अनन्त बहादुर गुरुङ
नेकपा र एमाले बिच एकताको परिस्थिति बन्दै गएकोछ । पुरानो दलहरुले संसार कै उत्कृष्ट भन्दै गर्व गरेको नेपालको संबिधान २०७२ पुरानो दलहरुको लागि सञ्जीवनी बुटी साबित भएकोछ । पुराना दलहरुले आफै र आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई जागिर खुवाउन भनेर बनाएको नेपालको संबिधान २०७२ पुराना दलहरुको लागि उत्कृष्ट भएपनि नेपाली जनताको लागि ठुलो आर्थिक बोझ बनेकोछ । उक्त संबिधान अनुसारको शासकिय स्वरुपले गर्दा नेपाल राष्ट्रको सबै आम्दानीले पनि साधारण सरकारी खर्च धान्नै नसक्ने भएकोछ । नेपाल सरकारको अपुग साधारणसरकारी राष्ट्रिय खर्च पुराना दलहरुले बिदेशी र स्वदेशी राष्ट्रिय ऋण लिएर पुरा गर्दै आएकाथिए ।
पुराना दलहरुले यसरी ऋण गरीगरी देश चलाउँदै जाँदा राष्ट्रिय ऋणको भार बढाउँदै ३० खर्ब पुर्याएकाछन । नेपाल सरकारलाई कामकाजी बनाउनको लागि मात्रै पनि ऋण लिनु पर्ने अवस्थामा मुलुकलाई पुर्याउने पुराना दलहरुलाई नेपाली जनताले पछिल्लो आम निर्वाचनमा पत्तासाफ पारीदिएकाछन । अब त्यहि बाँकी बचेखुचेका शक्ति र सामार्थ्यलाई एकत्रित गर्दै अगाडि बढ्ने सोच एमाले र नेकपाले बनाएको बुझिन्छ । राष्ट्रिय स्वतंत्र पार्टीको अगाडि भुषुना समान देखिने पुरानो दलहरु त्यसै मेटिएर जानु भन्दा आपसमा एकता गरी शक्ति बढाएर सत्तापक्षको प्रतिकार गर्ने मनस्थिति बनाएको बुझिन्छ । परानो दलहरुले आफ्नो पार्टीको नाममा कम्युनिष्ट झुण्ड्याएको भएता पनि व्यवहार र आचरणमा त्यस्तो विलकुलै छैन ।
बिगत ३६ बर्ष देखि कुनै नै कुनै प्रकारले पुरानो दलहरु सत्तामा बस्दै आएकाछन । उहाँहरुको बोली र व्यवहारमा सत्ता लिप्साको साथ साथ पुँजीवादी आचरणले पनि सीमा नै नाघीसकेको अवस्था बनेको थियो । नामले घोर वामपंथी झै लाग्ने एमाले र नेकपा कामले व्यवहारले घोरदक्षिणपंथी भएको देखिदै आएका थिए । सम्यवाद र समाजवादको रटान नेपाली जनतालाई दिएर आफै भने घोरदक्षिण पंथि सुस्ख सयलमा रमाउँदै आएका थिए । आखिरमा जसरी महको लोभले मौरीहरु महमा नै लट्पटिएर मर्दछन त्यसरी नै नेपालका वामपंथी कम्युनिष्ट भनाउदा पुराना कम्यनिष्ट दलहरुका शीर्ष नेताहरु र अन्य नेताहरु भ्रष्टाचार र आर्थिक अपराधको सागरमा डुबेर कोही मरेकाछन भने कही मर्ने हालतमा पुगेकाछन । नेपालको राजनीति अहिले उलट पुलट भईसकेकोछ ।
पुराना दलका बृद्ध राजनीतिक नेतृत्वले अब कम्युनिष्ट राजनीतिलाई पार लगाउन सक्दैन । नेपालमा नाती पुस्ताको सरकार अर्थात जेन जी सरकार आईसकेको हुँदा अब पुरानो दलहरुका बृद्ध नेताहरुको लागि नेपालको राजनीति उपयुक्त छैन । जेन जी सरकार कुनै शिद्धान्त अनुसार बनेको छैन । यो त नेपाल राष्ट्रको नाती पुस्ताको नेतृत्व र सोच अनुसार बनेकोछ । पुरानो दलहरुको शीर्ष नेताहरु र अन्य नेताहरुले जेन जी सरकारलाई बुझ्नको निमिक्त आफ्नै घरका नाती नातीनीहरु सित कोचिङ क्लास लिनु पर्ने हुन्छ । सामान्य बुझ्नु पर्ने कुरा के हो भने पुरानो पुस्ताको सोच अनुसार अब नेपाल राष्ट्र चल्दैन । त्यसकारण बालेन सरकार पनि कुनै स्थापित साम्यवाद, समाजवाद र पुँजीवाद अनुसार चलेकोछैन ।
