ललितपुर मालपोतमा भ्रष्टको जगजगी

राजनीति समाचार

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालय विचौलियाहरुको खेलौना बन्न पुगेको छ । विगत दश वर्ष अगाडिदेखि भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालयमा डेरा जमाउँदै आएका उदयपुरका प्रमोद खड्काले भूमिमन्त्रालयमा विचौलियाको काम गर्दै आएको वर्षांै बितिसकेको छ । उपत्यका मालपोत कार्यालयदेखि सातवटै प्रदेशअन्तर्गत पर्ने मालपोत कार्यालयहरुमा यिनै खड्काको हालीमुहाली चल्ने गरेको स्रोतको भनाइ छ । अहिले तिनै विचौलिया खड्काले यस्ता मन्त्री र सचिव त कति फेरेँ कति भन्दै भूमिमन्त्रालयतिर गफ चुट्ने गर्दछन् ।

उनै खड्कालाई प्रयोग गरेर ललितपुर, चाबहिले, साँखु, कलंकीलगायत मोफसलका मालपोत कार्यालयहरुमा खरिदारदेखि शाखा अधिकृतसम्मका कर्मचारी सरुवा गर्ने गर्दछन् । त्यसबाट आएको कमिसन सम्बन्धित निकायका प्रमुखहरुलाई भागबन्डा लगाउने गर्दछन् । त्यही भागबन्डा पाएकै आधारमा विचौलिया खड्कालाई भूमिमन्त्रालयमा हालीमुहाली गर्ने आधार बनेको छ । त्यसैको आधारमा अहिले उपत्यकाभित्र कलंकी, मनमैजी, साँखु, चाबहिल, डिल्लीबजार, ललितपुरजस्ता मालदार अड्डामा कर्मचारी सरुवामा खड्काको हालीमुहाली चल्ने गरेको छ ।

उता, ललितपुर मालपोत कार्यालय प्रमुख रहेका छन्, जीवनराज सेढाईँ । सेढाईँ ललितपुर मालपोतको कार्यालय प्रमुख भएका छन् । सेढाईंले उनै विचौलिया खड्कालाई प्रयोग गरेका थिए । एमालेका सचेतक तथा सांसद महेश बर्तौला तत्कालीन भूमिसचिव अर्जुन पोखरेल र भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई रिझाएर ललितपुर मालपोत प्रमुख बन्न पुगेका थिए । सेढाईँ ललितपुर मालपोत कार्यालय प्रमुख भएतापनि सरकारी जग्गाहरु व्यक्तिको नाममा दर्ता गर्ने, मोही र तलसिनबीचको झगडा मिलाउने शर्तमा असुली धन्दा चलाउँदै आएको स्रोतको दावी छ ।

हुन पनि सेढाईँको स्वभाव हेर्दा त्यस्तै देखिन्छ । सेढाईं आफू त समयमा कार्यालय पुग्दैनन् नै सेटिङमा काम गर्ने विचौलियालाई सुरुमै कार्यालय पठाउने गर्दछन् । त्यसपछि श्रेष्ठ थरका एक विचौलियासँग मिलेमतो गरी रकम बुझ्ने गर्दछन् । त्यसैगरी अन्य कर्मचारीहरुलाई पनि आफ्नै कार्यकक्षमा बोलाएर के छ ? हिसाबकिताब भनेर सोध्ने गर्दछन् । त्यसैगरी मुद्दा फाँटका कर्मचारीहरुलाई सेढाईंँले आँखा सन्काउँदै पीडितहरुलाई दुःख दिँदै आएको स्रोत बताउँछ । सेढाईँले सबै राजनीतिक दलनिकट कर्मचारी युनियनका नेतादेखि विद्यार्थी संगठनका नेता र कार्यकर्तालाई सहयोग गर्ने गरेका छन् ।

सेढाईँलाई ललितपुर मालमालपोतबाट हटाउन खोजिए तापनि सम्बन्धित निकायका कर्मचारीहरुको चोसोमोसो मिलाएबापत ललितपुर मालपोतबाट हट्नुपरेको छैन । सोढाईँकै कारण ललितपुर मालपोत कार्यालय यतिबेला बद्नाम हुँदै गएको छ । सरकारी जग्गा हिनामिना गर्ने, डोरपास र मुद्दा फाँटको चलखेल गर्ने गर्दा ललितपुर मालपोत कार्यालय दिनप्रतिदिन बद्नाम हुँदै गएको छ । नवनियुक्त भूमि सचिव केशव शर्माले यस्ता मालपोत प्रमुखलाई कसरी नियन्त्रणमा लिन्छन् त्यो भने प्रतिक्षाको विषय बनेको श्रोतले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *