संघीयमा सचिव चन्द्रकलाको चल्तिफूर्ती

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्माले कर्मचारीहरुलाई ट्रयाकमा ल्याएकी छिन्, । पारदर्शी ढङ्गले सरुवाको काम गर्दा गर्दै महिला मन्त्री र सचिवबाटै पेलानमा परेर उनी मधेश प्रदेश धपाइएकी छिन् । उनै पार्वतीको बर्हिगमन पछि कर्मचारी सरुवामा सामान्य प्रशासन फेरि बदनाम हुन थालेको छ ।

सचिव चन्द्रकला पौडेलले आफूसँग जोडिएका कर्मचारीमात्र होइन तिनका श्रीमान्हरुको समेत कसरी प्रोटेक्सन गर्दछिन् भन्ने एउटा उदाहरण भेटिएको छ । कावा निर्वाचन आयुक्तले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाललाई एक जना उपसचिवलाई आयोगबाट सरुवा गरिदिन आग्रह गरे तर सचिव चन्द्रकलाले आफूसँगै ती उपसचिवको पत्नीले काम गरेको कारण मन्त्री र कावा निर्वाचन आयुक्तको आग्रह समेत लत्याइदिइन् । दिनेश थपलिया निर्वाचन आयोगमा हुँदा उनैले रोजेर लगेका उपसचिव हुन, कमल ज्ञवाली । जो निर्वाचन सामग्री खरिद प्रक्रियामा विवादित बनेका पात्र थिए ।

निर्वाचन आयोगका सबै खरिद प्रक्रियामा संलग्न ज्ञवाली नै हर्ताकर्ता थिए । तत्कालीन प्रमुख निर्वाचन आयुक्त थपलिया र उनकै भेगका आयुक्त इश्वरी पौडेलले साथ पाएर निर्वाचन आयोगमा प्रवेश भएका थिए । यस अघि उनी मध्यपुर ठिमी, सूर्यविनायक जस्ता स्थानीय तहमा बसेका कर्मचारी हुन । उनी विगतमा उत्कृष्ट निजामती पुरस्कार थापेर विवादित भएका सचिव सूर्य गौतमका आफन्त पर्दछन् । गौतम र ज्ञवालीले दिदीबहिनी विवाह गरेका हुन् । उनीहरुबीच साथीको जस्तो सम्बन्ध रहिआएको छ । उपसचिव ज्ञवाली सधैं आकर्षक कार्यालयमा बसी तर मार्ने कर्मचारीका रुपमा चिनिन्छन् ।

प्रमुख आयुक्त दिनेश थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा ज्ञवाली मध्यपुर थिमीदेखि सूर्यबिनायक नगरपालिकामा कार्यरत थिए । निजामती सेवा ऐन अनुसार २ बर्षमा कर्मचारीको सरुवा हुने गर्दछ । तर सूर्यबिनायक नगरपालिकाबाट कमल ज्ञवालीको सरुवा ३ बर्षसम्म रजगज गरे । सूर्यविनायकभन्दा पहिला मध्यपुर थिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए ।

उनै उपसचिवले निर्वाचन आयोगलाई असहयोग गरेर विवादित काम गरे भन्दै कावा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तत्कालीन मन्त्री रामेश्वर खनाललाई त्यहाँबाट सरुवा गरिदिन आग्रह गरेको भएता पनि चन्द्रकलाले कमललाई त्यहाँबाट निकाल्न मानिनन् । कारण चन्द्रकला र कमल ज्ञवालीको श्रीमती कुनै समय राजश्वमै काम गरेका कर्मचारी हुन । त्यही कारण कमलको सरुवा होल्ड हुँदै आएको छ । उसो त यो मात्र होइन,अर्की एक उपसचिवको सरुवालाई हेर्दा पनि संघीय मामिला मन्त्रालय र त्यहाँबाट हुने सरुवा कसरी चलिरहेको छ भन्ने पृष्टि हुन्छ ।

२०६५ मंसिर २६ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नवलपरासीबाट कम्प्युटर अपरेटरका रूपमा निजामती सेवामा प्रवेश गरेकी रमिला भण्डारीले सरुवा उल्टाएर प्रधानमन्त्री कार्यालय पुग्न सफल भएकी थिइन् । २०६६ चैत १९ गते प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी उनी २०७८ चैत ४ गते उपसचिवमा नियुक्त भएकी भण्डारी २०७८ चैत १२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन भएकी थिइन् । २०७९ भदौ ५ गते उद्योग विभाग पुगेकी उनी २०८० फागुन १४ गते पुनः मन्त्रालयमै फर्किएकी थिइन् । त्यसपछि उनले मन्त्रालय भित्रै योजना, प्रशासन तथा वैदेशिक लगानी तथा बौद्धिक सम्पत्ति शाखामा काम गरेकी थिइन् ।

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले योजनाबाट प्रशासनमा सार्दै केही महिनामै पुनः वैदेशिक शाखातर्फ फर्काएका थिए । २०८२ भदौ १२ मा उनको स्थानीय तहमा सरुवा गरिएको थियो । सो समयमा सामान्य प्रशासन मन्त्रालयले एक सय २२ जना उपसचिवको सरुवा गरेको थियो । सोही सरुवाको सूचीमा थिइन,रमिला भण्डारी । भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मुसिकोट नगरपालिका, गुल्मीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको थियो तर रमिलाले सरुवा बदर गराएर तत्कालीन मन्त्री अनिलकुमार सिन्हाको सचिवालयमा आफ्नो सरुवा मिलाइन ।

मन्त्री सिन्हा हटेसँगै उनलाई स्थानीय तहमा खटाइएको थियो । तर तिनै रमिलालाई स्थानीय तह नगइ पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरुवालाई निष्पक्ष बनाउने रटान लगाई रहँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेकी उनैले स्थानीयमा सरुवा भएर पनि अटेर गरी संघमै बसेर लाभ लिइरहेकी भण्डारीलाई पुनः संरक्षण गरेको स्पष्ट देखिएको मन्त्रालय स्रोत बताउँछ ।

उपसचिव भण्डारीलाई २०८२ चैत २६ गतको निर्णयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । एकल निर्णयबाट भएको उनको सरुवा २०८३ वैशाख १७ गते मात्रै सार्वजनिक गरिएको थियो । यी दुई निर्णयबाटै सामान्यको सरुवामा निष्पक्षता कायम गर्ने तथा सेवा प्रवाहमा सुशासन नारामा मात्र सीमित भएको प्रष्ट हुन्छ । उसो त पछिल्लो समय संघीय मामिला सचिव चन्द्रकलाले आफ्ना जिल्लाबासी स्याङ्गजाली,नातेदारहरु च्याप्दै आएकी छिन् । तिनै नातेदारहरुले सामान्य प्रशासन मन्त्रालय भरेको बिषयले समेत सचिव नेपोटिज्ममा रमाएको आरोप लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *