चरिकोटका पौरखी र सिर्जना

राजनीति लेख

नेपालमा सामुदायिक अभियानहरु सफल भएका छन् । धेरै जसो प्राकृतिक स्रोतमा आधारित सामुदायिक अभियानहरु संरक्षणमा सफल देखिएका छन् । यस्ता अभियानमा राज्यको तहको लगानी खासै रहेको देखिन्न । समुदायहरु संगठित हुने स्रोत संरक्षण, व्यवस्थापनमा क्रियाशिल हुने र लाभमा पनि सामुहिक संलग्नता देखिएको छ । राज्यले समुदायलाई विश्वास गर्ने कानूनी व्यवस्था गरि हन्तान्तरण गर्नु भने एक महत्वपूर्ण काम हो । त्यो विश्वासमा समुदायले तागत लगाउनु अर्को अति महत्वपूर्ण पक्ष हो । प्राकृतिक स्रोत बाहेक सहकारी अभियान अर्को सफल सामुदायिक अभ्यास हो । यसमा राज्यले नियमन बाहेक अरु लगानी गरेको देखिंदैन । सहकारी अभियानमा पछिल्लो अवधीमा धेरै समस्या देखिएको र देखाइएको छ । यस सन्दर्भमा दोलखाका २ वटा सहकारीको एक सामुहिक अभ्यासलाई चर्चा गर्ने कोसिस गरिएको छ ।

भ्रमणको चाँजोपाँजो
दोलखाको सदरमुकाम चरिकोटमा क्रियाशिल रहेका पौरखी कृषि सहकारी संस्था र सिर्जना बचत तथा ऋण सहकारी संस्थाले संयुक्त सहकार्यमा एक भ्रमण आयोजना गर्ने सल्लाह गरे । दुई सहकारीका असल अभ्यास एवं अनुभव आदान प्रदान गर्ने, एक अर्काका कमजोरीबाट पाठ सिक्ने, राज्यका पछिल्ला कानूनका वारेमा चर्चा समेत गर्ने अभिप्रायबाट भ्रमण गर्ने सल्लाह भयो ।

२०८१ चैत्र २ गते भ्रमणको साइत जु¥यो । हाम्रो गन्तव्य विगु गुम्बा निर्धारण गरिएको थियो । दुईवटा सहकारीका सञ्चालक समिति र उपसमितिका २ वटै सवारी साधानमा विहान साढे पाँच तिर चरिकोटमा हिड्यौं । डेढ घण्टाको पछि सिंगटी बजार पुग्यौं । त्यहाँ सामान्य नास्ता ग¥यौं । अब हाम्रो यात्रा कालोपत्रेमा हुँदैन । अब कच्चीबाटोमा यात्रा गर्नु पर्नेछ । सिंगटी बजारबाट उत्तर तर्फ लाग्यौं । साँगुरो सडक, केही गरि विपरित दिशाबाट गाडी आयो भने साइटकोलागि एक गाडी व्याक गेयर लगाउनै पर्दछ ।

नदीको आसपासमा जलविधुत् आयोजनाहरु सञ्चालनमा रहेका र कतिपय निर्माणाधिन रहेको दृश्य देख्दै अगाडी वढ्यौं । गौथली गुफा गाडीबाट देख्यौं । हामी चढेको गाडीले बाटो विराएर आलम्पु तिर लागेछौं । घुमेर जाँदा करिव एक घण्टा त्यतिकै घाटा प¥यो । तर नयाँ ठाउँमा पुग्न पाएको अधिकांश दङ्ग हुनुहुन्थ्यो । बाटो साँगुरो भएकोले मिलाउनकालागि हामी ओर्लियौं । पैदलै केही अगाडी गयौं । शेर्पा लगायतका स्थानीयहरुले उँभौली पूजा गर्दै रहेछन् । केही बेर हेरें । केही जानकारी लिएँ ।

बिहान ११ बजे तिर बिगु गुम्वा पुग्यौं । कोही खाजा वनाउन कोही सरसामानको जोहो गर्न लाग्यौं । सामान्य खाजा खाएर छलफलमा जुट्यौं । पौरखी कृषि सहकारी संस्थाको ५ बर्षे रणनीतिक योजनाका बारेमा छलफल भयो ।

