काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात गरिने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।
बीबीसीका अनुसार ट्रम्पले सम्झौताका लागि समय सकिएको बताउँदै आफ्नो पूर्व घोषणा अनुसार अगाडि बढ्ने निर्णयको प्रतिक्रिया स्वरूप अमेरिकी सेयर बजारमा गिरावट आएको हो। ट्रम्पले यस वर्षको सुरुबाटै यस्तो कदम चाल्ने धम्की दिएका थिए । यसअघि विभिन्न कारणले कार्यान्वयन नगरिएको निर्णय मंगलबारबाट लागू गर्ने ट्रम्पले बताएका हुन् ।
चिनियाँ आयातमा पनि थप १० प्रतिशत भन्सार शुल्क लगाइने अनुमान गरिएको छ । ट्रम्पको यो घोषणासँगै अमेरिका, क्यानडा, मेक्सिको र चीनबीच व्यापारिक तनाव झन् चुलिने देखिएको छ ।तर, ट्रम्पले फेब्रुअरीमै चिनियाँ निर्यातमा १० प्रतिशत भन्सार शुल्क लगाइसकेका थिए, जसका कारण अहिले चिनियाँ सामानहरूमा कम्तीमा २० प्रतिशत भन्सार शुल्क लाग्छ ।