सुरेन्द्रकुमार उप्रेती, अध्यक्ष, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल
नेपालको अटोमोबाइल व्यवसाय हाल नीतिगत अस्थिरता, विद्युतीय सवारी (ईभी) को तीव्र विस्तार, सार्वजनिक सवारीसाधनको आयात दर्ता रोकिनु, र स्पेयर पाट्र्सको अनौपचारिक बजारजस्ता विविध चुनौतीबीच अघि बढिरहेको छ । चुनौतीबीच पनि अटो क्षेत्रले यस क्षेत्रमा रोजगारीका साथै बजार चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । अटो क्षेत्रमा विद्यमान अस्थिर नीतिले पनि व्यवसाय द्रुत गतिमा अगाडि बढ्न नसकेको यस क्षेत्रका उद्यमी बताउँछन् ।अटोमोबाइल क्षेत्र पछिल्लो समय तीव्र रूपान्तरणको चरणमा छ। विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, नयाँ प्रविधिको प्रवेश, स्वदेशमै एसेम्बली तथा उत्पादनको प्रयास र मोबिलिटी इकोसिस्टमको विस्तारले नेपाली अटोमोबाइल बजारको स्वरूप बदलिँदै गएको छ। यही परिवर्तित परिवेशमा अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्ती मनाइरहेको छ। अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, ईभीको भविष्य, स्वदेशी उत्पादन, कर तथा नीतिगत व्यवस्था, रोजगारी र आगामी दशकको रणनीतिलगायतका समसामयिक विषयमा केन्द्रित रहेर नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसँग तामाकोशी सन्देशका लागि गरिएको कुराकानीको सम्पादित अंश :
नाडा स्थापनाको ५० वर्ष पूरा भएको छ । पाँच दशकमा अटोमोबाइल व्यवसायीको हकहितका लागि काम गर्ने संस्थाबाट उद्योगकै प्रतिनिधित्व गर्ने संस्थामा रूपान्तरण भएको दाबी गर्नुभएको छ । तर उपभोक्ताको दृष्टिले नाडाले के ठोस उपलब्धि हासिल ग¥यो ?
नाडाको ५० वर्षको यात्रालाई हामीले केवल व्यवसायीको संस्था विस्तार भएको रूपमा मात्र हेरेका छैनौँ । यो नेपालको अटोमोबाइल क्षेत्र विस्तार भएको पाँच दशकको इतिहास पनि हो । जब नाडा स्थापना भयो, त्यसबेला नेपालमा सवारीसाधनको बजार आजको जस्तो ठूलो थिएन । आयातकर्ता र डिलरहरूको संख्या सीमित थियो, बजार व्यवस्थित थिएन र सरकारसँग व्यवसायीले आफ्ना समस्या संस्थागत रूपमा राख्ने बलियो माध्यम पनि थिएन ।
त्यस अवस्थाबाट अहिले हामी तीन हजारभन्दा बढी व्यवसायी जोडिएको संस्थाका रूपमा आएका छौँ । तर हाम्रो उपलब्धि सदस्य संख्या बढाउनु मात्र होइन । सरकारलाई अटोमोबाइल क्षेत्रका विषयमा नीतिगत सुझाव दिने, कर तथा भन्सार नीतिमा छलफल गर्ने, सडक सुरक्षा र सुरक्षित सवारीसाधनको प्रयोगका विषयमा जनचेतना फैलाउने, नयाँ प्रविधिलाई नेपाली बजारमा ल्याउने र उपभोक्तालाई विभिन्न ब्रान्ड तथा प्रविधिबारे जानकारी दिने काम पनि नाडाले गर्दै आएको छ ।
अटो शो पनि त्यसैको एउटा उदाहरण हो । पहिले सीमित स्टलमा आयोजना हुने प्रदर्शनी आज तीन लाख वर्गफिटको क्षेत्रमा पुग्नु भनेको उपभोक्ताको रोजाइ र अटोमोबाइल उद्योग दुवैमा आएको परिवर्तन हो ।अब हाम्रो प्राथमिकता अझै स्पष्ट छ—व्यवसायी मात्र होइन, उपभोक्ताले पनि अटोमोबाइल क्षेत्रमा विश्वास, पारदर्शिता र गुणस्तरीय सेवा पाउने वातावरण बनाउनु हो ।
नाडा स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसपटकको नाडा अटो मेलाको तयारी कस्तो छ ? पहिलेभन्दा के फरक हुँदै छ ?