पौरखी र सिर्जनाको पृष्ठभूमी
२०६१ सालमा पँधेरोखोला देखि वडारे सम्मको सिचाई कुलो मर्मतको सिलसिलामा जन्मेको समूहले मिश्रीत कृषक समूह नाम धारण गरेको थियो । १८ जनावाट सुरु भएको सानो समूहले २०६३ साल देखि प्रति व्यक्ति रु ३० वचत गरी आपसमा परिचालनको अवधारण सुरु गरेको थियो । वचत अनी कृषि कार्यमा परिचालन भैरहेको थियो । यसलाई थप विस्तारको महशुस गरी २०६७ सालमा चोथाङ्ग पशुपालन कृषि सहकारी संस्थाको रुपमा विधिवत दर्ता भएको थियो ।

त्यसै गरी भीमेश्वर वडा नं. ६ कैं रामकोटमा रहेको सिम्पानी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको सामुहिक पहलवाट २०६२ माघ १० गतेका दिन सिम्पानी कृषि सहकारी संस्था स्थापना भएको थियो । विस्तारै कार्य उद्देश्य र कार्यक्षेत्र समेत विस्तार गर्ने क्रममा २०६७ सालमा स्वआर्जन साना किसान सहकारी संस्था स्थापना भएको थियो ।

यी दुवै सहकारीका केही समान विशेषताहरु थिए । त्यही भएर दुवै संस्थाको प्रतिनिधित्व हुने गरी एक कार्यदल वनाई लामो गृह कार्य पश्चात २०७६ साल भाद्र ७ गते संयूक्त साधारण सभा गरी वैधानिक रुपमा एक भएको घोषणा गरेका थिए । सामान्यतय दुई संस्था एकिकरण गर्दा दुवै संस्थाको नाम जोडजाड गरी नाम राख्ने चलन धेरै छ । तर यी दुवै संस्था आफनो नामको अक्षरसँग कुनै तालमेल नैं नभएको तर विशेषता मिलेको ‘पौरखी’ नाम जुराएका थिए । एकिकरणको समयमा चौथाङ्ग पशुपालन कृषि सहकारीमा ३ हजार शेयर सदस्य र ९ करोड जती पुँजी रहेको थियो । त्यसै गरी स्वआर्जन साना किसान सहकारीमा १ हजार शेयर सदस्य र ५ करोड जती पुँजी रहेको थियो ।

भीमेश्वर नगरपालिका वडा नं. ७ मा २०६५ सालमा स्थापना भएको संयूक्त जनसेवा बचत तथा ऋण सहकारी संस्था समेत २०७८ सालमा एकिकरण भयो । सो संस्थासँग ३ सयको हाराहारीमा शेयर सदस्य र २५ लाख पुँजी रहेको थियो । यी ३ वटा सहकारीका सदस्यहरु एक आपसमा दोहोरो र तेहोरो समेत सदस्य रहेकोले पनि एकिकरणमा सहयोग पुगेको थियो । हाल ४ हजार हजार भन्दा वढि शेयर तथा बाल सदस्य रहेका छन् । २३ करोड भन्दा वढि कुल पुँजी रहेको छ । हरेक वर्ष वैधानिक रुपमा मुनाफा बाँड्न सफल रहेको छ । कृषि सहकारी मध्ये जिल्लाको अब्बल संस्थाको रुपमा पहिचान पाएको छ ।

