको लागि यो ठुलो अशुभ समचार हो ।
बालेन सरकारले मानव तस्कारीमा सघाएका आफ्नै नेपाल सरकारको सहसचिव माथि कानुनी कार्यबाही चलाएर युरोपियन युनियनलाई आस्वस्थ पार्ने जमर्को गरेकाछन । नेपाल राष्ट्र र नेपाली जनताले मानव तस्करी र सुन तस्करीहरुलाई कानुनी कार्यबाही चलाएर युरोपियन युनियनलाई आस्वस्थ पार्न सकेको खण्डमा नेपाल वायुसेवा निगमको युरोप तर्फको उडानमा लागेको प्रतिबन्ध चाँडै हटाउन युरोपियन युनियन बाध्य हुनेछन । पुरानो दलहरुका सरकारहरु जस्तो यो मामलामा पनि बालेन सरकार चुपलागि कानमा तेल हालेर बसेको छैन । भित्रभित्रै छुपेरुस्तम बनेर बिदेशीलाई नेपाल राष्ट्र बिरुद्ध हुने गरी लगाएको प्रतिबन्ध हटाउनको लागि दबाब दिईरहेकाछन । नेपालमा धरासायी भएका बिभिन्न व्यवसायहरु पुरानो दलहरुका खराब नीतिहरु कै कारण धारासायी भएका हुन जुन अहिले सम्म पनि उस्तै हालतमा छन । धारासायी भएका नेपाली नागरिकका अनेक प्रकारका व्यवसायहरु पर्ख र हेरको अवस्था मैत्रीपूर्ण सरकारी नीति आउने प्रतिक्षामा बसेकाछन । पुरानो दलहरुको सरकारहरुको व्यवसाय अमैत्री नीतिहरु कै कारण नेपाली नागरिकले अनेक व्यवसायहरुमा लगानी गरेको ठुलो धनराशि जोखिममा परेकोछ । बालेन सरकार आएपछि सबै क्षेत्रमा ध्यान दिन पाएको छैन तर पनि उद्योगी व्यवसायीहरु उत्साहित भएर तयारी हालतमा बसेकाछन । बालेन सरकारको राम्रो नीति आउने बित्तिकै व्यवसायको रथ थामी नसक्ने गरी अगाडि बढ्ने निश्चित नै छ
। बालेन सरकारका केही मंत्रीहरु दिन रात खाटीरहेको देखिएकोछ । खासगरी मंत्री रावल र मंत्री सुदन गुरूङ्गको चर्चा आम जनस्तर सम्म चलीरहेकोछ । अन्य मंत्रीहरुको बारेमा त्यति चर्चा आम जनस्तरमा नचेलको भएपनि खटेर काम गर्दै होलान भन्नेमा नेपाली जनता बिश्वास्थ छन । निजी बैंक, सहकारी, लघुवित्त बैंक, मिटरव्याजी, भूमिहिन सुकुम्बासी र अन्य वित्तिय समस्याहरु पुराना दलहरुले नै उत्पादन गरेका हुन । पुराना दलहरुले नेपालमा यस्तो नेपाली जनताको रगत पशिना चुस्ने धेरै संघ संस्थाहरु बनाएर चलाएकाछन ।नेपाली जनताको आर्थिक उन्नतीको लागि भनेर पुराना दलहरुले बनाएका यस्ता संघ संस्थाहरुबाटै नेपाली जनता धेरै शोषित पीडित बन्नु परेकाछन । बालेन सरकार सत्तमा आएपछि आफ्नो महत्वपूर्ण धेरै समय पुरानो दलहरुले गरेको फोहर सफा गर्नमा लगाउनु परीरहेकोछ । बालेन सरकारले सहकारी पीडित र भूमिहिन सुकुम्बासीको समस्यालाई धेरै हदसम्म समाधान गरीसकेकोछ ।
