काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुबीच चर्काचर्की परेको छ ।
शुक्रबार समितिमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल थियो । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।
बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलेमतोमा नेपाल नागरिकहरू बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको धारणा राखेका थिए । उनले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्विप मानेर निरीह बनेर बस्ने गरेको टिप्पणी गरेका थिए ।