काठमाडौं । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित ६ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ ।
बजेट अभावमा काम गरेको बिलको भुक्तानी नपाएपछि बेनी–पाखापानी सडक योजनाको निर्माण व्यवसायीले सडक निर्माण स्थगित गरेका हुन् । बेनी नगरपालिका र मङ्गला गाउँपालिका जोड्ने अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै लक्ष्य भन्दा एक वर्ष अघिनै काम सकेपनि अझै भुक्तानी पाएका छैनन् । पूर्वाधार विकास कार्यालयले विनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको उल्लेख गरेको छ ।
गत वर्ष करिब ६८ करोड रुपैयाँको लागतमा म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण सुरु भएका थिए । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । अर्थ मन्त्रालयले एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो ।
अर्थ मन्त्रालयले स्रोत सहमति र सुनश्चितता गरेर बहुवर्षीय ठेक्का सम्झौता भइसकेका आयोजनाका लागि विषयगत मन्त्रालयले पर्याप्त बजेट व्यवस्थापन नगर्दा र टुक्रे योजनामा प्राथमिकता दिँदा गण्डकी प्रदेशभरका आयोजनामा यस्तो समस्या देखिएको प्रदेशसभाले जनाएको छ ।