जेमा नेपाली जनताको आम सोचाई र सहमती छ त्यसैलाई नै जेन जी सरकारले आफ्नो मार्गदर्शन शिद्धान्त मान्दै आएकोछ । त्यहि भएको हुँदा जेन जी सरकारलाई नेपाली जनताको सरकार भनेर व्यख्या गर्ने गरिएकोछ । जेन जी सरकारको शिद्धान्त वा शंकल्प जे भने पनि त्यो सुशासन कायम गर्नु नै हो । पुराना दलहरु भ्रष्ट भएकाले उहाँहरु सत्तामा बस्न योग्य छैन भन्ने निर्णय नेपाली जनताले नै गरेका हुन । त्यसै गरी आर्थिक अपराधमा संलग्न व्यापारीहरु र व्यवसायीहरुलाई सघाउने पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुलाई पनि नेपाली जनताले मन पराएको छैन ।
त्यहि भएको हुँदा नेपाली जनताले अनुचित नाफाखोर व्यापारीहरु र व्यवसायीहरुलाई भौतिक कार्यबाही गरी सकेकाछन । साथै सरकारी कर छल्ने वा नतिर्ने व्यापारीहरु र व्यवसायीहरुलाई पनि नेपाली जनताले भौतिक कार्यबाही गरी सकेकाछन । तसर्थ गलत तरिकाले कमाई गर्नेहरुको दिन अब नेपालमा सकिएको मान्नु पर्छ । जेन जी सरकारले अब नेपालका भ्रष्टाचारीहरु नेताहरु अनिस्वार्थ समूहका व्यापारीहरु र व्यवसायीहरुलाई राजनीतिक नेतृत्व सित मिलेर आर्थिक अपराध गर्न दिने छैन । बालेन सरकारको सुशासन अभियानले आफ्नो अस्तित्व समाप्त हुने देखेर नै पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले जेन जी सरकारको खोईरो खन्दैछन । यदि बालेन सरकारको सुशासन अभियान यसरी नै सफल हुँदै जाने हो भने बिगतमा सत्ताको तर मारी बसेका पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले हातमा कचौरा बोकेर पशुपतिनाथको प्रांगनमा भिख माग्नु पर्नै आवस्था छिटै प्रारम्भ हुनेछ । नेपाल राष्ट्र पुरानो दलहरुको मात्रै नभएर सम्पूर्ण नेपाली जनताको पनि हो ।
त्यसकारण मुठीभरका पुरानो दलका नेताहरुले नेपाल राष्ट्र र नेपाली जनताको भविष्यलाई नै तहसनहस हुने गरी भ्रष्टाचार र आर्थिक अपराध गर्नु गलत हो । पुरानो दलहरुको त्यहि मनोमानीलाई रोक्न कै निमिक्त जेन जी युवाहरुले आफ्नो मास वलीदान चढाएका थिए । अब पनि यदि नेपालमा पुरानै अवस्था आउने हो भने जेन जी सहिदहरुको ठुलो अपमान भएको मानिनेछ । नेपालमा अब त्यो अवस्था आउन वा पुग्न दिनबाट रोक्ने काम बालेन सरकारको नै हो । जेन जीको बिरोध गर्नेहरु माथि बालने सरकारले कुनै नरमी वा सहानुभूति देखाउनु हुँदैन । निर्मम भएर कडा कार्यबाही गर्नै पर्छ र सुशासनको कार्यान्वयन इमान्दारी पूर्वक भएको वा गरिएको पुष्टी हुनुपर्छ । एमाले र नेकपा बिचको एकताको उद्देश्य के हो रु भन्नको लागि नेपालको संबिधान २०७२ को रक्षा गर्नको लागि भनिएकोछ । साथै संघियता र गणंत्रको रक्षार्थ भनिएकोछ । तर यस्तो के राजनीतिक परिवर्तन नेपालमा आयो जसले गर्दा दुई पुराना राजनीतिक दलहरु नेकपा र एमालेको बिच एकता गर्नु पर्ने परिस्थिति निर्माण भयो ।
यसो त राष्ट्रिय स्वतंत्र पार्टीको बालेन सरकार पनि सोही संबिधान अनुसार नै लगभग दुईतिहाई बहुमतको साथ चुनाव जितेर नै बनेको हो । तसर्थ बालेन सरकारबाट नेपालको संबिधान २०७२ लाई कुनै खतरा छैन । संसोधानको खतरा भए पनि त्यो सबैधानिक मार्ग अपनाएर नै हुने गरिने भएकाले त्यसबाट पुरानो दलहरु त्रसित हुन जरुरी छैन । उक्त दुई दलहरुको एकता पछाडि नेपालको राजनीतिमा केहि प्रभाव बढ्ने भएपनि फरक नै पार्ने गरी सत्ता पक्षलाई दबाब बढाउन सकिने छैन । उक्त दुई दलहरु र नेपाली काँग्रेसले राष्ट्रिय सभामा हाल कायम रहेको बर्चश्वलाई केहि हद सम्म टिकाउने भूमिका भन्ने खेल्न सक्नेछ । स्थानिय चुनाव पछाडि त्यसको परिणामले गर्दा राष्ट्रिय सभामा थपघट पक्कै हुने भएकाले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ तर नेपाली काँग्रेस एकताको हिस्सा नभएको हुँदा एमाले र नेकपा बिचको एकताको पछि नलागि यथार्थ राजनीतिक धरातललाई महत्व दिने संभावना रहेकोछ ।