नाडा २०३२ सालमा स्थापना भई २०३४ मा दर्ता भएको अविच्छिन्न र ऐतिहासिक संस्था हो । यस वर्ष हामी संस्थाको ५० वर्ष अर्थात् गोल्डेन जुबली भव्य रूपमा मनाउने तयारीमा छौं । यसपटकको मेला अघिल्लाभन्दा धेरै फरक र व्यापक हुनेछ । २०० भन्दा बढी स्टल र १५० भन्दा बढी ब्रान्ड एउटै ठाउँमा सहभागी हुनेछन् । विभिन्न कम्पनीले नयाँ मोडलका गाडी र बाइक सार्वजनिक (लन्च) गर्नेछन् । कम्पोनेन्ट कम्पनीले पनि विशेष अफर ल्याउनेछन् ।बैंकहरूले पहिलोपटक ७ वर्षसम्मका लागि तुलनात्मक रूपमा कम ब्याजदरमा अटो ऋण उपलब्ध गराउने तयारी छ । नाडाको मूल नारा नै ‘उद्योगदेखि रोजगारसम्म’ रहेको छ । अर्थात्, नेपालमै सवारीसाधन एसेम्बल तथा उत्पादन हुँदै जाँदा त्यससँग जोडिएका कम्पोनेन्ट उद्योग पनि स्थापित हुनेछन् र यसले समग्र इकोसिस्टम विकास गर्नेछ भन्ने विश्वास छ । यसैको उदाहरणस्वरुप नेपालमा हाल टायर, लुब्रिकेन्ट, ब्याट्रीलगायतका पार्टस् उद्योग र केही बाइक ब्रान्डको एसेम्बल कार्य सुरु भइसकेको छ ।
नेपालको अटोमोबाइल बजार अझै ठूलो मात्रामा आयातमा निर्भर छ । ‘मेड इन नेपाल’लाई प्राथमिकता दिने भनिरहँदा नेपालमा वास्तविक उत्पादन र एसेम्बली बढाउन नाडाले सरकारसँग के–कस्ता ठोस नीति माग गरिरहेको छ ?
नेपाललाई सधैँ आयातमा निर्भर राखेर अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकास सम्भव हुँदैन । तर उत्पादनमा जानका लागि सरकारले स्थिर र दीर्घकालीन नीति बनाउनुपर्छ । एउटा उद्योगले आज लगानी गरेर भोलि नीति परिवर्तन हुन्छ कि हुँदैन भन्ने निश्चित नभए ठूलो लगानी गर्न सक्दैन ।हामीले नेपालमा एसेम्बली र उत्पादन बढाउनका लागि स्पष्ट औद्योगिक नीति, लगानीको सुरक्षा, कर तथा भन्सार संरचनामा स्थिरता, प्रविधि हस्तान्तरणको वातावरण र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने कुरा उठाउँदै आएका छौँ ।नेपालमा सबै प्रकारका सवारीसाधन तत्काल उत्पादन गर्न सकिन्छ भन्ने होइन । तर जहाँ हाम्रो तुलनात्मक क्षमता छ, त्यहाँबाट सुरु गर्न सकिन्छ । दुईपाङ्ग्रे सवारी, विद्युतीय सवारी, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, स्पेयर पाट्र्सलगायतका क्षेत्रमा स्वदेशी उत्पादन र एसेम्बली विस्तार गर्न सकिन्छ ।‘मेड इन नेपाल’ वा ‘मेड फर नेपाल’लाई हामीले नारामा मात्र सीमित गर्न खोजेका छैनौँ । यस वर्षको अटो शोमा स्वदेशी उत्पादन तथा नेपालमै एसेम्बल भएका उत्पादनलाई विशेष स्थान दिनुको उद्देश्य पनि यही हो—नेपालमा उत्पादन सम्भव छ भन्ने आत्मविश्वास निर्माण गर्नु ।
नाडा सरकारसँग कर, भन्सार, बैंकको ब्याजदर र अटो लोनलगायतका विषयमा निरन्तर पैरवी गर्छ । व्यवसायीको हितका लागि गरिएको पैरवी र उपभोक्ताको हितबीच सन्तुलन कसरी कायम गर्नुहुन्छ ?
नाडा व्यवसायीको संस्था हो भन्ने कुरा हामी स्वीकार गर्छौँ । तर व्यवसायीको हित र उपभोक्ताको हितलाई एकअर्काको विपक्षमा राखेर हेर्नु हुँदैन । स्वस्थ व्यवसायी वातावरण भयो भने उपभोक्ताले पनि गुणस्तरीय सेवा र प्रतिस्पर्धात्मक मूल्य पाउँछन् ।हामी सरकारसँग कर घटाउनुपर्छ वा व्यवसायीलाई मात्र सुविधा दिनुपर्छ भन्ने एकोहोरो माग गर्दैनौँ । हाम्रो मुख्य कुरा नीति पूर्वानुमानयोग्य, स्थिर र दीर्घकालीन हुनुपर्छ भन्ने हो ।अटोमोबाइल क्षेत्रमा कर र भन्सार संरचनाले मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ । बैंकको ब्याजदरले पनि सवारीसाधन खरिद गर्ने उपभोक्ताको क्षमतालाई प्रभावित गर्छ । त्यसैले यी सबै विषयमा सरकारले समग्र अर्थतन्त्र, राजस्व, उपभोक्ता र उद्योगलाई सँगसँगै हेर्नुपर्छ ।हामीले सरकारसँग कुरा गर्दा व्यवसायीलाई फाइदा हुने कुरा मात्र होइन, बजार विस्तार हुँदा रोजगारी कति बढ्छ, राजस्वमा कस्तो प्रभाव पर्छ, उपभोक्ताले कस्तो सुविधा पाउँछन् र दीर्घकालमा उद्योग कसरी बलियो हुन्छ भन्ने विषय पनि राख्छौँ ।
अटो शोमा ५३ वटा सवारी ब्रान्डसहित दुई सयभन्दा बढी स्टल राखिँदै छन् । तर अटो शो कतै व्यवसायीले आफ्नो बिक्री बढाउने र बैंकले ऋण प्रवाह गर्ने व्यावसायिक मञ्चमा मात्र सीमित त भएको छैन ? उपभोक्ताले यसको प्रत्यक्ष लाभ के पाउँछन् ?
अटो शोको एउटा उद्देश्य व्यवसाय प्रवद्र्धन पनि हो । त्यसलाई हामी लुकाउँदैनौँ । तर अटो शोको उद्देश्य केवल गाडी बिक्री गर्नु मात्र होइन ।एउटै स्थानमा धेरै ब्रान्ड, धेरै प्रविधि र धेरै मूल्यका सवारीसाधन उपलब्ध हुँदा उपभोक्ताले प्रत्यक्ष तुलना गर्न सक्छन् । एउटा ब्रान्डको गाडी हेर्न सोरुम र अर्को ब्रान्ड हेर्न अर्को ठाउँमा जानुपर्ने अवस्था हुँदैन ।त्यसैगरी यसपटक हामीले पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण, चार्जिङ उपकरण, बीमा तथा वित्तीय संस्थालाई पनि सहभागी गराएका छौँ । यसको अर्थ गाडी किन्नुअघि मात्र होइन, गाडी किनेपछि त्यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे पनि उपभोक्ताले जानकारी पाउन सक्छन् ।ईभीको प्रविधि, चार्जिङ, ब्याट्री, सुरक्षा र मर्मतसम्भारका विषयमा पनि जानकारी लिन सकिन्छ । त्यसैले हामीले यसपटकको अटो शोलाई ‘गाडीको मेला’ भन्दा पनि ‘मोबिलिटी इकोसिस्टम’ देखाउने प्रदर्शनीका रूपमा विकास गर्न खोजेका हौँ ।
‘गाडी छान्न तीन हप्ता लाग्छ, तर छानेको निर्णयसँग दस वर्ष बाँच्नुपर्छ’ भन्नुभएको छ । गाडी बिक्रीपछि उपभोक्तालाई दिइने बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको मूल्य, मर्मत खर्च र वारेन्टीका विषयमा नाडाले व्यवसायीलाई जवाफदेही बनाउन के संयन्त्र बनाएको छ ?
