काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैनन् ।

