काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढ्दा त्यसको असर स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । यो सँगै स्थानीय बजारमा आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ ।
केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।