रामचन्द्र बस्नेत
नेपालका कम्युनिस्ट पार्टीहरु छिन्नभिन्न हुँदा लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने भएपछि फेरि वामएकताको संकेत देखिएको छ । वामएकताको बाटो नेपाली कांग्रेसका सभापति गगन थापाले खोलिदिएका छन् । किन कि कांग्रेसले प्रदेश सरकारबाट हात नझिकेको भए एमाले र नेकपा यति छिटै सहमतिमा आउने थिएनन् । प्रदेश सरकारको भागबन्डाकै कारण एमाले र नेकपा एकता गर्ने सहमतिमा पुगेका छन् । एमाले र नेकपा सहमतिमा पुगेपछि नेपालका वामघटकहरु एक हुने सम्भावना बढेर गएको छ । तर, नेपालमा वामएकता हुन नदिने देशीविदेशी शक्तिहरु लागिपरेका छन् । पहिला एमाले र माओवादी मिलेर बनेको नेकपालाई पनि देशीविदेशी शक्तिहरुले नै छिन्नभिन्न बनाएका थिए ।
नेकपा कमजोर भएपछि नेपालमा रास्वपा नामको नयाँ पार्टी जम्नि पुग्यो । यदि नेकपा नफुटेको भए रास्वपाले गत प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई हाराहारी बहुमत प्राप्त गर्न सक्ने थिएन । नेकपा फुटेको फाइदा लिँदै रास्वपाले दुई तिहाई हाराहारी बहुमतको सरकार बनाएर मुलुक हाँकिरहेको छ । यदि वामएकता नहुने हो भने २०८४ को स्थानीय र प्रदेश निर्वाचनमा पनि रास्वपाले कब्जा नगर्ला भन्न सकिन्न । तर, वामएकता भएको खण्डमा आगामी प्रदेश र स्थानीय निर्वाचनमा रास्वपा कमजोर हुने देखिन्छ । त्यसले गर्दा पनि वामएकताको खाँचो छ ।
तर, वामएकताको लागि नेकपाका सह–संयोजक माधव कुमार नेपाल बाधक बन्ने देखिन्छ । किन कि ओलीसँग नेपालको असन्तुष्टिकै कारण पार्टी एकता हुने सम्भावना देखिँदैन । प्रदेश सरकार सहकार्यमा प्रचण्ड र ओली हावी हुँदा नेपाल असन्तुष्ट बनेका छन् । यदि वामएकता नहुने खाली प्रदेश सरकार बनाउन मात्रै सहमति हुने हो भने त्यसको खासै औचित्य देखिँदैन । केही नेता र सांसदहरु सत्ताको ओत लाग्दैमा आगामी स्थानीय र प्रदेश निर्वाचनमा जित हासिल गर्न वामपन्थीहरु सफल हुँदैनन् । ओलीको नेतृत्वमा एमाले रहुन्जेल नेकपाले सहकार्य गर्न नसक्ने अडान माधव नेपालले पहिलादेखि राख्दै आएका थिए । अहिलेको सत्तासमिकरणमा पनि नेपालले असहमति जनाएका छन् । प्रचण्ड र ओलीले पार्टी एकता गरे तापनि नेपालले भाड्ने सम्भावना त्यत्तिकै बढेर गएको छ । त्यसले गर्दा वामएकतामा ‘भ्याताको धार्नी’ नपुग्ने देखिन्छ ।
उता, नेपालमा कम्युनिस्ट घटकहरुलाई नियाल्दै उत्तरी छिमेकी मुलुक चीनले वामएकताको खाका अगाडि सारेको छ भने पश्चिमा मुलुकहरुले नेपालमा वामपन्थी एकता नगराउने खेल खेलिरहेका छन् । वामशक्ति एकता हुन नदिनको लागि स्वदेशी विदेशी शक्तिहरुको खेलोफड्को भएसँगै नेपालका केही वामपन्थी नेताहरु त्यसको पक्षमा लागेको देख्रिन्छ । त्यसले गर्दा पनि कांग्रेस र एमालेको गठबन्धन तोडेर प्रदेश सरकारमा वामपन्थी एकता गर्न खोजिएको छ । तर, त्यसलाई नेकपाका सह–संयोजक माधव नेपालले भाड्न खोजिरहेका छन् ।
नेपालकै कारण वामएकताको सम्भावना क्षिण हुँदै गएको छ । तर, एमालेका कार्यकर्ता र नेकपाका कार्यकर्ताहरु वामएकता गरेर अगाडि बढ्नुपर्ने आवाज उठाउन थालेका छन् । एमालेका केही इतरपक्षका नेताहरुले पनि वामएकताको आवश्यकता रहेको बताइरहँदा एमालेबाट फुटेर गएका माधव नेपाल घाँडो हुने भएका छन् । पार्टीभित्र आमकार्यकर्ताहरुले माधव नेपाल नआए तापनि पार्टी एकता गरेर जानुपर्ने आवाज उठाउन थालेका छन् । वामएकता गर्दा पहिलाका गल्ती कमजोरीहरुलाई सच्याउँदै नयाँ ढंगबाट टिकाउको हिसाबमा अगाडि बढ्नु्पर्ने देखिन्छ । यदि त्योे नगरी बीचैमा तोड्ने हो भने प्रदेश सत्तासमिकरण कुनै औचित्य छैन । त्यसैले प्रदेश सत्तासमिकरणसँगै नेपालका सम्पूर्ण वामशक्तिहरु एकजुट भएर आगामी स्थानीय र प्रदेश निर्वाचनमा जानुपर्ने वामपन्थी बुद्धिजीवीहरुको धारणा रहेको छ ।

