ananta gurung

भागबण्डा गरी गरी देश लुट्नेहरु

राजनीति लेख

नेपाली जनताको लागि नेपाली काँग्रेस, एमाले र एमाओवादीहरुका बिचको फरक चाल पाउन निकै कठिन भएकोछ । उक्त तीन राजनीतिक दलहरु हेर्दा उस्तै उस्तै देखिन्छन् । तिनीहरु सबैको अर्थिक विकास नीति पनि नवउदारवादी स्वातन्त्र बजार अर्थतन्त्र नै हो । एमाले र एमाओवादी दलहरु नामको मात्रै कम्युनिष्ट पार्टी भएकाले नेपाली काँग्रेसले नेपालमा लागु गरेको पुँजीवादी सिद्धान्त र नीतिलाई नै आफ्नो पनि शिद्धान्त र नीतिको रुपमा अपनाएका छन् । नेपाली काँग्रेसले नेपालमा लागुगरेको वैदेशिक रोजगारी नीतिलाई नै आफ्नो पनि रोजगार नीति बनाएका छन् ।

नेपाली काँग्रेसले मास्दै लगेको सरकारी उद्योगहरुलाई रोक्ने तिर पनि एमाले र एमाओवादीले कुनै कदम उठाएका छैनन् । नेपाली काँग्रेसको उद्योगधन्दाहरु निजीकरण गरी मास्दै लाने नीतिलाई एमाले र एमाओवादीहरुले बिरोध जनाएका छैनन् । नेपाली काँग्रेसले निजीकरणको लागि प्रस्ताव गरेका केहि उद्योगहरुलाई भने एमाओवादीको नेतृत्वमा बनेको प्रचण्ड सरकारले पुर्नसञ्चालनमा ल्याउने प्रयास थालिएको थियो । तर प्रचण्ड सरकार सत्तबाट हटेपछि त्यसको संभावना पनि रोकिएको वा सकिएको छ । त्यहि समयमा वैज्ञानिक महावीर पुनले प्रचण्ड सरकार कै अनुमति लिएर थालेको बिरगंज कृषि औजार कारखानाको मर्मत र सञ्चालनले भने गति लिएकोछ ।

त्यसपछि बनेको ओली–देउवा सरकारले कुनै सहयोग नगरेको भएपनि आफ्नो किताव बेचेर नै अभियान्ता वैज्ञानिक महावीर पुनले १७ करोड भन्दा बढी लगानी जुटाएर उक्त कारखानालाई पुनरसञ्चालनमा ल्याउन लगभग सफल भएका छन् । उक्त कारखानामा जडान भएका मेसिनहरु सोभियत संघ कालिन भएकाले उत्पादन बढाउनको लागि अटोमेसन प्रणाली जडान गरी स्वाचालित बनाउन सकिन्छ ।

सरकारी उद्योगहरु ध्वस्त पारेर निजी उद्योगहरु विकास गर्ने होइन । सरकारी उद्योगहरुलाई बलियो बनाएर नै निजी उद्योगहरुको विकास गर्न सकिन्छ । सार्वजनिक सरकारी उद्योगहरु र निजी उद्योगहरुका बिच प्रतिस्पर्धा गराएर नै नेपालका उद्योग विकासको क्षेत्रलाई उत्कृष्ठ बनाउन सकिन्छ । अमेरिकामा पनि महत्वपूर्ण रक्षा सित सम्बन्धिन उद्योगहरु सबै सरकारी नै हुन्छन ।

नेपालमा दलहरुले कुरा नबुझ्दा चलेका नामी सरकारी उद्योगहरुलाई पनि दिवालिया पल्टाउने नराम्रो कामहरु भएका छन् । नुन जस्तो महत्वपूर्ण मानव जीवनको लागि नभईनहुने पदार्थको व्यापार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन जस्तो संस्थाको एकाधिकार पनि खोसेर स्वार्थ समूह भित्र पर्ने माडवाडी व्यापारीको समूहलाई व्यापार गर्न दिने काम समेत ओली–देउवा सरकारले गरेको छ । स्वार्थ समूहका हितमात्रै हेर्ने ओली–देउवा सरकारले नेपालको सरकारी उद्योगहरुलाई सोही समूहको निर्देशन अनुसार नै निजीकरण गर्ने प्रयास थालेका छन् ।

एउटा सार्वजनिक उद्योगलाई पनि राम्रो सित चलाउन नसक्ने ओली–देउवा सरकारले नेपाल राष्ट्रलाई चलायमान बनाउन सक्दैन । ई–सेवाका मालिक अस्गर अलीलाई आफनो आईटी सल्लाहकार बनाएर बसेका एमालेका शीर्ष नेता प्रधानमंत्री ओलीले अस्गर अलीले नै लेखी दिएको भाषण अंग्रेजीमा खुबै तुर्कमेनिस्तानमा पुगेर फलाकेका छन । बुझ्नु न सुझ्नु तुलीगाँडा पुज्नु भनेको जस्तो नबुझी फलाकेको भाषणले ८ क्लास पास प्रधानमंत्री ओलीको चरित्र उदाङ्गो पारीदिएकोछ ।

नेपालको गाईजात्रा तुर्कमेनिस्तानमा मनाएको झै नेपाली जनताले प्रधानमंत्री ओलीको भाषण सुनेपछि महसुस गरीरहेका छन् । भाषण सुने पछि ओली र अलीको जोडी खुबै जमेको वा मिलेको झै नेपाली जनताले बुझेका छन् । कुन दलको सरकार अहिले सत्तामा रहेको छ भनी चिनाउने उसको आर्थिक विकास नीतिले नै हो । नेपालमा नेका, एमाले र एमाओवादी जुन सुकै दल सत्तामा भएपनि अर्थिक विकास नीति नवउदारवादी स्वतन्त्र बजार अर्थतन्त्र आर्थिक विकास नीति नै हो । लेखाई र प्रश्तुती तल माथि गरेर फरक आर्थिक विकास नीति हुन सक्दैन । समग्रमा आर्थिक विकास नीतिकोको गुदी तत्व के हो भन्ने कुराले नै सबै भन्दा बढी महत्व राखेको हुन्छ । नेकालाई हेर्दा पनि उस्तै अनुहार, एमालेलाई हेर्दा पनि उस्तै अनुहार अनि एमाओवादीलाई हेर्दा पनि उस्तै अनुहार भएको देखीसके पछि नेपाली जनता दलहरु देखि रणभुल्लमा परेका छन् ।

वास्तवमा दलहरु एउटै बाबु र आमाको सन्तान तिम्ल्याह भएको कुरा बल्ल ३६ बर्ष पछाडि नेपाली जनताले बुझ्न सफल भएका छन् । एकै बाबु र आमाबाट जन्मे भएकाले तीन दलहरुका बिच शिद्धान्त र नीति लेखाईमा फरक देखिए पनि व्यवहारमा समानता रहेको छ र कुनै फरक देखाउन सकिन्न । त्यहि भएको हुनाले दलहरुले आपसम मिलोमतो गरी भागबण्डा मिलाएर राज्यको पद, पावर र आर्थिक स्रोतहरु बाँडीचुँडी खाने गरेका छन् । आम नेपाली जनता दलहरु बिचका आपसी प्रेम र आपसी हितलाई हेरी बाँडीचुँडी भागबण्डा मिलाएर खाएको देख्दा जिलखाएका छन् ।

चुनावको बेलामा आफसमा ढुंगामुडा गरी लड्ने दलहरु चुनाव जितेर सत्तामा साँसदहरुको गन्ती मिलाएर पुग्न साथै राज्यशक्तिको भागबण्डा मिलाएर नेपाल राष्ट्रलाई जति सक्छ उति लुट्ने प्रतिश्प्रधा गर्दैछन । बितेको ३६ बर्ष दलहरुले त्यसरी नै बिताएका छन र अब पनि त्यसरी नै नेपाली जनताको आँखामा छारो हल्दै बिताउने प्रयास गर्दैछन । तर नेपाली जनताले दलहरुको षडयंत्रलाई बिस्तारै बुझ्दै गएको हुँदा बिरोध जनाउन थालेका छन् ।

