काठमाडौं । लत वा कुलत भन्नासाथ लागुऔषधलाई सम्झन्छौं । वास्तवमा लत वा कुलत भनेको त्यो हो, जसमा हामी आवश्यकता भन्दा बढी लिप्त हुन्छौं । पछिल्लो समय के युवा, के बालबालिका, वृद्ववृद्वामा पनि सामाजिक सञ्जालको नशा चुरोट वा रक्सीको भन्दा पनि खतरनाक तरिकाले बढ्दै गइरहेको छ । एकपटक यो नाशा लागेपछि मानिसको रातको निन्द्रा हराउँछ र रातदिन त्यसैमा भुलेर बस्दा अरुले घुमफिर, पार्टी र महंगा कपडा, गरगहना लगाएका तस्वीरहरु देख्दा मानिसहरुको आफ्नै व्यक्तिगत जीवनबाट पनि असन्तुष्टि पंैदा हुन थाल्छ ।
वर्तमान समयमा मानव जीवनका हरेक पक्षहरूलाई सामाजिक सञ्जालले प्रभावित पारिरहेको छ । सामाजिक सञ्जाल मानिसहरुको दैनिकी र जीवनको महत्वपूर्ण पाटोको रुपमा स्थापित भैसकेको छ । संसारभरका करिब तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको करिब ४० प्रतिशत मानिस सामाजिक सञ्जालको प्रयोग गर्दै आइरहेका छन्, भने अर्कोतर्फ यसको चरम र अस्वभाविक प्रयोगले हाम्रो समाज आधुनिकताको नाममा असामाजिक र अनैतिक गतिविधिमा समाहित भई हाम्रा संस्कृति र मौलिकपनामा नकारात्मक प्रभाव परिरहेको स्पष्ट देख्न सक्छौं । सामाजिक सञ्जाल प्रयोगको इतिहास लामो नभएकोले गर्दा यसको प्रभाव तथा परिणामहरुलाई नकार्न सक्ने अवस्था छैन । सामाजिक सञ्जालको प्रयोगले मानव जीवनका विभिन्न आयामहरुमा यसले प्रभाव पारेको विभिन्न अध्यायनहरुले पुष्टि गरिसकेको छ ।
हालै भएका विभिन्न अध्ययनमा सामाजिक सञ्जालले युवामा बेचैनी, डिसअर्डरलगायत समस्या निम्त्याउने देखाएका छन्। सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको हो अथवा मानसिक समस्या भएका युवाले सामाजिक सञ्जाल प्रयोग गरेका हुन भन्नेमा स्पष्ट छैनन्।
यही विषयमा मनोचिकित्सक एमी अर्बेन र एन्ड्र्यु प्रिचविलिस्कीले तीन लाख ५५ हजार किशोरकिशोरीमा गरिएका विभिन्न अध्ययनको समीक्षा गरी तनाव, आत्महत्याको सोच, चिन्ताजस्ता मानसिक समस्यामा सामाजिक सञ्जालको प्रभावबारे जान्ने प्रयास गरेका थिए।
विश्वका करिब ८ अरब जनसंख्या मध्ये पाँच अर्ब जति मानिसहरू कुनै न कुनै सामाजिक सञ्जालको प्लेटफर्ममा संलग्न छन्। नेपालको सन्दर्भमा दुख लाग्दो के छ भने १३ वर्षभन्दा कम उमेरमै सामाजिक सञ्जालमा खाता खोलिएको पाइन्छ र उनीहरुले ती खातामा निरन्तर तस्बिर तथा भिडियो राख्ने गरेका छन् । यसका कारण पछिल्लो समयमा बालबालिकामा झर्किने, कोठामा एक्लै बस्ने, पढ्नमा ध्यान नदिने जस्ता समस्याले गर्दा अधिकांश बालबालिकाहरुले विद्यालयबाट फर्किएर पछि तीन,चार घण्टा मोबाइलमा सामाजिक सञ्जालहरुमा समय बिताउने गर्दछन् ।
तीन, चार घण्टासम्म यसरी मोबाइल चलाउनु भनेको बालबालिकाको मानसिक, शारीरिक स्वास्थ्यको लागि हानिकारक मानिन्छ । धेरै समयसम्म मोबाइलमा समय बिताउँदा अहिले किशोर,किशोरीहरु साइबर क्राइममापरि आत्महत्याको घटनाहरु बढेको तथ्याङकहरुमा समेत उल्लेख भएको पाइएको छ । यस्तो अवस्था आउन नदिन शुरुमा घरधित्रै आमाबुवा र अभिभावकहरु सचेत हुनुपर्ने र नियमनका लागि सरकारले पनि ध्यान दिन जरुरी रहेको छ ।
फेसबुकमा मात्रै करिब तीन अर्ब सात लाख मानिसहरू आबद्ध रहेका छन्। त्यसैगरी ट्वीटर, ह्वाटसएप, इन्स्टाग्राम, टिकटक, वीच्याट, टेलिग्राम लगायत अन्य विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूमा मानिसहरू आबद्ध छन्। मानिसहरूले बिहानदेखि बेलुकासम्मका विभिन्न गतिविधिहरूलाई सामाजिक सञ्जालमा राखिरहेका हुन्छन्। साथै समसामयिक मुद्दाहरूमा विचार प्रस्तुत गर्ने, बहस गर्ने, समर्थन गर्ने, वकालत गर्ने र आफ्ना मागहरू पूरा गराउने साधनको रूपमा पनि सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसका विभिन्न बेफाइदाहरू देखापरेका छन्। सामाजिक सञ्जालको दुरूपयोगले गलत सूचनाको प्रसारण गर्ने, कुनै व्यक्ति जाति वा संस्थाप्रति घृणा फैलाउने, आपराधिक क्रियाकलापहरू बढाउने, ध्वंसात्मक कार्य वा आतङ्कवादी क्रियाकलाप बढाउन पनि सामाजिक सञ्जालले मलजल गरेको पछिल्लो समयमा पाइएको छ। एकातर्फ युवा अवस्था जैविक र मनोवैज्ञानिक रूपमा उच्च संवेगको अवस्था हो भने अर्कोतर्फ सामाजिक सञ्जालको आबद्धताले निम्न बमोजिमको मनोदशा उत्पन्न गराई उच्च निराशामा पारेको छ।