कांग्रेसमा संस्थापनपक्ष र इतरपक्षको झगडाले संगठन भताभुङ्ग

राजनीति समाचार

पार्टी ‘चेन अफ कमाण्ड’ भन्दा बाहिर
काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक दल मध्यमा ठूलो दल भए तापनि पार्टीभित्र व्यापक गुठबन्दी झागिँदै गएको छ । यतिबेला कांग्रेसले बरु अन्य पार्टीकालाई मित्र शक्ति ठान्ने तर पार्टीका संस्थापनपक्ष र इतरपक्षबीच ठूलो दुस्मनको रुपमा लिने प्रवृत्ति हावी भएको छ । त्यसको गतिलो उदाहरण लिन सकिन्छ भ्रातृ, भगिनी र शुभेक्छुक संघ, संगठनको अधिवेशनलाई । नेपाल पत्रकार महासंघको निर्वाचनमा कांग्रेसको शुभेछुक संस्था नेपाल प्रेस युनियन एकढिक्का हुन सकेन ।

प्रेस युनियनले आधिकारिक प्यानल खडा गर्दा त्यसकोविरुद्ध अर्को विद्रोही प्यानल खडा भएको थियो । त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा पनि कांग्रेस एकढिक्का भएर अगाडि बढ्न सकेन । अधिकांश क्याम्पसहरुमा संस्थापनपक्ष र इतरपक्षका छुट्टाछुट्टै प्यानल बनेर आन्तरिक लडाईँ गरेको देखिन्थ्यो । त्यसैगरी नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचनमा पनि संस्थापनपक्ष र इतरपक्षबीच लडाईँ हुँदा एक पक्षले चुनावै वरिष्कार गरेको थियो । त्यस्तै चैत २९ गते हुन गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं साधारण सभामा हुने निर्वाचनको लागि कांग्रेसले भुवन सिंह गुरुङको नेतृत्वमा टिम खडा गरेको छ भने कांग्रेसकै असन्तुष्ट पक्ष एमाले निकट वैदेशिक रोजगार व्यवसायी संघको नरेश गेलाल टिममा गएको छ । कांग्रेस पार्टीभित्र फास्टाएको आन्तरिक द्वन्द्वकै कारण निजामती कर्मचारी युनियनको नऔं अधिवेशन पनि हुन सकेको छैन । त्यसैगरी नेपाल तरुण दलभित्र पनि संस्थापन पक्ष र इतर पक्षको झगडाले गर्दा समयमा अधिवेन हुनसकेको छैन ।

उता, नेपाल महिलासंघ भित्र पनि संस्थापन पक्ष र इतर पक्षबीच लडार्इँ चलिरहेको छ । त्यसैगरी भर्खरै सम्पन्न नेपाल वार एशोसिएसनको निर्वाचनमा प्रा.डा. विजय प्रसाद मिश्रलाई कांग्रेसले आधिकारिक उम्मेदवार बनाएको थियो भने कांग्रेस विद्रोही पक्ष अर्को टिमतिर लागेको देखिन्थ्यो । त्योसँगै मुस्लिम, दलित, जनजाति, अल्पसंख्यक, मधेसीलगायतका संगठनहरुको अवस्था पनि पार्टीको आन्तरिक विवादकै कारण छिन्नभिन्न हुँदै गएको छ । त्यति मात्रै होइन कांग्रेसबाट मन्त्री बनेकाहरुको पनि संस्थापनपक्ष र इतरपक्षबीच मतान्तर त्यत्तिकै छ । संस्थापन पक्षबाट मन्त्री बनेकाहरुको इतरपक्षले आलोचना गर्ने र इतरपक्षबाट मन्त्री बनेकाहरुको संस्थापन पक्षले खेदो खन्ने प्रवृत्ति हावी भएको छ ।

कांग्रेसमा संस्थापन पक्ष र इतरपक्ष आन्तरिक कलहले कांग्रेसबाट मन्त्री बनेकाहरुले विभिन्न आलोचना खेप्नु परेको छ । त्योसँगै राष्ट्र बैंकको भावी गनर्भर नियुक्तिको लागि पनि पार्टीको संस्थाप पक्ष र इतरपक्षबीचको आन्तरिक झगडाकै कारण कांग्रेस अनिर्णयको बन्दी बन्न पुगेको छ । कांग्रेस पार्टी ‘चेन अफ कमान्ड’भन्दा बाहिर गइरहँदा संस्थापन पक्षका नेता र इतरपक्षका नेताहरुले संगठनको विषयमा ध्यान दिएको पाइँदैन । उल्टै एकपक्षले अर्कोपक्षको तेजोबध गर्ने र आरोप प्रत्यारोप गरेर भागबन्डा खोज्ने प्रवृत्ति पार्टीभित्र हावी भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *