तेह्र वर्षको उमेरमा२२ बर्षे केटीसँग विवाह, संघर्षले भरिएको जीवनयात्रा

राजनीति लेख समाचार

भोला खतिवडा

असार २१ गते बिहान मेरा मित्र चुपबहादुर थापाको मेसेन्जरमा आएको एउटा ईकार्डले मेरो ध्यान खिच्यो। केही दिनअघि पनि त्यही निम्तो आएको थियो। उहाँकी ममतामयी आमाको निधन भएको एक वर्ष पूरा भएको सन्दर्भमा असार २२ गते लाखबत्ती प्रज्वलन कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रहेछ।मेरो मन जानेतर्फ नै थियो। तर त्यही दिन धादिङ जानुपर्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले उपस्थित हुन नसक्ने सन्देश मैले मेसेन्जरमार्फत पठाएँ। केही क्षणमै चुपको फोन आयो,“भोलि आउन सक्नुहुन्न भने आजै आउनुस्“ ।संयोगवशअर्का मित्र दीपक भट्ट पनि त्यतै जाँदै हुनुहुँदो रहेछ। हामीसँगै भक्तपुरको कटुञ्जेतर्फ लाग्यौं।धेरै वर्षपछि त्यहाँ पुगेको थिएँ। समयले ठाउँलाई मात्र होइन, सम्झनालाई पनि परिवर्तन गरिदिने रहेछ। पहिले पुगेको ठाउँ पनि नयाँजस्तै लाग्यो।
आत्मिय भेट
घरमा पुग्दा चुप, उहाँका दाजुभाइ तथा परिवारका सदस्य वार्षिकी कर्ममा व्यस्त हुनुहुन्थ्यो। हामी पाहुनाहरू भने एकातिर बसेर कुराकानी गर्न थाल्यौं। केही बेरपछि सानुकाजी थापा र भरत थापा पनि आइपुग्नुभयो। चुपका भाइ गणेश, बहिनी अम्बिका र ज्वाइँ दीपक पनि घरायसी व्यवस्थापनमा व्यस्त देखिनुहुन्थ्यो।
त्यहीबीच चुपका बुवा घमानसिंह थापा हामी बसेको कोठामा आउनुभयो। मैले फेरि नमस्कार गरेँ र मुस्कुराउँदै सोधेँ, “चिन्नुभयो नि मलाई?“
उहाँले पनि उस्तै आत्मीय मुस्कानसहित बस्नुभयो। उहाँसँग मेरो सम्बन्ध औपचारिकभन्दा धेरै आत्मीय छ। भेट हुँदा हामी प्रायः जिस्कँदै कुरा गर्छौं। उहाँको सरलपन र विनोदप्रिय स्वभावले हरेक भेटलाई रमाइलो बनाइदिन्छ।

’भैँसी चम्चाले उठाउने मान्छे’
भेट्नेबित्तिकै उहाँले कहिल्यै नबिर्सने एउटा पुरानो प्रसंग दोहोर्याउनुभयो।
२०५५ सालतिर चुप र म उहाँकै घर सिन्धुपाल्चोकको थुम्पाखर पुगेका थियौं। त्यतिबेला कुखुराको मासु पकाइएको रहेछ। म बाहुन परिवारको छोरो भएकाले उहाँले संकोचपूर्वक सोध्नुभएको थियो, “तपाईंलाई चल्छ त?“
मैले हाँस्दै भनेको थिएँ, “भैँसी त चम्चाले उठाउँछु, कुखुराको चल्ला त चलिहाल्छ नि!“
त्यो एउटा ठट्टा थियो। तर त्यसदिनदेखि उहाँले मलाई आफ्नै शैलीमा चिनाउनुभयो“भैँसी चम्चाले उठाउने मान्छे।“
यसपालि पनि मलाई देख्नासाथ त्यही प्रसंग निकाल्नुभयो। कोठाभरि हाँसो फैलियो। एउटा सामान्य ठट्टाले दुई दशकभन्दा बढी समयसम्म सम्बन्धको मिठास जोगाएर राख्न सक्छ भन्ने अनुभूति फेरि भयो।
उहाँसँग कुरा गर्दा मलाई सधैं लाग्छ, किताबमा नभेटिने इतिहास उहाँजस्ता मानिसहरूको सम्झनामा बाँचेको हुन्छ। त्यसैले यसपटक मैले मोबाइलको ’किप नोट’ खोलेँ। उहाँका अनुभवहरू सम्झनाले मात्र धान्न सक्दिनँ भन्ने लाग्यो। मैले संवाद टिप्न थालेँ। त्यसपछि खुल्दै गयो, एक संघर्षशील नेपालीको जीवनकथा।

