काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गरिरहेका शिक्षकमाथी अनुसन्धान थालेको छ ।
प्राध्यापकहरुले अध्ययन बिदा लिएर नफर्किने/विभिन्न संघ–संस्थामा काम गरिरहेको उजुरी परेपछि गठित समितिले संघ संस्थामा कार्यरत प्राध्यापकमाथि पनि छानबिन गर्न लागेको हो ।
अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकबारे बुझ्न समितिले डीन, निर्देशक, क्याम्पस प्रमुखसँग पनि छलफल गरे लगत्तै अध्ययन बिदामा विदेशको जुन विश्वविद्यालयमा वा अन्य संस्थामा गएको हो, त्यो ठाउँमा पत्राचार त्रिविले गर्ने उल्लेख गरिएको छ ।
विश्वविद्यालयको नियममा पाँच वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान रहेको छ ।तीन वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था रहेको छ। तर,अध्ययन बिदाको दुरुपयोग भएपछि नीतिगत सुधार पनि त्रिविले गर्ने भएको छ ।
नीतिमा के परिमार्जन गर्न सकिन्छ सबै पक्षसँग राय सुझाव लिएर समितिलाई तीन महिनाको समय दिइएको त्रिविका एक जना उच्च अधिकारीले बताएका छन् । यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम रहेको छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ ।
नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ । २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । कति फर्किए कति फर्किएका छैनन् भन्ने तथ्यांक त्रिविसँग नभएपछि खोजबिन गर्न समिति बनाइएको हो ।