तत्कालिन राजाका बिरुद्ध दलहरुले फैलाएका भ्रमहरु सबै झुटो निस्केकाले तत्कालिन राजा निर्दोश भएको सबै नेपाली जनताले चाल पाएकछन । हुँदा हुँदा नरायाणहिटी राजदरवारको राजपरिवार हत्याकाण्ड पनि दलहरुले नै बिदेशी एजेण्ट सित मिलेर घटाएको कुरा अहिले सार्वजनिक भईसकेको छ । नेपाली जनताले त्यतिबेला दलहरुले फैलाएको भ्रममा परी राजतन्त्रको बिरोध गरेकोमा अहिले पश्ताप गरीरहेका छन् । दलहरुले आम नेपाली जनतालाई राजतन्त्र बिरोधी मात्र होइन धर्म बिरोधी समेत बनाएका थिए । अब दलहरुले टाँगेको सबै भ्रमजालहरु फाटी सकेको हुँदा नेपाली जनतालाई आफुले बिगतमा ठुलो गल्ती गरेको कुरा महसुस भइरहेकोछ ।

त्यसकारण उक्त भुलको भर्ना स्वरुप नेपाली जनताले राजतन्त्रलाई सत्तामा वापस ल्याएर निसाफ गर्न चाहेका छन् । त्यसै गरी दलहरुले नेपाली जनतालाई ईसाइ बनाउनको निमिक्त वैदिक सनातनी हिन्दू धर्मलाई ले अरु बिदेशी धर्महरु सरह बनाएकोमा अब त्यसलाई उल्टाएर भए पनि नेपाल राष्ट्रलाई वैदिक सनातनी हिन्दूधर्म राष्ट्रमा नै परिणत गर्ने जोडबल लगाईरहेका छन् । दलहरु खासगरी तीन प्रमुख दलहरु बिदेशीको एजेण्टको रुपमा नेपालमा काम गर्दै आएको हुनाले नेपाल राष्ट्र र नेपाली जनताको इतिहास र धर्म दुबैलाई मेटाउने प्रयास गरेका थिए र अझ पनि गर्दैछन ।

नेपाली जनताले नेपाल राष्ट्रको अस्तित्वलाई नै दलहरुले संकटमा पार्दै लगेको देखीसकेपछि राजतन्त्र चाहिने रहेछ भन्ने सत्य वास्तविकता बुझेको हुँदा ‘राजा आउ देश बचाउ’ भन्दै आफैले १७ बर्ष पहिले हेला गरी फालेको राजालाई गुहार्दैछन । अहिले नेपालमा जे जति नराम्रा कामहरु भईरहेको वा भएका छन् त्यो सबैलाई नेका, एमाले र एमाओवादीले आफ्नो राजनीतिक उपलव्धि ठान्छन ।

त्यसैले सोही उपलव्धिको रक्षा गर्ने भन्दा नेपाली जनतालाई सडकमा उत्रेर बिरोध गर्नको लागि आह्वान गर्दैछन । तर नेपालमा समयले कोल्टे फेरिसकेको हुँदा नेपाली जनता नेपाल राष्ट्रको अस्तित्वको रक्षा दलहरुबाट हुन नसक्ने भन्दै राजतन्त्रलाई नै सोजिम्मेवारी लिनको लागि वापस फर्काउने प्रयास थालेका छन् ।

राजाले पनि नेपाली जनताको आग्रहलाई हुन्न भन्न नसकी साथ दिने बचनबद्धता जनाईसकेका छन । अहिले दलहरु वास्तवमा नेपाली जनताको लागि घाँडो जस्तो भएका छन् । दलहरुले संबिधान संसोधन गर्छु मात्रै भन्छन तर गर्दैनन् । त्यसरी नै सुशानको प्रतिबद्धता बारम्बार जनाउँछन तर व्यावहारिक रुपमा त्यसलाई अपनाईरहेका छैनन् । सबै भन्दा नराम्रो त के छ भने तीनै दलहरु उस्तै उस्तै भएको हुँदा नेपाली जनता निरन्तर भ्रम परिरहेका छन् ।

