काठमाडौं । भूमि तथा सहकारी गरिबी मन्त्रालयले कर्मचारी सरुवा गरेतापनि कर्मचारीहरुको व्यवस्थापन गर्न सकेको छैन । कतिपय कर्मचारीहरु मालपोत र नापी कार्यालयमा जानको लागि बिचांैलिया प्रयोग गरेर जाने गर्दछन् । भूमि तथा अभिलेख विभागले पनि कतिपय कर्मचारीहरु मालपोत र नापी कार्यालयमा सरुवा गरेबापत आर्थिक लाभ लिँदै आएकै छ ।
त्यसमा पनि आमदानी हुने मालपोत र नापीका कर्मचारीबाट आर्थिक लाभ लिएको मात्रै छैन तिनै आर्थिक लाभ हुने अड्डामा कर्मचारी सरुवा गरेर विभागका कतिपय महा–निर्देशकहरुले आफ्नो दुनो सोझ्याउँदै आएका छन् । अहिले भूमि तथा अभिलेख विभागमा विगत चार, पाँच महिना अघिदेखि ५८ जना नासुहरुको पदस्थापना गर्न सकेका छैनन् । ति ५८ जना नासुहरुले तलब, भत्ता समेत खान पाएका छैनन् । तलब, भत्ता नपाएसँगै काम नपाएर बसिरहेका छन् ।
नासुहरुलाई व्यवस्थापन गर्न नसकेको कारण भूमि तथा अभिलेख विभाग बदनाम हुँदै गएको छ । कतिपय उप–सचिव, शाखा–अधिकृत, नासुहरु भने मालपोत कार्यालयमा बसेर आर्थिक लाभ लिई रहेका छन् । खासगरी आर्थिक लाभ लिने कार्यालयका कर्मचारीहरुले माथिदेखि तलसम्म सेटिङ् मिलाएर वर्षौं वर्ष एउटै कार्यालयमा बस्न सफल भएका छन् । अहिले चावाहिल, साँखु, मनमैजु, टोखा, कलंकी जस्ता मालपोत र नापीमा बस्ने कर्मचारीहरुको हालीमुहाली चलिरहेको छ ।
त्यस्ता कर्मचारीहरु प्रति न, त भूमि तथा सहकारी गरिबी मन्त्रालयले ध्यन दिएको छ, न, त अभिलेख विभागले नै । मालपोत र नापी कार्यालयमा भूमाफिया र बिचौंलियाहरुको सेटिङ् चलि नै रहेको छ । यिनै भूमाफिया र बिचौंलियाहरुले मालपोत प्रमुख र नापी प्रमुखदेखि मुद्दा फाटका कर्मचारीहरुलाई शुक्रबारको दिन पारि सोमरसदेखि विभिन्न मनोरञ्जन गराउनको लागि नगरकोटदेखि रसुवा, चित्लाङ् र भट्टेडाँडा, नौबिसे एरियामा खोलेका रिसोर्टहरुमा राखेर बिचौंलिया र भूमाफियाहरुले घर–जग्गाको कारोबार गर्ने गरेको श्रोतको भनाइ रहेको छ ।
तर, पहिलाको जस्तो घर, जग्गाको कारोबार घटेपछि भूमाफिया र कर्मचारीहरुको ओठ–तालु नै सुक्न थालेको छ । कतिपय जग्गा प्लटिङ् गर्नेहरुले आफुले गरेको प्लटिङ्को जग्गा बिक्रि वितरण नभएपछि तिनै भूमाफिया र बिचौंलियालाई प्रयोग गरेर जग्गा बिक्रि वितरण गर्न लगाउने गरेका छन् । जग्गा बिक्रि,वितरण गर्दा राज्यलाई लाभ–कर छल्लेसम्मको कामहुँदै आएको छ । तर, सरकारको सम्बन्धित निकायले त्यतातिर ध्यान दिन सकेको छैन ।