यो अत्यन्त महत्वपूर्ण प्रश्न हो । हाम्रो विचारमा गाडी बिक्री भएपछि व्यवसायीको जिम्मेवारी समाप्त हुँदैन । वास्तवमा त्यसपछि दीर्घकालीन सम्बन्ध सुरु हुन्छ ।उपभोक्ताले गाडी खरिद गर्दा मूल्य मात्र हेर्नु हुँदैन । स्पेयर पाट्र्सको उपलब्धता, सर्भिस नेटवर्क, वारेन्टी, मर्मत खर्च, बीमा, पुनर्विक्रय मूल्यलगायतका विषय पनि हेर्नुपर्छ । हामीले पनि व्यवसायीहरूलाई यी विषयमा अझ जिम्मेवार बन्न निरन्तर आग्रह गर्दै आएका छौँ ।नाडाले सदस्य व्यवसायीहरूबीच व्यावसायिक आचारसंहिता, पारदर्शिता र उपभोक्तामैत्री सेवाको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै आएको छ ।विशेषगरी ईभीको हकमा नयाँ प्रविधि भएकाले उपभोक्तालाई सही सूचना दिनु झनै महत्वपूर्ण हुन्छ । ब्याट्री वारेन्टी के हो, चार्जिङ कसरी गर्ने, मर्मतसम्भार कसरी गर्ने, ब्याट्रीको आयु कति हुन्छ भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्छ ।हामी आगामी दिनमा बिक्रीपछिको सेवाको गुणस्तरलाई पनि अटोमोबाइल उद्योगको प्रतिस्पर्धाको महत्वपूर्ण आधार बनाउन चाहन्छौँ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । तर चार्जिङ पूर्वाधार, ब्याट्रीको पुनःप्रयोग तथा व्यवस्थापन, मर्मत गर्ने दक्ष जनशक्ति र पुराना ईभीको पुनर्विक्रय मूल्यजस्ता विषय चुनौतीपूर्ण छन् । नाडाको ठोस रोडम्याप के हो ?
ईभी अब विकल्प मात्र रहेन, नेपालको अटोमोबाइल क्षेत्रको महत्वपूर्ण हिस्सा बनिसकेको छ । तर ईभीको विस्तार केवल गाडी बिक्री बढाएर सम्भव हुँदैन । त्यसका लागि सम्पूर्ण इकोसिस्टम तयार गर्नुपर्छ ।चार्जिङ पूर्वाधार, विद्युत् आपूर्ति, दक्ष प्राविधिक जनशक्ति, ब्याट्री व्यवस्थापन, रिसाइकलिङ, बीमा, वित्तीय सेवा र बिक्रीपछिको सेवासम्म सबै पक्षमा समान रूपमा काम गर्नुपर्छ ।सरकारले पनि चार्जिङ पूर्वाधार विस्तारका लागि स्पष्ट नीति बनाउनुपर्छ । निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउनुपर्छ । साथै प्राविधिक शिक्षालय र तालिम केन्द्रसँग सहकार्य गरेर ईभी मर्मत गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।ब्याट्रीको पुनःप्रयोग र अन्तिम व्यवस्थापन पनि भविष्यको महत्वपूर्ण विषय हो । अहिले नै यसको दीर्घकालीन नीति बनाउन आवश्यक छ ।नाडा सरकार, ऊर्जा क्षेत्र, वित्तीय संस्था, बीमा कम्पनी र निजी क्षेत्रबीच समन्वय गरेर ईभीका लागि आवश्यक सम्पूर्ण इकोसिस्टम निर्माण गर्ने दिशामा काम गर्न चाहन्छ ।
‘नेपाल अब गाडी आयात गर्ने देश मात्र होइन, मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देश बन्नुपर्छ’ भन्नुभएको छ । पाँच दशकपछि पनि नेपालमा सवारीसाधनको उत्पादनभन्दा आयात नै हावी हुनुमा निजी क्षेत्रको कमजोरी बढी छ कि सरकारी नीतिको ?