यो सहकारीको सबल, कमजोरी, अबसर र चुनौतीको विश्लेषण गरियो । त्यसका आधारमा ५ बर्षकालागि परिकल्पना ‘समृद्ध कृषक हाम्रो अभियान, पौरखीको साझा पहिचान’ निर्धारण गरियो । सो प्राप्तिकालागि ध्येय, उद्देश्य, लक्ष्य र क्रियाकलापहरु निर्धारणबारे छलफल गरियो ।
भ्रमणमा संलग्न २ वटा सहकारीको असल अभ्यासहरुको आदान प्रदान गरियो । चरिकोट वजारमा नैं कार्यालय रहेको सिर्जना साकोसले आफ्ना शेयर सदस्यहरु स्वास्थ्य खर्च दिने र पेन्सन सम्वन्धी व्यवस्था रोचक देखियो । यो संस्था पनि सामुदायिक वनहरुको पृष्ठभूमिबाट तयार भएको हो । कुनै बेला छलफल भएको रहेछ, हरेक सामुदायिक वनहरुले अलगअलग सहकारी वनाउने अनी साझा सहकारी संस्था पनि वनाउने भन्ने । सोही सन्दर्भमा सिर्जना वचत तथा ऋण सहकारी संस्था गठन भएको हो । सामुदायिक वन उपभोक्ता समूह नैं सहकारीको शेयर सदस्य हुने गरी साझा सहकारी वनाउने भनिएता पनि कानूनी अभाव संभव नहुँदा सिर्जना साकोसको स्थापना भएको थियो ।

सहकारी सम्वन्धी पछिल्ला कानून
नेपाल सरकारले तयार गरेको सहकारी सम्वन्धी अध्यादेश र प्रतिस्थापन विधेयक माथि छलफल गरियो । ती कानूनमा भएका व्यवस्थाले सहकारीलाई पार्न सक्ने प्रभावकाबारेमा छलफल भयो । विधेयकमा लेखिएका व्यवस्थाकाबारेमा व्यापक छलफल भयो । नेपाल भरका एकै प्रकृतिका सहकारी एक भन्दा वढिमा शेयर सदस्य वन्न नपाइने व्यवस्था विधेयकमा रहेको छ ।

कुनै पनि व्यक्ति एकै तहको सहकारीको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको संयोजक २ कार्यकाल भन्दा वढि वस्न नपाइने व्यवस्था छ । शेयर सदस्यको व्यक्तिगत वचतको सिमा सम्वन्धीत सहकारी संस्थाको प्राथमिक पुँजीको दश प्रतिशत मात्र हुने छ । ऋणलगानी गर्दा प्राथमिक पुँजीको पन्द्र प्रतिशत भन्दा वढि ऋण लगानी गर्न पाइनेछैन । १० लाख भन्दा वढि रकम बचत गर्दा स्रोत खुलाउनु पर्ने व्यवस्था रहेको पाइयो ।

विगु गुम्बाको नजिकैको खुल्ला चौरमा सामुहिक तथा गोलाकार वसाईमा छलफल गरिएको थियो । सामुहिक छलफल पश्चात २ वटै सहकारी संस्थाको अलग अलग वैठक वसी आआफ्ना निर्णयहरु समेत भए । ऐतिहासिक विगु गुम्बामा सामुहिक घुमियो । आनीहरुको निम्ति १० कक्षासम्मको विद्यालय रहेछ । शिक्षकसँग भेट भयो । ६५ जना आनीहरु पठनपाठन गर्दा रहेछन् । बौद्ध धर्मसम्वन्धी पढाई गुम्बा भित्रै हुँदो रहेछ । शान्तीपूर्ण स्थल गुम्बा क्षेत्रमा घुम्यौं । हाम्रो टोलीले सामुहिक र व्यक्तिगत रुपमा रहर पुग्ने गरि फोटो खिच्यौं । केही बेर नाचगान भयो । अनौपचारिक गफगाफ भए । यस अभ्यासबाट नयाँ स्थानमा पुग्ने सहकारीको चिन्तन गर्ने र केही उपाय सहित साझा अठोट गर्ने काम भएको छ ।

सहकारीको वैठक, गुम्वा घुम्दा, नाचगान र खानपिन गर्दागर्दै समय गएको पत्तै भएन । ५ बज्नै लागेछ । हामी फर्कियौं चरिकोट तर्फ । बेलुका ९ बजेतिर चरिकोट आइपुग्यौं । दुईबटै सहकारीले विगुमा गरिएको अठोट पूरा गरी अनुकरणीय बन्न सकोस् । नाम झैं कृषि क्षेत्रमा पौरखी बनोस् । नयाँ नयाँ सिर्जना गर्न सफल होस् शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *