नेपालको शैक्षिक पद्वति इतिहासदेखि वर्तमान अवस्था

देश/विदेश लेख विविध शिक्षा/स्वास्थ

सरिता सिकर्मी

नेपालको शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएतापनि शैक्षिक क्षेत्रको खासै विकास हुन सकेको छैन । शिक्षाकै कमिको कारणले विकास निर्माणदेखि क्षमताको विकास हुन सकेको छैन । शिक्षा बलियो भएन भने देश विकासको परिकल्पना गर्नु असम्भव नै रहन्छ । विज्ञान र प्रविधिको युगामा कसैले शिक्षाबिना देशको विकास हुन सक्दैन । विश्वभर शिक्षाप्रति प्रतिस्पर्धा भैरहेको छ । विज्ञान र प्रविधिका कारणले गर्दा अहिले देशमा परिवर्तनका आयामहरु देख्न सकिन्छ । शिक्षा बिना मानिसले केही गर्न सक्दैन । नेपालको शिक्षा यतिखेर आएर कमजोर बन्न पुगेको छ । युगमा शिक्षामा दिन प्रतिदिन आइरहेको परिवर्तनमा नपढीकन जिवन चलाउँछु भन्नु मुर्खताको भाष्यलाई वर्णन गर्नु भएकोले तसर्थ विकासको मेरुदण्डका रुपमा शिक्षालाई राखिएको हो ।

अहिले नेपालको शिक्षा निति, अवस्था मुर्खतालाई वर्णन गर्नु सरह भएको छ । हामीले सय वर्षभन्दा पनि पुरानै दौरको शिक्षा पद्धतिलाई अपनाई नै रहेका छौं । अहिले आधुनिक युगमा पनि हाम्रो शिक्षा नीतिले भाँडा माझ्न सिकाई रहेको छ । यसले देशको विकाश हुन्छ त ? हामी जब अन्तर्राष्ट्रिय बजारमा जान्छौं हाम्रो सर्टिफिकेटको हैसियत भनेको केवल तल्लो स्तरको कामको लागि मात्रै सीमित रहन्छ । हामीले जब हाम्रो शिक्षा नीतिलाई परिवर्तन गर्न सक्दैनौं तबसम्म हामीले हाम्रो देश विकाशको गतिमा छ भन्नु सम्झिने पानी छम्किने जस्तै भएको छ ।
हामीलाई आजको युग अनुसारको शिक्षाको आवश्यकता रहेको छ,नकी किताबी किरा व्यवहारमा जीरा हुनु । अझपनि हिजोको दिनमा जुन शिक्षा ग्रहण गरिरहनु भैरहेको थियो हाम्रो बुवा, बाजेले हामीले पनि त्यहि नै शिक्षा पायौं, सायद भोलिका पुस्ताहरुले पनि हिजो, आज जुन शिक्षा लिइरहेका थियौं आजको जसरी नै भोलिपनि आधा, एक क्वीन्टलको भार बोकी विद्यालय धाउने नै पो हो कि ? यो विषय चिन्ताजनक नै रहेको छ ।

मैले फेरी हाम्रो देशको शिक्षालाई गलत चाँहि भन्न खोजेको छैन, यसलाई अब समयको साथ परिर्वतनको आवश्यक रहेको छ । नेपालको सन्दर्भमा शिक्षाप्रतिको बुझाई के रहेको छ, भने जति धेरै गृहकार्य दियो विद्यार्थी उति नै जान्ने बुझ्ने हुन्छन् । यसमा दुख लाग्दो के–छ भने नेपालका शिक्षकहरुमा यस्तो बुझाँईका कारण विद्यार्थीहरु यसको सिकार भैरहेका छन् । विद्यार्थीलाई दिनहुँ ३ देखि ४ घण्टा लाग्ने गृहकार्य दिँदैमा उनीहरु व्यर्थ व्यस्त मात्रै हुन्छन् र यसले विद्यार्थीको महत्वपूर्ण, रचनात्मक सोचाईको विकास नहुने अनुसन्धानले पुष्टि पनि गरिसकेको छ । यसमा भनिएको छ, कि धेरै गृहकार्य दिँदा त्यति धेरै एकेडेमीमा सुधार भएको नदेखिएकाले विश्वभरि भएको गृहकार्य सम्बन्धी अनुसन्धानकर्ताहरुले संश्लेषण गर्दा मेटा एनलाइसिज प्रकाशन गर्ने ह्यारिस कुपर नामक अनुसन्धान कर्ताले “१० मिनेट नियम” जो विद्यार्थी जुन कक्षामा रहेका छन् , त्यसलाई १० ले गुणन गरेर त्यतिनै मिनेट गृहकार्य दिनुपर्छ भनि उल्लेख गरेका छन् । अर्को अनुसन्धानले के–देखिएको छ, भने ८ हजार विद्यार्थीलाई १ वर्षको अवधिभर ‘फलोअप’ गर्दा विज्ञान र गणितको परीक्षा अंक र दैनिक समयमा ट्रायक गर्दा ९० देखि एक सय मिनेट प्रभावकारी समय रहेको थियो । सन् २०१५ मा प्रकाशन भएको एउटा अध्यायनले के देखाएको छ, भने गृहकार्यको समय ५० मिनेटको हुँदा परीक्षा अंक ५ सय ४ प्राप्त भएको र गृहकार्यको समय ७० देखि ९० मिनेटको हुँदा विद्यार्थीको ५ सय १७ पुगेको । यस अर्थमा यो अनुसन्धानले एक सय भन्दा माथिको समय बढ्दै जाँदा परीक्षा अंक बढ्नुको सट्टा घट्दै गएको देखाएको थियो । यो अनुसन्धानमा दिनको एक घण्टा गृहकार्य ले परीक्षा अंक ल्याउन पुग्ने देखिएको छ ।

नेपालमा शिक्षाको वर्तमान अवस्था:

अहिलेको अवस्थालाई शिक्षाको दृष्टिकोणले हेर्ने हो भने नेपालका अधिकांश शैक्षिक संस्थाहरु व्यापारिक उद्देश्यमा केन्द्रित रहेका छन् । किनकी विद्यार्थीले बुझाईको भरमा नभई परीक्षफलमा के–कति नम्बर ल्याउँदा विद्यालय, कलेजको गेट अगाडि विद्यार्थीलाई मोडलिङ्गको जस्तो पोष्टरका रुपमा प्रयोग गरेर सकेसम्म धेरै विद्यार्थीलाई आफ्नो विद्यालय वा कलेजमा भर्ना गरी नाफा आर्जन गर्न सकिन्छ भन्ने हेतु मात्रै देखिएको छ । यसले गर्दा विद्यार्थीको रचनात्मक सोचाई र सिकाईमा एकदमै नकारात्मक असर परिरहेको छ । त्यस कारण विद्यार्थीको नजरमा नरमाइलो भनेको नै पढाई हो, भन्ने भाष्य सृजना भैरहेकोले विद्यार्थीहरु धेरैमा पछिल्लो समय चिन्ता र डिप्रेशन एक चोटी नभएर पटक–पटक देखिएको एक अनुसन्धानले देखाएको छ ।

शिक्षकहरुले बुझ्न के– जरुरी रहेको छ, भने विद्यार्थीले पढेका कुराहरु जिवनमा कहाँ उपयोग हुन्छ भन्ने उनिहरुले बताउन सक्नुपर्छ । अहिलेको गृहकार्य व्यर्थ व्यस्तता अर्थात् २० देखि ३० पान्ना अक्षर मात्र लेख्न नभएर ए.आई, च्र्याट जीडिबीको सहयोगबाट धेरै शिक्षकहरुलाई पाठ योजना तयार गर्न एकदमै सजिलो बनेको छ । एक जना औषत नेपाली विद्यार्थीले गर्ने गृहकार्य एउटा विकशित शिक्षा प्रणाली भएको देशमा विद्यार्थीले गर्ने एक हप्ताको गृहकार्य हुन्छ । नेपालमा किताब पढाएर चाँडो सिध्याउनुको सट्टा शिक्षकले पाठ योजना तयार पारी के–पढाउने भन्दापनि कसरी पढाउनेतिर बढि ध्यान केन्द्रित गर्न जरुरी रहेको छ । विद्यार्थीको लागि तयार गरेका किताबहरु उनिहरुको समझ भन्दा पर र भार मात्रै रहेका छन् । पाठकहरुले कमिसन र आफ्नो किताब बजारमा बढि भन्दा बढि बिक्री गर्ने उद्देश्यले १ कक्षामा पढ्ने विद्यार्थीको किताब ८, ९ कक्षामा पढ्ने विद्यार्थीको जस्तो डिजाइन गरिएको हुन्छ । यस्तो बढि निजी स्कूलका विद्यालयमा लागू भैरहेको छ । यसले गर्दा अभिभावकलाई पनि घरमा पढाउन निकै टाउको दुखाईको विषय भैरहेको छ । विद्यार्थीलाई झन् २२ देखि २३ वर्षको उमेरसम्म पुग्दा पढाईप्रतिको मिठास नै मरिसकेको हुन्छ । शिक्षकहरुले के–थाहा पाउन जरुरी छ, भने एउटै तरिकाबाट पढाई, गृहकार्य गराउँदा कत्तिको प्रभावकारी भैरहेको छ, सोही अनुरुप आफुले दिने शिक्षाको मार्गदर्शन फेर्न जरुरी रहेको छ ।

