काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ ।
मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० बर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख गर्दै यसको असर नेपालमा पनि परेको जनाएको हो ।
‘मानव अधिकारको अवस्थामा सन् २०२४ संतोषजनक रहेन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनल नेपालले भने सरकार नै आलोचनालाई दबाउने कार्यमा लाग्दा मानव अधिकारको अवस्था नै खस्किएको विश्लेषण गरेको छ ।
प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर, प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको छ । यसले गर्दा झन् अधिकारबाट बञ्चित हुने क्रम बढ्दो रहेको छ ।
प्रदर्शनका लागि निषेधित क्षेत्र तोक्ने क्रम पनि बढेको छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएक छन् । पत्रकारमाथी कुटपिट र धम्की बढेको छ । दण्डहीनता कायम छ । महिला र बालबालिकामाथि हिंसा जारी छ । जातीय हिंसा रोकिएको छैन । थुनुवाको अधिकार उल्लंघन भएको छ । प्राकृतिक बिपत्त बाढी पहिरो पीडितले न्यूनतम राहत समेत पाउन नसकेको अवस्था छ ।
