काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीले सधैं सास्ती खेप्नुपरेको छ । अधिकांश सरकारी कार्यालयमा विचौलियाबिना कुनै काम हुँदैन । सेवाग्राही आफैले लिएर गएको कामलाई यो अथवा त्यो बहाना बनाएर ढिलासुस्ती गर्ने, सिस्टमले काम गरेन भन्ने, बत्ती नभएको बहाना बनाउने, कार्यालय प्रमुख हुनुहुन्न भन्ने जस्ता बहाना बनाएर पन्छाउने गरिन्छ । तर, त्यहीं काम विचौलियाले लिएर गएको खण्डमा एक÷डेढ घण्टामा गरिन्छ । गत पुस मसान्तको दिन आन्तरिक राजश्व कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका कार्यालयहरुमा यस्तै बहाना बनाइएको थियो । यो परम्परा नयाँ होइन ।
त्यो परापूर्वकालदेखि चल्दै आएको चलन हो । जुनसुकै पार्टीको सरकार भए तापनि यस्ता समस्या समाधान गर्नतिर कुनै सरकारले ध्यान दिएका छैनन् । कर्मचारी र विचौलियाको मिलेमतोमा उद्योगी, व्यवसायीलाई दुःख दिने र अनावश्यक जरिवना तिराउने काम भइरहेको छ । यसले गर्दा स्वरोजगारमुलक साना लगानीका व्यवसायीहरु मर्कामा परिरहेका छन् । आफ्नो व्यवसाय घाटामा गएपनि खाइनखाई रकम जोहो गरेर कर तिर्न गएका सेवाग्राहीलाई विभिन्न बहानामा कर्मचारी र विचौलियाले दुःख दिने परम्पराले आजित बनाएको छ । त्योसँगै अधिकांश सरकारी कार्यालय कम्प्युटर अधिकृतहरुको हालीमुहाली चल्ने गरेको छ । उनीहरुले भुक्तानी भएको कागजात समयमा कम्प्युटरमा इन्ट्रि नगरिदिएको कारणले सेवाग्राहीले जरिवाना तिर्नुपर्ने थुप्रै उदाहरणहरु छन् ।
खासगरी कम्प्युटर अधिकृतहरु उद्योग विभाग, कम्पनि रजिष्ट्रार, आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र कर कार्यालयहरुमा जान न्वारनदेखिको बल निकालेर लागिपर्छन् । यस्ता कार्यालयमा पुगेपछि वर्षौसम्म त्यही बस्नको लागि घुस खुवाउने गर्दछन् । त्यस गतिलो उदाहरण बनेका छन्, कम्पनी रजिष्ट्रय कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अधिकृत नारायण कुमार विष्ट । विष्ट विगत ५ वर्षदेखि कम्पनी रजिष्ट्रार कार्यालयमा बस्दै आएका थिए । उनलाई केही महिना अगाडि उद्योग विभागमा सरुवा गरिएको थियो । तर, विष्ट विभिन्न शक्तिकेन्द्रलाई रिझाएर फेरि कम्पनी रजिष्ट्रारमै आइपुगेका थिए ।
उनलाई फेरि उद्योगीमै सरुवा गरियो । उद्योगमा सरुवा गरिए तापनि सोर्सफोर्स लगाएर फेरि कम्पनी रजिष्ट्रारमै आउन सफल भएका छन् । त्यस्तै अर्का कर्मचारी छन् भीम बस्नेत । उनी कम्पनी रजिष्ट्रारबाट पोखरा मालपोत कार्यालयमा सरुवा भएका थिए । पोखरा मालपोत कार्यालयमा पुग्न नभ्याउँदै अर्को मालदार अड्डा सम्पत्ति सुद्धिकरण विभागमा पुग्न सफल भएका छन् । यदि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्प्युटर अधिकृतको हालिमुहाली नहुने थियो भने अन्त्र सरुवा हुँदा पनि फर्किफर्कि सोही कार्यालयमा आउनुको कारण के ? यी उदाहरणका पात्र मात्रै हुन् । कम्पनी रजिष्ट्रार, उद्योग विभाग, आन्तरिक राजश्व, कर कार्यालय, यातायात कार्यालय, नापी र मालपोत कार्यालयहरुमा यस्ता विकृति, विसंगति त कति छन् कति ।