काठमाडौं । शिक्षकहरुले आफ्नो माग पूरा नभएसम्म माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय गरेका छन् ।
नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने उल्लेख गरेको हो ।
चैत ७ देखि सुरु भएको एसईई १९ गते सकिँदै छ । महासंघले चार लाख शिक्षक कर्मचारी मध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने भएकोले माग पुरा नहुन्जेल एसईईको उत्तरपुस्तिका चेकजाँच नहुने बताएको छ ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनशमा पनि बसिरहेका छन् । १५ जना शिक्षकको समूह रिले अनशमा बसेको हो । अहिले परीक्षा चलिरहेकाले १५ जनाको संख्यामा मात्र रिले अनशनमा शिक्षकहरु बसिरहेका छन् ।