यसलाई एउटा पक्षलाई मात्र दोष दिएर हेर्न मिल्दैन । निजी क्षेत्रले लगानी गर्ने हो भने सरकारबाट पनि दीर्घकालीन नीति र पूर्वाधार चाहिन्छ ।नेपालमा उत्पादन गर्न चाहने लगानीकर्ताले कच्चा पदार्थ कहाँबाट ल्याउने, कर संरचना कस्तो हुने, बजार कति सुनिश्चित छ, ऊर्जा र पूर्वाधारको अवस्था कस्तो छ, दक्ष जनशक्ति कहाँबाट ल्याउने भन्ने विषयमा स्पष्टता चाहन्छ ।अर्कोतर्फ निजी क्षेत्रले पनि केवल आयात गरेर बिक्री गर्ने व्यवसायभन्दा माथि उठ्नुपर्छ । सम्भावना भएका क्षेत्रमा एसेम्बली, उत्पादन, पाट्र्स निर्माण, सफ्टवेयर, टेलिमेटिक्स, चार्जिङ पूर्वाधार तथा सेवा क्षेत्रमा लगानी बढाउनुपर्छ ।त्यसैले हामी सरकारलाई पनि नीतिगत स्थिरता र निजी क्षेत्रलाई पनि लगानी तथा उत्पादनतर्फ जाने प्रतिबद्धता आवश्यक छ भनेर भन्दै आएका छौँ ।हामीले चाहेको नेपालमा गाडी मात्र आयात हुँदैन; यहाँ गाडीसम्बन्धी ज्ञान, सीप, प्रविधि, पाट्र्स, सेवा र केही हदसम्म उत्पादन पनि हुन्छ । यही नै मोबिलिटी इकोसिस्टम हो ।
नाडामा तीन हजार दुई सयभन्दा बढी सदस्य रहेको बताउनुहुन्छ । यति ठूलो संगठनभित्र व्यवसायीका हित र उपभोक्ताका हितबीच द्वन्द्व उत्पन्न हुँदा नाडा अन्ततः कसको पक्षमा उभिन्छ—व्यवसायीको कि उपभोक्ताको ?
नाडा व्यवसायीहरूको संस्था हो । त्यसैले सदस्य व्यवसायीको हित संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो । तर यसको अर्थ उपभोक्ताको हितलाई बेवास्ता गर्ने भन्ने होइन ।वास्तवमा व्यवसायी र उपभोक्ता एकअर्काका प्रतिस्पर्धी होइनन् । व्यवसायीले उपभोक्ताको विश्वास जित्न सकेन भने उसको व्यवसाय दीर्घकालसम्म चल्न सक्दैन । त्यसैले दीर्घकालीन रूपमा हेर्दा उपभोक्ताको हित संरक्षण गर्नु नै व्यवसायीको हित पनि हो ।हामी पारदर्शी मूल्य, गुणस्तरीय सेवा, सही सूचना र बिक्रीपछिको सेवामा जोड दिन्छौँ । कुनै व्यवसायीले गलत अभ्यास गरेको अवस्थामा त्यसलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने पक्षमा नाडा हुँदैन ।हामीले अटोमोबाइल क्षेत्रप्रतिको जनविश्वास कायम राख्नुपर्छ । विश्वास गुम्यो भने तीन हजार दुई सय सदस्य भएको संस्था हुनुको कुनै अर्थ हुँदैन ।त्यसैले हाम्रो लक्ष्य व्यवसायीलाई पनि सुरक्षित गर्ने र उपभोक्तालाई पनि सुरक्षित गर्ने स्वस्थ बजार निर्माण गर्नु हो ।