नेपाली काँग्रेस, एमाले र एमाओवादी अहिले राजनीतिको व्यापारी जस्तै भएका छन् । भन्दा खेरी आफैलाई कम्युनिष्ट ब्राण्ड भने पनि व्यावहारमा एमाले र एमाओवादी घोरदक्षिणपंथी पुजँजीवादी राजनीतिक दलको रुपमा प्रस्तुत हुँदै आएका छन् । एमाले र एमाओवादीको त्यस्तो राजनीतिक बिचलनले गर्दै असली पुँजीवादी दल नेपाली काँग्रेसको समेत लाजले मुख रातो भएको प्रष्टै देखिन्छ । पुँजीवादी नै बन्ने हो वा बन्न खोज्ने हो भने सिधै नेपाली काँग्रेसमा लाग्दा हुन्छ ।

पहिले कम्युनिष्ट हौं भनेर नेपाली जनताको भोट लिने अनि सत्तामा पुगेपछी घोरदक्षिणपंथी पुँजीवादी पार्टी बनेर निस्किनु जायज कुरा नभएर नेपाली जनतालाई धोका दिने काम मात्रै हो । भागबण्डा गरी गरी देश लुट्नेहरु अरु कोही नभएर तीन ठुला राजानीतिक दलहरु नेपाली काँग्रेस, एमाले र एमाओवादीहरु नै हुन । देश बनाउने कसम खाएकाहरुले नै आज देश लुटीरहेकाले नेपाली जनता निरास र हतास भएर तिनीहरु माथि अंकुश लगाउन र कानुनी कारबाही चलाउन नेपाली जनताले १७ बर्ष अघि नेपालको राजाकिय सत्ता दलहरुलाई बुझाईसकेका राजालाई नै गुहार मागीरहेका छन् ।

दलहरुको अराजकता, भ्रष्टाचारका काण्डहरु र अपराधीक गतिविधिहरुले सीमा नाघीसकेको हुँदा नेपाल राष्ट्रको अस्तित्व माथि नै अहिले संकट उत्पन्न भएको छ । आर्थिक हिनामिना र अराजकताले एकातिर राष्ट्रिय ऋण नेपाली जनताले बोक्नै नसक्ने गरी बढाएको छ भने अर्को तिर अर्थिक संकट र महंगी बढाएर नेपाली जनताको लागि नेपालमा नै दैनिक जीविकाको लागि काम गरी कमाउन नै महाकठिन भएको छ ।

सत्तामा बसेका दलका नेताहरु मेहनत नै नगरी देश लुटेर नै हावामा धनी हुने क्रम बढेको छ भने मेहनत गरी कमाएर खाने नेपाली जनताको लागि एकातिर स्वदेशमा नै रोजगारी पाएका छैनन् भने अर्का तिर पाएका रोजगरीको कमाईले दैनिक जीविका नै नचल्ने भएकोछ । यस्तो अवस्थालाई बदल्न अब नेपाली जनताले दलहरुले ल्याएको संघियता र गणतान्त्रिक राजनीतिक व्यवस्थालाई नै बदल्नु पर्ने महसुस गरी विकल्पको रुपमा पुरानो राजतन्त्रलाई नै फर्काउने अठोट गरेका छन् ।

दलहरुले गरेको विकास यथार्थमा विकास नभएर नेपाल राष्ट्रको बिनास नै हो । बिदेशी ऋण लिएर त्यसलाई विकासमा लगानी गरेको बहानाबाजी गर्दै त्यसमा भ्रष्टाचार गरी अकुत कमाउने माध्यम बनाएका छन् । स्वार्थ समूहको चंगुलमा परेका ओली–देउवा सरकार अर्थात दलहरुको सरकार नेपाली जनताको लागि भारी बनिरहेको हुँदा त्यस्तो अवस्थालाई बदल्न नित्यान्त जरुरी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *