निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढीको रगत परीक्षण,अविवाहित महिलामा १८ प्रतिशत सिकलसेल पुष्टि

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थारू समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेको छ ।

सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सोही सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो । पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका थारु समुदायको बसोबास रहेका ६ वटा वडामा रगत परीक्षण गरिएको थियो । जसमा १९७ जनामा सिकलसेल एनिमिया ‘पोजेटिभ’ देखिएको छ । रगत परीक्षण गर्दा पोजेटिभ देखिएका नमूनालाई धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

त्यसैगरी पुनर्वास नगरपालिका– ११ मा २९७ जनाको परीक्षण गर्दा ४४ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका– २ मा २४७ जनाको परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका– १४ मा २८६ जनाको परीक्षण गर्दा २७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, भीमदत्त नगरपालिका– १९ मा ३३३ जनामा परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको छ ।

नेपालमा खास गरी थारु समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । केही समय अघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल पुष्टि भएको थियो ।

सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुचा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *