काठमाडौं । राजनीतिक दलको खोल ओढेर संगठन बनाएका कर्मचारी नेताहरु यतिबेला गुमनाम जस्तै भएका छन् । सरकारले पनि राजनीतिक दलका तत्कालीन कर्मचारी संघसंगठनका कार्यालयहरुमा ताला लगाइदिएपछि ती संगठनहरु ‘कुन चरी’ नामजस्तै भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको नाममा कर्मचारी संगठन खोलेर वर्षौंदेखि राज गर्दै आएका पूर्व कर्मचारी नेतादेखि बहालवाला कर्मचारी नेताहरु कहाँ छन् भन्ने अत्तोपत्तो छैन । बालेन सरकार बनेपछि कर्मचारी संगठनका नेताहरु तितरवितर भएसँगै कार्यालय भवनहरु पनि छिन्नभिन्न भएका छन् । एमाले निकट कर्मचारी संगठनको कार्यालयको गेट बन्द गरिएको छ भने नेकपा निकट कर्मचारी संगठनको कार्यालय रहेको भवनमा होटेल सञ्चालन गरिएको थियो । कर्मचारी संगठन बन्द भएपछि होटेल पनि बन्द गरिएको छ । त्यसैगरी नेपाली कांग्रेस निकट कर्मचारी युनियनको कार्यालय पनि बन्द गरिएको छ । त्यस्तै मधेशवादी दल निकट कर्मचारी संगठन पनि बन्द गरिएको छ ।
सरकारले कर्मचारी संगठनहरु खारेज गरिदिएपछि विभिन्न राजनीतिक दलमा आबद्ध भएर राजनीति गर्ने पूर्व र बहालवाला कर्मचारी नेताहरुको अनुहार अहिले कतै देखिँदैन । नेपाली कांग्रेस निकट कर्मचारी नेता उत्तम कटुवाल, जनक रावल र यज्ञ वली कुन कार्यालयमा कार्यरत छन् भनेर अन्य कर्मचारीहरुले भेउ पाउन सकेका छैनन् । त्यसैगरी नेकपा एमाले निकट कर्मचारी नेताहरु भवानी न्यौपाने दाहाल, रामचन्द्र अधिकारी (आरसी), रेवन्त गौतम र वामदेव वली पनि गुमनाम भएका छन् । एमाले निकट अन्य कर्मचारीहरुले खोजी गर्दा पनि उनीहरु सम्पर्कमा आउन सकेका छैनन् । त्यस्तै माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्मरदत्त भट्टलगायतका नेताहरु पनि बेपत्ता भएका छन् । मधेसी दलनिकट कर्मचारी संगठन भताभुङ्ग भएसँगै संगठन नेता र अन्य कर्मचारीहरु पनि नामनिसाना नै हराएको छ ।
सरकारले निजामती कर्मचारी संगठन खारेज गरिदिएपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, नेपाल बैंक, कृषि विकास बैंक, नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, नेपाल आयल निगम, नागरिक उड्डयन प्राधिकरण, बीमा प्राधिकरण, धितोपत्र बोर्डलगायतका संघसंस्थानहरुका कर्मचारी युनियनहरु खारेज भएका छन् । त्यसले गर्दा मन्त्रालयदेखि कुनै पनि संघ, संस्थानहरुमा दल निकट कर्मचारीहरुको संगठन निमिट्यान्न भएको छ ।
ती संघ, संगठनमा आबद्ध कर्मचारीहरु सबै सरकारको कब्जामा परेका छन् । कर्मचारी संगठनहरु सरकारको कब्जामा परेपछि राजनीतिक दलहरुको कर्मचारीभित्रको संगठन लथालिङ्ग भएको छ । त्यसले गर्दा पनि राजनीतिक दलहरु कमजोर बन्दै गएका छन् । हिजोका दिनमा माथि उल्लेखित संघ, संस्थानका कर्मचारीहरु दलहरुलाई निर्वाचन लगायत अप्ठ्यारोमा पर्दा सहयोग गर्दै आएका थिए । त्यहीं सहयोगको आधारमा दलहरुले सरकार बनाउने गर्दथे । आज तिनै कर्मचारी संघ, संगठनहरु छिन्नभिन्न भएपछि दलहरु दिनप्रतिदिन कमजोर बन्दै आएका छन् ।