पुरानो दलहरुले दशै सम्ममा बालेन सरकारलाई ढालेर प्रधानमंत्री बालेनलाई सडकमा घिसार्ने कसम खाएकाछन तर त्यो भन्दा पहिले नै बालेन सरकारले आम नेपाली जनताको वित्तिय समस्याहरुको समाधान निकाल्ने गरी तयारी गरेकोछ । अहिले पनि पुरानो दलहरुले बालेन सरकारलाई ढाल्नको लागि बिभिन्न कदमहरु चालेकाछन तर उहाँहरुको सबै कदमहरु खेर गएकाछन । अन्तिम अस्त्रको रुपमा धार्मिक दंगालाई तराईको जिल्लाहरुमा भड्काएका थिए त्यसलाई पनि बालेन सरकारका गृह्यमंत्री सुदन गुरुङ्गले फिल्डमा नै खटेर फासफुस पारी दिएकाछन । बालेन सरकारले पुरानो दलका भ्रष्टाचारी र अपराधी शीर्ष नेताहरु र अन्य नेताहरुलाई कानुनी कार्यबाही चलाएर जेल हाल्न सकीरहेको छैन । यो मामलामा नेपालको न्यायपालिकाले पटक पटक हष्तक्षेप गरी बालेन सरकारको हरेक प्रयासलाई टाँईटाँई फिस पारी दिने गरेकोछ । यसरी स्वतंत्रपूर्वक चलखेल गरी बसेका पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले बालेन सरकारको नाकको दम निकाली रहेकाछन । राष्ट्रिय स्वतंत्र पार्टीलाई नेपाली जनताले यथा स्थितिमा देश चलाउनको लागि प्रचण्ड बहुमत दिएको होईन । नेपाली जनताले रास्वपालाई दिएको लगभग २र३ बहुमत व्यवस्था बदलेर नेपालको अवस्था पनि बदल्नको लागि हो । तर अहिले सम्मको बालेन सरकारको नीतिहरु हेर्दा यहि संबिधान अनुसारको राजनीतिक व्यवस्थालाई बालेन सरकारले पनि बलियो पार्दै लगेको बुझिन्छ ।
नेपालको संबिधान २०७२ अनुसारको गणतंत्र र संघियतालाई बलियो बनाउँदै जाने हो भने त्यसबाट राजनीतिक निकास आउन सक्तैन । नेपाली जनता नेपालको संबिधान २०७२ अनुसारको शासकिय स्वरुपलाई बदल्नु पर्छ भन्ने पक्षमा छन । रास्वपाले धर्मनिरपेक्षता, गणतंत्र र संघियतालाई बोकेर नै हिड्ने हो भने राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको बिषयले महत्व पाउन सक्तैन । नेपाली जनता भने राजतंत्र र वैदिक सनातनी हिन्दूधर्म फर्काउनु पर्छ भन्ने पक्षमाछन । यस बिषयलाई रास्वपाले पाएको लगभग २र३ बहुमतलाई आधार मानेर त्यसै पन्छाउन मिल्दैन । यदि पन्छाउने नै हो भने नेपाली जनताको जनमत संग्रह गर्नु पर्ने हुन्छ । यहि संबिधान र शासकिय स्वरुप अनुसार नै राष्ट्रलाई चलाउने र चल्ने सोच राष्ट्रिय स्वतंत्र पार्टीको छ भने त्यो सोच गलत भएकाले तुरुन्तै बदली हाल्न जरुरी हुन्छ । यदि नयाँ र पुरानो मेलमिलाप गरी अगाडि बढ्ने सोच रास्वपाको बालेन सरकारले लिन्छ भने त्यसको परिणाम उल्टोपाल्टो निस्किन सक्छ । राजतंत्रवादीहरु लगभग १० प्रतिशत मात्रै छन भनी हेप्न मिल्दैन । बिरोध गर्न गराउनको लागि यहि संख्या पनि काफी छन ।