तेह्र वर्षको उमेरमा विवाह
घमानसिंह थापाको जन्म विसं २००१ सालमा भएको रहेछ। उहाँसँग कुरा गर्दै जाँदा मैले महसुस गरे, उहाँको जीवन केवल एउटा व्यक्तिको कथा होइन, नेपाली ग्रामीण समाजको एउटा युगको इतिहास हो।
उहाँले आफ्नो पहिलो विवाहको प्रसंग सुनाउनुभयो। उमेर मात्र १३ वर्ष। उहाँका बुवाले २२ वर्षकी युवतीसँग विवाह गरिदिनुभएको रहेछ। त्यो बेला विवाह व्यक्तिगत रोजाइभन्दा पनि परिवारको निर्णयको विषय हुन्थ्यो। काम गर्ने मान्छे घरमा भित्रियोस् भन्ने सोचले उमेरको अन्तरलाई खासै महत्व दिइँदैनथ्यो।

“२२ वर्षकी केटी काम गर्न सक्ने भनेर विवाह गरिदिनुभयो, बुहारी भन्दा पनि कामदार“ उहाँले विगत सम्झँदै भन्नुभयो।
तर त्यो सम्बन्ध धेरै परसम्म जान सकेन। विवाह भएको चार वर्षपछि बुवाको निधन भयो। त्यसको केही समयपछि श्रीमतीसँग पनि सम्बन्ध बिग्रियो। १७ वर्षको उमेरमै बुवाको अभिभावकत्व गुमाउनु र लगत्तै वैवाहिक जीवनमा असफलता भोग्नु सामान्य पीडा थिएन।

दोस्रो सहयात्रा पनि लामो टिकेन
पहिलो विवाह टुटेपछि २१ वर्षको उमेरमा उहाँले दोलखाको किराँतीछापकी युवतीसँग दोस्रो विवाह गर्नुभयो। जीवनले फेरि नयाँ मोड लियो। परिवार बढ्न थाल्यो। दुई छोरी र एक छोरा जन्मिए। तर नियतिले फेरि परीक्षा लियो। एक छोरीको सानैमा निधन भयो।
दोस्रो वैवाहिक जीवन करिब एक दशकसम्म चल्यो। तर त्यो सम्बन्ध पनि अन्ततः टुट्यो। “अब दुई जना केटाकेटी छन्, यिनैलाई हुर्काएर बस्छु भन्ने लागेको थियो,“ उहाँले सुनाउनुभयो।

’मैले त छवटा विवाह गरें’
त्यतिबेला एक छिमेकीले उहाँलाई हौस्याएछन्। “मैले त छवटा विवाह गरें, तेरो त तीनवटा हुन्छ नि!“ त्यो कुरा मजाक थियो कि प्रेरणा, थाहा भएन। तर त्यसले घमानसिंह थापाको जीवनमा नयाँ मोड ल्यायो। ३५ वर्षको उमेरमा उहाँले तेस्रो विवाह गर्नुभयो। यसपटक उहाँको जीवनमा प्रवेश गर्नुभयो २८ वर्षिय नरमाथा थापा।उहाँ नैं हो, चुपबहादुर थापा, गणेश थापा र अम्बिका थापाकी आमा। बुबाले मुस्कुराउँदै भन्नुभयो, “कान्छीलाई प्रमोसन गराउन परेन। त्यसपछि अर्को विवाह गर्नुपर्ने अवस्था नै आएन।“उहाँको यो भनाइमा ठट्टा पनि थियो र जीवनप्रतिको सहज स्वीकार पनि।
उहाँले एउटा महत्वपूर्ण कुरा स्पष्ट गर्नुभयो, तीनवटा विवाह भए पनि आफू बहुविवाहको दोषी भने नभएको। कुनै पनि श्रीमती साथमै हुँदा अर्को विवाह नगरेको, सम्बन्ध टुटेपछि मात्र नयाँ जीवन सुरु गरेको उहाँको भनाइ थियो।

