रामचन्द्र बस्नेत
बालेन सरकार बनेको ५ पुग्न लाग्दा पनि संसद र कुटनीतिक नियोगमा राम्रो सम्बन्ध कायम गर्न सकेका छैनन् । बालेन सरकारले संसदमा जवाफ नदिँदा ७८ दिनसम्म संसद स्थगित भएको थियो भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बोलेन्द्र शाहलाई संसदमा उपस्थित हुन आग्रह गरेपछि संसद सुरु भएको छ । तर, प्रधानमन्त्री शाहले संसदमा सांसदहरुको प्रश्नको उत्तर दिने नदिने कुनै निश्चित छैन । त्यसले गर्दा प्रधानमन्त्री शाह संसदबाट टाढिँदै गएका छन् । अर्कोतिर कुटनीतिक सम्वन्धलाई बलियो बनाउन पनि सकेका छैनन् ।
त्यसैगरी शुशिला कार्की नेतृत्वको तत्कालीन सरकारले विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाएको थियो । राजदूत खाली भएको देशहरुमा शुशिला कार्की नेतृत्वको सरकारले पनि राजदूत नियुक्ति गर्न सकेको थिएन । प्रतिनिधि सभाको निर्वाचन भएर सरकार बनेको ५ महिना पुग्दा पनि राजदूत नियुक्ति गर्न सकेको छैन । त्यसले गर्दा कुटनीतिक क्षेत्रमा यो सरकार असफल बन्दै गएको छ भने २१ वटा देशहरुमा राजदूत खाली भइरहेका छन् । त्यसले गर्दा रास्वपाको दुईतिहाई बहुमत हाराहारीको सरकारले न त जनतालाई राहत दिन सकेको छ न त कुटनीतिक क्षेत्रको सम्बन्ध सुदृढ गर्न सकेको छ । यी र यस्तै कारणले गर्दा बालेन सरकार दिनप्रतिदिन गिर्दै गएको छ ।
पूर्व प्रधानमन्त्रीहरुले विभिन्न सभा–सम्मेलनमा भाग लिने र सरकारका कुरा जनतामाझ पु¥याउँने गरेका थिए । रास्वपा सरकारका प्रधानमन्त्री बालेन्द्र शाह न त सभासम्मेलनमा जान्छन् न त संसद्मा नै प्रस्तुत हुन्छन् । हुँदाहुँदा प्रधानमन्त्री बालेन शाहले रक्षा मन्त्रालय सम्हालिइरहँदा भारतीय सेनाध्यक्ष जनरल धिरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने कार्यक्रममा समेत उपस्थित भएको पाइएन । प्रधानमन्त्री आफैले रक्षामन्त्रालय सम्हालेको कारण उनी उक्त कार्यक्रममा उपस्थित हुनुपर्ने थियो । तर, प्रधानमन्त्री शाह सो कार्यक्रममा उपस्थित नहुँदा छिमेकी मुलुक सामु आफ्नो कद घटाउने काम गरेका छन् । त्योसँगै नेपालसँग भारतको सम्बन्धमा चिसोपन आउन सक्ने देखिन्छ ।