साथै वैदिक सनातनी हिन्दूधर्मालम्बीहरुको संख्या पनि कम छैन र त्यो जरुरी पर्दा राजतंत्रवादीहरु सित थपिनेछन । अहिले बालेन सरकारको कदमहरुलाई हेर्दा पुरानो दलहरुको बिरोधले लड्खडाएको हो कि जस्तो देखिन थालेकोछ । फेरि राष्ट्रिय स्वतंत्र पार्टी भित्र छिपिदै गरेको गुटबन्दीले पनि बालेन सरकारलाई निकट भविष्यमा नै झन अप्ठेरोमा पार्दै लाने संभावना छ । त्यो गुटबाट मंत्री बनेकाहरुले बालेन सरकारको पक्षमा खटेर काम गरेको पनि देखीरहेको छैन । उल्टै बालेन सरकार माथि आफ्नै नेताहरु बिरुद्ध जासुसी गरेको झुटो आरोपहरु बुनेकाछन । यसरी बालेन सरकार बलियो नहुने र पुरानो दलहरुका सरकार बनाउन र ढलाउन खप्पिस शीर्ष नेताहरुको हातमा सजिलै सिकार बन्ने देखिन्छ । पुराना दलका शीर्ष नेताहरुले ३६ बर्षे आफ्नो शासन कालमा लगभग ३६ वटा नै सरकारहरु ढालेर रिकर्ड बनाईसकेकाछन । २र३ बहुमत भएको बालेन सरकारलाई ढाल्न त्यति सजिलो त छैन तैपनि राष्ट्रिय स्वतंत्र पार्टी भित्रैबाट आफु बिरुद्ध भडकिन सक्ने आगोलाई भने सजिलै नियंत्रणमा लिन प्रधानमंत्री बालेनलाई सजिलो हुने छैन । बालेन सरकारले आफ्नो सत्ता बिरुद्ध भड्किन सक्ने संभावित आन्तरिक आक्रमणलाई अहिले देखि नै व्यवस्थापन गर्दै लैजानु पर्छ । शक्ति र सत्तालाई कन्सोलीडेसन गर्दै लगेर राजनीतिक शक्ति सञ्चय गर्न सकेमा आन्तरिक र बाहिय बिरोधलाई सजिलै निष्तेज बनाउन सकिनेछ । प्रधानमंत्री बालेनको इमान्दारिता र गैरभ्रष्ट चरित्रकै कारण बिरोधीहरु यतिबेला पीडित भएको हुँदा बिरोधीहरुको मुख्य आक्रमण बालेनको सोही शक्ति माथि नै हुनेछ । सीमानामा कडाई गर्नाले धेरै अपराधीहरुको रोजी रोटी बन्द भएकाछन । सीमनामा घर भएकाहरुको जागिर र कमाई भनेको नै समानहरुको सीमाना वारिपारि ओसार पसार गर्ने नै हो ।
यो बालेन सरकारको राम्रो काम भए पनि यसबाट पीडितहरुले सीमानामा बसेर सरकारी कामलाई बाँधा हाल्ने प्रयास गरी नै रहेकाछन । बालेन सरकारले तिनीहरुलाई रोजगारी वा अन्य व्यवसाय अपनाउन सहायात दिएर नै प्रेरित गर्नु पर्ने हुन्छ ।बालेन सरकारले यथास्थितिमा नेपाल राष्ट्रलाई चलाउने अभ्यास नगरी अरु नै प्रकारले नेपाल राष्ट्रलाई गतिशिल बनाउँदै लानु पर्ने हुन्छ । संघियता र गणतंत्रलाई बोक्दै हिड्ने हो भने राष्ट्रिय स्वतंत्र पार्टीको राजनीतिक यात्रा पनि पुरानो दलहरुको जस्तै अवस्थामा पुगेर टुंगिने छन । पुरानो दलहरु भन्दा फरक देखिनको लागि राजनितिक अभ्यास पनि फरक हुनु पर्छ । त्यसो गर्न सकिएन भने रास्वपालाई पुरानै दलको विल्ला लागेर राजनीतिक अस्तित्वहिनतामा विलय हुनुपर्नेछ । बालेन सरकारको भ्रष्टाचार र अपराध बिरोधी छबी र सुशासनको अभियानले पुरानो दलहरु भन्दा राष्ट्रिय स्वतंत्र पार्टी फरक भएको पुष्टी भईरहेकोछ । यदि यो पाटोलाई निकाली दिने हो पुरानो र नयाँ बिचको भिन्नता वाष्पिकरण भई वायुमण्डलमा उड्नेछ ।

