काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेडले ठुलो आर्थिक फड्को पारेको छ । त्यसले गर्दा नेपालकै उच्च बैंक बन्न पुगेको छ । कात्तिक ३० गते ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव आयोजना गरेको थियो । बैंकको प्रधान कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथि रहेका थिए । समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले बैंकका डिजिटल कर्जा सेवा ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टलको शुभारम्भ गरेका थिए । यी सेवामार्फत उत्पादनशील क्षेत्र, कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा साना र मझौला उद्यममा कर्जा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवद्र्धन गर्ने बैंकको लक्ष्य रहेको छ ।
बैंकले आगामी दिनमा कर्जाको गुणस्तर सुधार, जोखिम व्यवस्थापन, संस्थागत सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकता दिने जनाएको छ । साथै डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण, साइबर सुरक्षा तथा तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिने बताएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारी जानेहरुलाई औपचारिक वित्तीय प्रणालीमा जोड्ने योजना अघि सारेको छ।
हाल नेपाल बैंकको देशभर २३० वटा शाखा रहेका छन् । २५० वटा एटीएम तथा ५७ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । नेपाल बैंकको सञ्जालबाट बैंकले २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधि र सेवासुविधामार्फत प्रतिस्पर्धी बैंकका रूपमा आफूलाई स्थापित गरेको छ । बैंकले डिजिटल सेवाको विस्तारलाई समेत प्राथमिकताका साथ राखेको छ ।