छ्वाली बेचेर विवाह
मैले उहाँलाई सोधेँ, “पछिल्लो विवाह गर्दा कति खर्च भयो?“ प्रश्न सुन्नासाथ उहाँको अनुहारमा पुराना दिनहरूको सम्झना झल्कियो।दोलखाको काटाकुटीमा केटी हेर्न जानुभएको रहेछ। मन परेपछि विवाह गर्ने निर्णय भयो। तर पैसा कहाँबाट ल्याउने? “घरमा भएको गहुँको छ्वाली बेचें,“ उहाँले भन्नुभयो।“तेह्र बिस अर्थात् दुई सय साठी रुपैयाँ आयो। त्यही खर्च गरेर विवाह गरें।“त्यो बेलामा घरको छानोमा छ्वाली प्रयोग गरिन्थ्यो ।अर्को रोचक कुरा त त्यो बेलामा लमीले केटी बन्दोवस्त गराउने भनि रू २ सय लगेछन् ।लमीले २ सय विवहा खर्च चाँही २ सय साठी ।
त्यो रकम त्यतिबेला ठूलो मानिन्थ्यो। उहाँले थप्नुभयो, “आठ रुपैयाँमा दौरासुरुवालको कपडा आउँथ्यो।“आजको पुस्तालाई त्यो रकम र त्यो समयको मूल्य बुझ्न गाह्रो हुन सक्छ। तर त्यही दुई सय साठी रुपैयाँले एउटा परिवारको नयाँ अध्याय सुरु गरेको थियो।

मजदुरी गरेर छोराछोरी पढाउने सपना
जीवन निर्वाहका लागि खेतीपाती थियो। अरूको खेतवारी अदिया गर्नुको विकल्प थिएन ।जीवन धान्ननैं मेलापात गर्नु सामान्य कुरा थियो । तर घमानसिंह थापाको सोच त्यतिमै सीमित थिएन। “म आफैं पढ्न पाइनँ,“ उहाँले भन्नुभयो, “तर छोराछोरीलाई पढाउनुपर्छ भन्ने लागेको थियो।“त्यही सोचले उहाँलाई गाउँबाट काठमाडौंसम्म ल्यायो।खेतीपातीको काम सकिएपछि उहाँ मजदुरी गर्न काठमाडौं आउने गर्नुहुँदो रहेछ। फलाम काट्ने काम गर्दा दिनको आठ रुपैयाँ ज्याला पाइन्थ्यो। ढलानको काम गरे पन्ध्र रुपैयाँसम्म मिल्थ्यो। कामको खोजीमा उहाँ मुग्लिनसम्म पुग्नुभएको रहेछ।वर्षौंसम्म श्रम बेचेर परिवार धान्नुभयो। छोराछोरीको शिक्षामा लगानी गर्नुभयो। समयसँगै ज्याला बढ्दै गयो। दिनको तीन सय रुपैयाँसम्म पाउन थाल्नुभयो।तर उहाँको संघर्ष त्यतिबेला मात्र रोकियो, जब छोरा चुप गाउँकै विद्यालयमा शिक्षक बने।“छोरा मास्टर भएपछि काठमाडौं धाउन छाडें,“ उहाँले गर्व मिश्रित स्वरमा भन्नुभयो।त्यो वाक्यमा एउटा बाबुको संघर्ष, सपना र सन्तुष्टि एकसाथ बोलिरहेका थिए।

भोटको नुनदेखि जीवनदर्शनसम्म
बुबासँगको संवाद जति लम्बिँदै गयो, उति नै लाग्दै गयो, उहाँको जीवन केवल एउटा परिवारको इतिहास होइन, नेपालको ग्रामीण समाजको परिवर्तनको जीवित दस्तावेज हो। मैले जिज्ञासा राखेँ, “त्यो बेला नुन लिन कहाँ जानुहुन्थ्यो?“उहाँले कुनै पुस्तकले दिन नसक्ने इतिहास सुनाउनुभयो,“दुई पटक भोट गएको छु,“ । “करिब नौ दिन लाग्थ्यो। चार पाथी चामल बोकेर जान्थ्यौँ, त्यहाँ आठ पाथी नुनसँग साटेर फर्किन्थ्यौँ।“
त्यो समय पैसाभन्दा वस्तु साटासाटको अर्थतन्त्र बढी चल्तीमा थियो। दसबाह्र जनाको टोली बनाएर यात्रा गरिन्थ्यो। बाटोमा कतिपय रात ओडारमै बिताउनुपथ्र्यो। काठमाडौं आउनजान पनि झन्डै एक हप्ता लाग्दथ्यो रे। उहाँका अनुभव सुन्दा अहिलेको पुस्ताले कल्पना गर्न पनि कठिन हुने नेपाल आँखाअगाडि उभिन्थ्यो।