नेपालको शैक्षिक इतिहास:

नेपालमा शैक्षिक इतिहास हेर्ने हो भने देशमा जतिपनि शासक देखि लिएर विभिन्न क्षेत्रमा कलमका माध्यमबाट आवाज उठिरहेका छन् । यी सबै शिक्षाले नै जन्माएको इतिहास साक्षी रहेको छ । हामीले शिक्षाका लागि हिजो देखि आजका दिनसम्म पनि लडाईं जारी नै रहेको छ । नेपालमा शिक्षाको इतिहास केलाउँदै जाँदा सन् १८५३ मा जङ्गबहादुर राणाद्वारा पहिलो औपचारिक विद्यालय दरबार हाई स्कुलको स्थापना गरिएको थियो जुन त्यस समयमा धनी राणा वर्गको लागि मात्र खुला राखिएको थियो । सन् १९५१ मा नेपालमा प्रजातन्त्र आएपछि यसमा साधारण व्यक्तिको बच्चाहरुलाई समेत प्रवेश दिन थालिएको हो । नेपालको वर्तमान समयको प्राथमिक विद्यालयदेखि लिएर विश्वविद्यालय स्तरसम्मको शिक्षा ५३ नै रहेको छ । हाम्रो लडाईंको इतिहास शिक्षाको लागि निरन्तर जारी नै रहेको छ । नेपालमा पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ले वि.सं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोल लगायतका विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासककाविरुद्व आन्दोलन गरेको थियो । नेपालमा २००६ सालमा विद्यार्थीहरुले नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (नेराविफे) स्थापना गरेका थिए । यसैबीच २००७ सालमा राणा, नेपाली कांग्रेस र राजा त्रिभुव को मध्यस्थतामा दिल्लीमा त्रिपक्षीय (मौखिक) सम्झौता भएको थियो । यसले राणा शासनलाई अन्त्य गर्यो तर, यसले शासन पद्धतिमा परिवर्तन हुन भने सकेन । त्यस बेला नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनले दिल्ली सम्झौता धोका हो भन्दै व्यापक भण्डाफोर अभियान सञ्चालन गरेको थियो । यहि नेराविफेको जगमा २०२२ सालमा अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को स्थापना भएको भन्ने गरिन्छ । त्यति बेलाको विद्यार्थी संगठनले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय मामिलामा प्रभावकारी मत राखेको रेकर्ड रहेको छ । २०४६ सालमा नेपाली कांग्रेस र वाम मोर्चाले संयुक्त रुपमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्न जन आन्दोलन शुरु गरेको थियो । त्यो आन्दोलनको फ्रन्टलाइनमा विद्यार्थी संगठन सक्रिय रहेका थिए । २०६२÷०६३ सालको आन्दोलनले देशमा लोकतन्त्रको स्थापना गर्यो । त्यो आन्दोलनले विद्यार्थी संगठनको सक्रियतालाई नकार्न सकिँदैन । राजनीतिलाई केही हदसम्म सक्रिय बनाउन विद्यार्थीहरुको भूमिका रहेको छ ।

फरक यति मात्रै होकि हामीले हिजोको दिन जसरी सडकमै आएर ढुङ्गा, मुढा चाहिँ गरिरहेका छैनौं । दक्ष युवा जनशक्ति वर्षेनी बाहिरिनु, देशमा भएका विद्यालय खाली हुनु, देशमा भएको पुँजी हामीले बाहिर लैजानु नै हाम्रो सरकारसँगको लडाईं रहेको छ । साँच्चै यस्तो लडाईं नेपालमा मात्रै क्रमशः जारी रहेको छ । हामीले शिक्षाको लागि सत्ता पक्ष कायापलट गर्दापनि जुन जोगी आएपनि कानै चिरी लैजानु भएको छ । वर्तमान उस्तै नै छ, न समयमा रिजल्ट आउँछ, बेला–बेलामा टियुको उत्तरपुस्तिका हराउँदा, बंगलादेशका लागि स्कलरसिपमा नाम निकाल्दा लापरवाही गर्दा विद्यार्थीहरुको भविष्य झन् अन्धकार तिर धकेलिरहेको छ । यसले देशमा शिक्षितको दर घट्दो अवस्थामा गइरहेकोले चिन्ताको विषय बनेको छ ।