आन्दोलन गर्नको लागि एकता गरिएको हो भने त्यो सफल हुन सक्दैन किनकि जेन जी सरकार कुनै बैशाकीमा टिकेको सरकार होइन । आफ्नै मजबुत लगभग दुईतिहाई बहुमतमा बनेको बालेन सरकारलाई कसै गरे पनि ढाल्न सकिने अवस्था छैन । पुरानो दलहरु भित्र झगडा चलीरहेको छ भने राष्ट्रिय स्वतंत्र दल भित्र वैचारिक विवाद भएपनि पार्टी नै फुटाउने सम्मको संघर्ष उत्पन्न भएको छैन । रास्वपाको साँसदहरु आफैलाई नेपाली जनताको शासक नभएर सेवक ठान्छन । सबै ५ बर्षे कार्यकालको लागि चुनाव जितेर आएको कुरामा सचेत भएको हुँदा ५ बर्ष पुरा नगरी बिचमा नै सरकार ढाल्ने र आम चुनाव गराउने पक्षमा रहेकाछैनन् । यसो गर्दा रास्वपाको साँसदहरु आफै बदनाम हुने मात्र होइन सुशासनको अभियानलाई पनि धक्का पुग्ने कुरामा सबै साँसदहरु सतर्कछन । यस सम्बन्धमा रास्वपाको सभापति राबि लामिछाने सचेत भएको हुनाले पार्टी भित्रको विवादलाई व्यवस्थपन गर्न लागिपरेकाछन ।
एमाले, नेकपा र नेका दलहरु भित्र चुनाव हारे पछाडि रडाको मचिएकोछ । पुरानो दलहरु भित्र बृद्ध नेतृत्वलाई बदल्ने संघर्ष चर्किएकोछ । नाती पुस्ताको युवापिढीलाई नेतृत्वमा ल्याउनु पर्छ भन्ने परिवर्तनको सोच सबै पुरानो दलहरु भित्र पनि व्यप्त भएकाछन । यस्तो अवस्था आएपछि पुराना दलहरुका बृद्ध नेतृत्वले आफ्नो अस्तित्व बचाई राख्नको निमिक्त एमाले र नेकपा पार्टीहरु बिच एकता गर्ने कसरत गरेकाछन । तर यस्तो एकता उहिले पनि भएको थियो र त्यो विपत् बनेर समाप्त भएको थियो । कहिले एमाले र कहिले नेपाली काँग्रेसलाई सत्ताको साझेदार बनाएर मह काढ्न पल्केका प्रचण्ड हाल एमाले र नेकपाको एकताको पहल गरी रहेकाछन । यसो सरसरी हेर्दा यो एकता अब सत्ता प्रप्तिको लागि नभएर कम्युनिष्टको बीउ जोगाउने तिर केन्द्रित अस्तित्वको जगेर्ना गर्ने संघर्ष जस्तो देखिएकोछ । उमेरले डाँडा काटी सकेका बृद्ध नेताहरुले यस्तो एकता पार लगाउन सक्छ जस्तो कदापि लाग्दैन( सत्ता प्राप्ति गर्ने त धेरै टाढाको कुरा हो ।
बृद्ध नेताहरुको आँखा कमजोर भएर कम देख्ने, कान कमजोर भएर कम सुन्ने र यादास्त कमजोर भएर संझना नहुने जस्ता समस्याले ग्रसित हुँदै गएकाछन तर पनि नयाँ नेतृत्वलाई पार्टी नेतृत्व गर्न गराउन उहाँहरु तयार भएका छैनन् । जसरी पनि आफैले पार्टी नेतृत्व गरी सत्तामा पुग्ने सपना बाँड्दै हिडेकाछन । यसरी भीरमा जाने गाईलाई राम भन्न सकिए पनि काँध नै थापेर बचाउन भने सकिन्न । पुरानो दलहरुको हालत यसरी नाजुक भएको बेलामा नेपाली जनताको आशीर्वादले बलवान भएको राष्ट्रिय स्वतंत्र पार्टीको सरकार बालेन सरकारलाई ढालेर सडकमा घिसार्ने कुराको संभावना नै छैन । बालेन सरकारको भुत्ला मात्रै झार्न सकेपनि पुरानो दलहरुको लागि ठुलै उपलव्धि मानिनेछ ।


