काठमाडौं । वर्षा याम सुरु भएसँगै गत आइतवारदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीलाई दिँदै आएको खानेपानी वितरण गर्न छाडेको छ । एकाएक खानेपानी वितरण रोकिए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूचना सार्वजनिक गरेको छैन । एकातिर मेलम्चि खानेपानी आयोजनाले पानी वितरण ठप्प बनाएको छ भने अर्कोतिर (केयुकेएल)ले पाइप मर्मत, संभार गर्न नसकेर वर्षा याममा उपत्यकामा खानेपानीको हाहाकार बन्ने स्थिति सिर्जना भएको छ । केयुकेएलका सिइओ अशोक कुमार पौडेल र कर्मचारी युनियनहरुको झगडाले सीमा नाघेको छ ।
केयुकेयलका कर्मचारी युनियनहरुले सिईओ पौडेलको राजीनामा माग्दै आन्दोलन गरेको ४२ दिन भइसकेको छ । उता सिईओ पौडलले न त खानेपानी सुचारु गर्न पहल गरेका छन् न त कर्मचारी युनियनहरुले गरेको मागलाई सम्बोधन गरेर समाधान गर्न सकेका छन् । केयुकेयलका कर्मचारीहरुले डेढमहिनादेखि काम नगरी राज्यकोषणबाट तलब सुविधा लिइरहेका छन् । भने उता, सिईओ पौडेलले मासिक ३ लाख तलब बुझ्ने गरेका छन् ।
मासिक ३ लाख तलबसहित अन्य सेवासुविधा पनि उपभोग गर्दै आएका छन् । सिईओ पौडेलले मासिक १ सय ५० लिटर तेल, टेलिफोन शुल्क, पत्रपत्रिका र भत्तालगायतका सुविधाहरु उपभोग गरिरहेका छन् । तर, केयुकेयललाई भने वर्षदिनदेखि बन्धक बनाएर राखेको कर्मचारीहरुको आरोप छ । सिईओ पौडेलले लापरबाहीपूर्ण तरिकाले केयुकेयललाई डुवाइरहँदा खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादव र खानेपानी सञ्चालक समितिले कुनै चासो देखाएका छैनन् । तर, कर्मचारी युनियनहरुले सिईओ पौडेलको राजीनामा माग्न छाडेका छैनन् ।