अहिले देशको शिक्षा लथालिङ्ग नै रहेको छ । उच्च शिक्षा पछिको हाम्रो मानसिकता नै बाहिर जाने छाप बसिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ०७९ कात्तिक यता ०८० जेठ सम्म ७१ हजार ६ सय विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेसिएका छन् । आंकडाअनुसार नेपालबाट बर्षेनि बाहिर जाने विद्यार्थीको संख्या उच्च रहेको छ । नेपालमा भविष्य नदेखेर नै आफ्नो भविष्य खोज्दै वर्षेनी विद्यार्थी बाहिरीदै गर्दा यसले अर्थतन्त्रमा पनि ठूलो असर पारेको छ । आर्थिक वर्ष २०७८÷७९ नेपाल राष्ट्र बैंक अनुसार वैदेशिक अध्ययन शीर्षकमा ६७.७ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो । यो रकम उक्त अवधिको कुल विदेशी विनिमय सञ्चितको झन्डै ५.०७ प्रतिशत हो ।
अहिले प्रविधिमा परिवर्तनका साथै विद्यार्थीको हकहितका साथै आविष्कारका बारेमा विद्यार्थी संगठन र विद्यार्थी नेताहरु मौन नै बसिरहेका छन् । जबकि देशमा राजनितिक दल जतिपनि रहेका छन् । उनीहरुको अधिकांश पृष्ठभूमि विद्यार्थी संगठनको देन हो । नेताका सिद्धान्तबाट प्रभावित भएपनि विद्यार्थी संगठन र विद्यार्थीको मुद्दा, विद्यार्थी आन्दोलनको वकालत गर्ने स्वायत्त निकाय भएर रहिरहनु पर्ने थियो । रोजगारी सिर्जना गर्ने एउटा विद्यार्थीको सबैभन्दा महत्वपूर्ण मुद्दा हुन्थ्यो होला ! यस्ता अझै कति मुद्दा होलान् जुन अहिलेको समय सुहाउँदो विद्यार्थी आन्दोलनको मुद्दा बन्न सक्थ्यो, समयमा विद्यार्थीको परीक्षा गराउन सक्थ्यो । तर, परीक्षाको उत्तरपुस्तिका हराउने देखि लिएर समयमा नतिजा प्रकाशन गराउने विषयमा बोल्ने विद्यार्थी संगठन खै ? विद्यार्थीको भविष्यमाथि कालो राजनीति मात्रै भैरहेको अहिलेको अवस्था छ ।

हामीलाई हाम्रो शिक्षाले रोजगारीको शिक्षा दिन सक्नुपर्छ उदाहरणका लागि यदि कोही कृषिको विद्यार्थी छ, भने उसलाई खेतमै गएर पढाइयोस्, हप्तामा २,३ दिन किसानसँग तालिम, अथवा उनिहरुको अनुभव सुन्न पढाउन दिन लगाइयोस्, साथै बजार अनुगमनको साथै अन्तर्राष्ट्रिय विद्यार्थी, शिक्षकहरुसँग समन्वय गराउन सक्नुपर्दछ, नेपाल सरकारले । नत्र हाम्रीलाई चाहिने शिक्षामा जापानीज, कोरीयन, उर्दू, इजरायली भाषा स्कूल स्तको पाठ्यक्रममै समावेश गरिदियोस् ।

निष्कर्ष: देशभरका शिक्षण संस्थाहरु सबै सरकारको अधिनमा गुणस्तर, निशुल्क, राजनिति मुक्त रहोस् । विद्यार्थीको क्षमता अनुरुपको पाठ्यक्रमलाई डिजाइन गरी “१० मिनेट नियम” लागू गरियोस् । शिक्षामा सरकारले बजेटका साथै ब्रिफिङ् गर्नपर्दछ । आजको आवश्यकता अनुसारको प्राविधिक र व्यवहारमा लागू हुने शैक्षिक निति ल्याउन जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *