काठमाडौं । महाकाली सन्धिअन्तर्गत रहेको पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा नेपाल र भारतका मन्त्रीबीच छलफल चलेको छ ।
इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच बिहीबार भएको भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर टुंग्याउने विषयमा छलफल गरेका हुन् । भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिमरूप दिन र आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका छन् ।
टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिमरूप दिएर महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै, बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ । सप्तकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।
मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जाविज्ञ अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।