आमाबाट सिकेको जीवनको पाठ
संवादका क्रममा मैले एउटा कुरा विशेष रूपमा महसुस गरेँ। उहाँ बारम्बार आफ्नी आमालाई सम्झिरहनुभएको थियो। “आमा भन्नुहुन्थ्यो“ भनेर उहाँले हरेक जीवनपाठ सुरु गर्नुहुन्थ्यो।

उहाँले सुनाउनुभयो, “आमाले भन्नुहुन्थ्यो, अरूले काँडाले हिर्काए पनि आफूले फूलले हिर्काउनू।“
त्यो एउटा वाक्य मात्र थिएन, उहाँको जीवनदर्शन बनेको रहेछ।
अर्को शिक्षा पनि उत्तिकै गहिरो थियो।

“आमाले भन्नुहुन्थ्यो, लास बोकेर गएको प्रत्येक पाइला हजार गाई दान गरेजत्तिकै पुण्य हुन्छ।“
त्यसपछि उहाँले त्यो शिक्षालाई जीवनभर व्यवहारमा उतार्नुभयो। आफ्ना बुवाको निधनपछि गाउँसमाजमा जसको मृत्यु भए पनि अन्तिम संस्कारमा पुग्न छुटाउनुभएन। उहाँका अनुसार डेढ सयभन्दा बढी शवयात्रा र दाहसंस्कारमा उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको छ।उहाँका लागि त्यो सामाजिक दायित्व मात्र थिएन, आमाले सिकाएको धर्म थियो।

पहिलो हवाई यात्रा
जीवनभर पैदल यात्रा गर्ने, भोटसम्म नुन साट्न जाने, मजदुरीका लागि काठमाडौं धाउने मानिसले पहिलोपटक जहाज चढ्दा कस्तो अनुभूति भयो होला? त्यो प्रसंग पनि उहाँले हाँस्दै सुनाउनुभयो।“वुहारी अप्सराले चितवन घुमाउन जहाजमा चढाइन्।“ मैले सोधेँ, “डर लागेन?“उहाँ तुरुन्तै हाँस्नुभयो। “के को डर लाग्नु?असाध्यै रमाइलो लाग्यो। अझ धेरै बेर उडिरहोस् भन्ने लागेको थियो। तर पन्ध्र मिनेटमै झारिदियो।“त्यो उत्तरमा बालकको जस्तै निष्कपट उत्साह थियो। बुद्दको गाउँ लुम्विनी तिर पनि वुहारीले नैं वुढावुढीलाइ हवाइजहाजमा गएर घुमेको स्मरण पनि गर्दै हुनुहुन्थ्यो ।

सम्पन्न परिवार, विरक्त मन
अहिले उहाँका १० जना नातिनातिना र ९ जना पनातिपनातिनी छन्। सबै छोराछोरीको काठमाडौंमा राम्रो बसोबास छ।
तर जीवनका यति धेरै उतारचढाव पार गरेपछि उहाँको निष्कर्ष भने भौतिक उपलब्धिभन्दा धेरै माथि पुगेको रहेछ।
उहाँले शान्त स्वरमा भन्नुभयो, “यी सबै माया हुन्। सबै झुटा हुन्। हामी जन्मँदा केही लिएर आएका थिएनौँ, जाँदा पनि केही लिएर जाने होइनौँ।“यो वाक्यमा उमेरले दिएको अनुभव थियो, संघर्षले दिएको ज्ञान थियो र जीवनले सिकाएको सत्य थियो।

एउटा भेट, धेरै पाठ
कटुञ्जेबाट फर्कँदै गर्दा मेरो मनमा एउटै कुरा घुमिरह्यो।म चुपबहादुर थापाकी आमाको वार्षिकीमा सहभागी हुन गएको थिएँ। तर फर्कँदा एउटा युगको इतिहास, संघर्षको कथा, आमाबाट प्राप्त संस्कार र जीवनदर्शन बोकेर फर्किएँ।हामी प्रायः ठूला मानिसहरूको जीवनी पढ्छौँ। तर समाजका वास्तविक इतिहास यिनै साधारण देखिने असाधारण मानिसहरूको स्मृतिमा सुरक्षित हुन्छन्।
बुबा घमानसिंह थापाको जीवनले फेरि एकपटक सम्झाइदियो, संघर्षले मानिसलाई बलियो बनाउँछ, संस्कारले महान् बनाउँछर अन्ततः मानिसले छोडेर जाने सबैभन्दा ठूलो सम्पत्ति धन होइन, जीवनबाट सिकाएका मूल्य, व्यवहार र पहिचान हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *